+
+
पुस्तक समीक्षा :

‘गोधूलि गीत’ : जनयुद्धको मधुरो गुञ्जन !

द्वन्द्व व्यवस्थापनपछि जन्मिएको शिशुपछि आज यो देशको नागरिक भइसकेको छ । उसको नजरमा त्यो जनयुद्ध कस्तो देखिन्छ होला ? हिजो जनयुद्धमै श्रीमान गुमाएकी एक महिला युद्धबारे के सोच्छिन् होला ? बेपत्ता सन्तान पर्खेर बसेकी आमाका लागि त्यो युद्ध के होला ?

विकास रोकामगर विकास रोकामगर
२०८० मंसिर ३० गते १८:००

म ती दिनहरु सम्झिन्छु-जब जिन्दावाद र मुर्दावादका राँके जुलुससँग निदाउँथे र एकाबिहानै घरआँगन भएर हिंड्ने बुटका आवाजहरुसँग ब्युँझन्थें ।

आमाले सिकाएको कखरालाई गाउँघरका भित्तामा लेखिएका नारा पढेर आफ्नो अक्षर पढ्ने दायरा बढाएँ । एउटा रौनक पनि थियो, अक्षर चिन्न थालेदेखि गाउँभरि डुल्थें र भित्ताभरि लेखिएका नारा पढ्थें ।

त्यहीबेला हो पहिलोपटक देखेको-नेकपा माओवादी जिन्दावाद, शोषक सामन्त मुर्दावाद !
गाउँमा कहिले कसको घर जल्थ्यो, कहिले कसको घरमा रुवाबासी । बच्चै थिएँ, मनमा डर त थियो । तर, आफू हुर्किरहेको समय र परिवेशले यस्तो सिकाइसकेको थियो कि यो सब सामान्य हो ।

ती घटनाहरु आज पनि हिजोअस्तिका मात्र हुन् स्तो लाग्छ । र, त घरिघरि सपनामा पनि बम पड्केको देख्छु । अनायस गोली चलेकोजस्तो सुन्छु र ऐंठन छिचोल्दै उठ्छु । मभित्र एउटा ‘ट्रमा’ छ, जनयुद्धको ।

आखिर हामी पनि थातथलो, सालनाल गाडिएको ठाउँ छोडेर विस्थापित भयौं । युद्धको त्यो जर्जर समयदेखि बच्न रोल्पादेखि दाङ झर्‍यौं । दाङ झरेको २ दशकपछि युद्धकथा पछ्याउँदै यतिबेला आइपुगेको छु, भानु बोखिमको ‘गोधूलि गीत’ नेर ।

जनयुद्धकालीन कथा, त्यसमाथि रोल्पाको पृष्ठभूमिमा लेखिएको थाहा पाएपछि एकदमै उत्साहित थिएँ । किनकि प्रत्यक्षपरोक्ष त्यो कथा मेरै समाज, मेरै आफन्त र मेरै परिवारको कथा थियो ।

नेपाली इतिहासमा तत्कालीन दश वर्षे जनयुद्ध यस्तो अध्याय हो, न त्यो कसैले मेट्छु भन्न सक्नेछ न कसैले पढ्दिनँ भन्न नै !

‘गोधूलि गीत’ गुञ्जनुअघि

गोधुली गीतको पर्दा नउघार्दै मेरो मस्तिष्कमा एउटा वृत्तचित्र खडा भइसकेको थियो । हिजो परिवर्तनका लागि युद्ध भनेर हिंडेका मुख्य ‘कमान्डर’हरु आज चारतिर फर्किएका छन् । कोही संसदीय व्यवस्था मान्ने कि नमान्ने ? युद्धको जस लिने कि नलिने ? हालका परिवर्तन युद्धले ल्याएको परिवर्तन हो कि होइन ? भन्नेमै रुमलिरहेका छन् । कोही कहीं न कहीं पुरानै ‘प्रचण्डपथ’मै अल्झिराखेका छन् ।

यसबीचमा कोही छन्, जो युद्धका वास्तविक पीडित थिए । उनीहरु अझै एकतिरमात्रै आँखा सोझ्याइरहेका-न्यायको बाटो ! दशकौंपछि पनि उनीहरुलाई केवल न्यायको पर्खाइ छ । सोचेको थिएँ-गोधूलि गीतका प्रत्येक अक्षर, शब्द छिचोल्दै गर्दा म मेरै भूगोल, मेरै समाज र आफू स्वयंलाई पाउँछु होला !

