
काठमाडौं । नेपालको व्यापार प्रवर्द्धनका लागि गणराज्य रुसले सहयोग गर्ने भएको छ ।
नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने भएको हो ।
नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो ।
छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए ।
छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो सम्भावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए ।
उनले नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए ।
नेपाल र रुसबीच पुरानो सम्बन्ध छ । नेपालको प्रविधि क्षेत्रमा समेत लगानी गर्नुपर्ने भन्दै उनले व्यापार प्रवर्द्धनमा सहयोगका लागि आग्रह गरे ।
प्रतिक्रिया 4