तर, ‘साँझको कफी भेट’मा नजुट्दै बजेको फोनले मेरो ध्यान भंग गरिदियो । त्यो फोन शुष्मा अर्यालले नवीनलाई गरेकी थिइन् । थुप्रै आख्यान, गैरआख्यानको सुरुआत कि साँझबाट सुरु भएको छ कि बिहानबाट । ती कथाको सुरुआत पनि अपरिचित फोनको रिङटोनबाटै भएका छन् । यो कथा लेखनको एकदमै परम्परागत शैलीजस्तो लाग्छ ।

धन्न ! नवीनलाई अपरिचित नम्बरबाट फोन आउँदैन । चिनेकै साथीबाटै फोन आउँछ । र, त्यही फोनबाट ‘गोधूली गीत’को पाइला सुरु हुन्छ ।

****

‘कति मजाले पोट्रेट गरेको ?’ उपन्यासको सुरुआतमै सुष्माले नवीनलाई भनेकी छन्, ‘मलाई त फिलिम हेरेझैं लाग्यो ।’

उपन्यास पढ्दापढ्दै उपन्यास पढिरहेको छु भन्ने बिर्सिएँ । कुनै नाटक वा फिल्मको स्क्रिप्ट पढेजस्तो लाग्यो । दृश्यहरुलाई यसरी चित्रण गरिएको छ, पाठकले आँखा चिम्म गरेर सुनेमात्रै पनि भूगोल र क्रियाकलाप आँखामै नाच्न आइपुग्छन् ।

उपन्यासमा रमाइला प्रसंग पनि छन् । जस्तो कि श्रमशिविरमा रहेका रामकुमार कार्की तालिमप्राप्त जनसेनालाई सजिलै पंगु बनाएर फरार हुन्छन् । शौच गर्दा लाइट बाल्नुपर्ने र अरुले बोलाए दिशा नै नआउने बहाना गरेर उनले माओवादीलाई सजिलै पंगु बनाएको प्रसंग रमाइलो लाग्न सक्छ

श्रव्यमा सुन्दा र दृश्यमा हेर्दा यो शैली ठीीकै होला ! एक पाठकका हिसाबले सबैभन्दा कर्कश यहींनेर लाग्दो रहेछ । अनावश्यक रुपमा दृश्यहरु लम्ब्याउन खोज्दा त्यसले लेखकको सिर्जनाशीलतालाई नै छायाँमा पार्नेरहेछ भन्ने लाग्यो ।

जस्तो कि एउटा उदाहरण :

‘म सरासर आफ्नै कोठातिर बढें । कोठाको ढोकामा ताल्चा थिएन, चुकुलमात्र थियो । चुकुल कसिलो भएकाले बायाँ हातको बल पर्याप्त थिएन । दायाँ हातमा बोकेको किताब र कापीलाई बायाँ हातमा सारें । कोठाभित्र छिरेर टेबुलनिर पुगेपछि किताब राखें । टेबुलमा किताब राखेर खाली भएको हातले रेडियोको गोलो बटन समात्यो । बटनलाई दायाँतिर बटारेपछि आवाज आउन थाल्यो… ।’ -रामप्रसार्द उर्फ रक्तिमको कथा, ३७)

उपन्यासभरि यस्ता थुप्रै उदारहण छन्, जसलाई काँटछाँट गर्न लेखकलाई कुनै गाह्रो हुने थिएन । त्यसले न लेखकको सिर्जनशिलता मथ्र्यो न त कथाकै जीवन । यस्तो तरिका फिल्म, नाटकको स्क्रिप्टमा मात्रै सुन्दर हुनेरहेछ भन्ने लाग्यो । आवश्यकताभन्दा लामा फिल्मिङले पाठकलाई झिँझो गराउने रहेछ, उपन्यास पढ्दाभर पटकपटक यस्ता झिँझो महसुुस गरिरहें ।

तर, कहींकतै ‘फिल्मिङ पोट्रेट’ले कथालाई लयमा बगाउन पनि एकदमै राम्रो भूमिका खेलेको छ । यो शैलीमा सबैभन्दा उत्कृष्ट दृश्य ‘गोरु मारेको’ अध्यायमा लाग्यो । जहाँ प्रहरीसँग ईश्वरीको जम्काभेट विपरीत दिशामा हुन्छ । त्यहाँ उसले भन्छे, ‘एउटै बाटो उनीहरुका लागि उकालो थियो र मेरा लागि ओरालो ।’

हुन पनि त्यहीबाट नै ईश्वरीको जीवनमा उकालो यात्रा सुरु हुन थाल्छ । प्रहरीसँग विपरीत दिशामा भेट भएको केही समयपछि नै उनका बा गोरु हत्याको आरोपमा पक्राउ पर्छन् । र, केही समयपछि हत्या नै हुन्छ । त्यसपछि ? ईश्वरीको जीवनमा उथलपुथल आउँछ ।

****

एउटा समाज हुनु भनेको घरैघरमात्रै ठडिइनु पक्कै होइन । केवल चार किल्ला छुटि्टएको एउटा नाममात्रै होइन । त्यहाँ आफ्नै मौलिकता हुन्छ, भाषा हुन्छ, संस्कार हुन्छ, संस्कृति हुन्छ र हुन्छ आफ्नै लवज । भाषाकै रुपमा हेर्दा पनि नेपाली नै बोले पनि पूर्वतिर फरक छ, पश्चिमतिर फरक । कहिलेकाहीं बालेको लवजबाटै हामी बाँचेको भूगोल प्रष्ट थाहा हुन्छ ।

पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ । अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो, रोल्पाको कथा हो, ईश्वरीको कथा हो । माडीको कथा हो र कथा हो मानबहादुरहरुको ।

तर, उपन्यासमा उनीहरुलाई केवल पात्रका रुपमा मात्रै ल्याइएको हो कि ? पात्रमा न स्थानीय भाषा बाँचेको छ न त लवज नै ! रोल्पाली कथामा पूर्वेली लवज हाबी भएको देखिन्छ । लेखक पूर्वेली भएर हुन सक्छ । उपन्यासमा जुन आञ्चलिकताको अपेक्षा गरेको थिएँ, त्यो पाउन सकिनँ ।

पश्चिमतिर डबका हुँदैन, बटुका हुन्छ । सिखुवा हुँदैन, मैरा हुन्छ । त्यहाँ कोही अथवा केही लडी मर्दैनन्, कि लोटेर मर्छन् कि खसेर मर्छन् । त्यतिबेला भारत कोही जाँदैनथिए, कालापार जान्थे ।

जब जुन भूगोलको कथा लेखिएको हो, त्यही भूगोलका पाठकले कथामा आफूलाई पाउँदैनन्, त्यहाँ लेखक असफल हुन्छ । लेख्नु केवल घटनाको वर्णन गर्नुमात्रै पनि होइन । व्यक्तिगत रुपमा आख्यान पढ्दा त्यहाँ मैले कला खोज्छु र गैरआख्यान पढ्दा विषयको दम खोज्छु ।

कलाबिनाको आख्यान रुचिकर हुँदैनजस्तो लाग्छ । लेखक बोखिमले आफ्नो आख्यानमा दृश्यहरुलाई सजीव बनाउन ससाना प्रसंग, क्रियाकलापहरुको पनि मिहीन ढंगले वर्णन गर्दैगर्दा कला पक्षलाई ध्यान नदिएको पो हो कि ? नत्र त ३५९ पेजसम्म पढिसक्दा लेखक बोखिमको आफ्नै शैली पाठकलाई अनुभूत हुनुपर्ने हो ! उपन्यासले जति तान्नुपर्ने हो, त्यसरी तान्दैन ।

कति दर्दनाक दृश्य छन् उपन्यासमा ! देहरादून गएर नर्स बन्ने सपना पालेकी ईश्वरी सानै उमेरमा बाबु गुमाउँछे, दाजु गुमाउँछे, सानीआमामाथि भएको बलात्कार देख्छे । आफूमाथि हुनै लागेको बलात्कारबाट बालबाल बच्छे । र, युद्धमा लागेर पनि माया गरेका थुप्रै प्रियंश गुमाउँछे ।

बितिसकेको मान्छेको चिठी लामो समयपछि ‘सञ्चै छु, केही भएको छैन’ चिठी हात पर्दा कस्तो अनुभव हुन्छ होला ! तर, लेखक आफ्नो लेखन बलियोसँग प्रस्तुत गर्न नसक्दा ‘कथाका लागि कथा’मात्रै भएका छन् । न त्यहाँ दुख लाग्छ न कुनै चिन्ता नै ! लाग्छ-ईश्वरीका बा, दाजु र सहयोद्धाहरुले युद्धमा ज्यान गुमाएका होइनन्, सामान्य घाइतेमात्रै भएका हुन् । केही समयपछि ठीकठाक भएर फर्केर आउँछन् !

उपन्यासमा सबैभन्दा बढी खड्किएको कमी भनेका सम्पादनको हो । एउटै शब्द र प्रसंग पटकपटक दोहोरिएका छन् । शुद्धाशुद्धिमा पनि उस्तै समस्या । एउटै शब्द (वास्तवमा बाङ हुनुपर्ने) कतै वांग लेखिएको छ कतै बांग । कथा वाचनमा एउटै अध्यायमा कतै भूतकाल छ कतै वर्तमान । सम्पादनको गम्भीर गल्ती एउटै पात्रको फरकफरक नाम हो । रोल्पामा ईश्वरी बुढामगर पूर्व भोजपुर पुग्नेबित्तिकै ईश्वरी घर्तीमगर हुन्छे ।

एसएलसीको तयारीमा थिई, ईश्वरी । तर, बाध्यता आइलागेपछि जंगल पस्छे र बन्छे कामरेड निर्जला । उमेरकै हिसाबले गन्ने हो भने पनि १५, १६ वर्षकै हाराहारीमा जंगल पसेको अनुमान गर्न सकिन्छ ।

तर, सानै उमेरमा यस्तो अशोभनीय प्रगति गर्छे कि सुरुमै इलाका इन्चार्ज बन्छे र २ वर्षपछि जिल्लाकै कमाण्ड सम्हाल्छे । कुमारले आफू आईए दोस्रो वर्षको परीक्षा दिएर बसेको समय आधार मान्ने हो भने ईश्वरी १८, १९ वर्षको उमेरमै जिल्ला कमाण्ड सम्हाल्ने भइसकेकी हुन्छे ।

तर, विषय प्रस्तुतिमा लेखक कहीं चुकेका छैनन् । खास माओवादी के हो र तत्कालीन समयमा रोल्पालीहरु कसरी माओवादी बने, कसरी रणमैदानमा होमिए मजाले बोलेको छ । चाहे त्यो राज्यतर्फबाट बिनागल्ती धनबहादुरलाई गोरु मारेको आरोप लाग्दा होस् या केही सम्पन्न आर्थिक हैसियत भएकै कारण कुमारको परिवारले माओवादीतर्फबाट भोग्नु परेको चन्दा आतंक ।

माओवादी युद्धमा माओवादी र प्रहरी, सेनामात्रै प्रभावित भएका थिएनन् । यस्ता थुप्रै पनि पीडित छन्, जसलाई त्यो युद्धको कुनै सरोकार नै थिएन । आखिर उनीहरुले पनि ज्यान गुमाउनुपर्‍यो । नत्र त मानबहादुर उपन्यासको अन्त्य हुँदासम्म आफ्नो सपनाबमोजिम मास्टर भइसक्ने थियो । निर्मलाले दिनदहाडै इज्जत गुमाउनु पर्ने थिएन । घनश्याम सर आफ्नो रिटायर्ड जीवन खुसीखुसीका साथ बिताइरहेका हुन्थे ।

लेखकले कथामा केही बढी ‘माओवादी आन्दोलनप्रति अलिकति झुकाव’ राखेर राज्य, माओवादी र आमनागरिक सबैको मनोदशा चित्रण गर्न खोजेका छन् । उपन्यासमा जनयुद्धको बेला बालबालिकालाई कसरी र किन प्रयोग गरिन्थ्यो भन्ने पनि मजैले खुलाएका छन् ।

नेपालमा चलेको १० वर्षे शसस्त्र जनयुद्ध ऐतिहासिक र साहित्यिक विषयका लागि पनि एउटा महासागर हो । लेखक भानु बोखिमले त्यही महासागरबाट एक अञ्जुली पानी निकालेर नेपाली साहित्यलाई पस्केका छन् ।

खड्गबहादुर पुनजस्ता १०, ११ वर्षका बालबालिका पनि जनयुद्धमा थुप्रै प्रयोग भएका छन् । जो, क्रान्तिका चर्का सिद्धान्त र परिवर्तनका विशाल नारासँग होइन, ‘चामलको भात’सँग सरोकार थियो । मेरै आसपासमा पनि सानै उमेरमा थुप्रै ‘दाइदिदी’हरु त्यसरी नै ५, ६ कक्षा पढ्दापढ्दै जबर्जस्ती ‘गायब’ गराइन्थ्यो । फरक यति हो कोही भागेर फर्केर आउँथे, कोही खड्गबहादुरजस्तो ‘लापता’ भए ।

उपन्यासमा रमाइला प्रसंग पनि छन् । जस्तो कि श्रमशिविरमा रहेका रामकुमार कार्की तालिमप्राप्त जनसेनालाई सजिलै पंगु बनाएर फरार हुन्छन् । शौच गर्दा लाइट बाल्नुपर्ने र अरुले बोलाए दिशा नै नआउने बहाना गरेर उनले माओवादीलाई सजिलै पंगु बनाएको प्रसंग रमाइलो लाग्न सक्छ ।

उपन्यासमा रेडियोको प्रसंग अधिक छ । मलाई थाहा भएसम्म रोल्पातिर जनयुद्धमा घरगाउँ खाली हुन थालेपछि गाउँमा बस्ने बुढाबुढी र केटाकेटीले रेडियोलाई नै आफ्नो एक्लोपनको साथी बनाएका थिए । मेरै बाजेले पनि आफ्नो मृत्युपर्यन्त रेडियो छोडेनन् ।

उपन्यासमा जनयुद्धसँगै माओवादीको एउटा सफेद इतिहासक्रम पनि छ । कस्तो माओवादी कस्तो भयो ? गोधूलि गीत पढे पुग्छ । गोधूलि गीत माओवादी पतनको एउटा श्रृंखलाबद्ध कथा पनि हो । राज्यसत्ताको बर्बरता र सामाजिक निर्ममताविरुद्ध लडेको माओवादी शान्ति प्रक्रियासँगै कसरी माओवादी दलाल, व्यापारीहरुको चंगुलमा फस्दै जान्छ ? कसरी नेताहरुका अग्ला घर ठडिन थाल्छन्, चिल्ला गाडी देखिन थाल्छन् ? फेहरिस्त छ ।

अमृत जुन उत्साहका साथ अमृत जनयुद्धमा लागेका थिए, समयक्रमसँगै त्यो उत्साह कमी हुँदै आउँछ । उनी निराशमात्रै होइन, विरक्त पनि देखिन्छन् । अमृत भन्छन्, ‘म आफ्नै विरक्तिबाट टाढा हुन चाहन्छु । यो देशमा मलाई आफ्नै विगतले तर्साइरहन्छ । म विगतको झझल्कोबाट मुक्त हुन चाहन्छु ।’ (पलायनको श्रृंखला, ३३६)

र त्यसपछि पासपोर्ट बोकेर विदेश भासिन्छन् । उनी परिवर्तनको सपना बोकेर जनयुद्धमा होमिएका र अहिले परदेशिनु परेका लाखौं नेपाली युवाका उदाहरण हुन् । यही नियति पछ्याउँदै घाइते मन बोकेर अहिले पनि खाडीका चर्का बालुवामा नेपालीहरु छन्, जो केही न केही ढंगमा जनयुद्ध प्रभावित थिए ।

हिजो जसले तत्कालीन जनयुद्धको नेतृत्व गरेका थिए, जसले गाउँका चौतारामा उभिएर बोल्दामात्रै पनि हजारौं युवाको रगत उम्लन्थ्यो । जसको एक भाषण सुनेर मर्न र मार्न तयार भएर युद्धमा होमिए । कोही बेपत्ता भए, कोही अंगभंग भए ।

ठीक यहीबेला कुनै समय ‘सुपि्रमो’ सत्ताको भागदौड सम्हालिरहेका छन् । तर, देशको अवस्था त्यही छ । मुद्दाहरु त्यहीं छन् । त्यहीं छन्, भूइँमान्छेका व्यथाहरु । बरु दैनिक हजारौं युवा हातमा पासपोर्ट समाएर अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध छन् ।

हजारौंको बलिदानपछि पनि आएको व्यवस्थामाथि नै प्रश्न झन् चर्कोचर्को बन्दैछ । फलामलाई फलामैबाटै रेटिने डर छ । हिजो माओवादी जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने डर पनि आज उनीहरुबाटै छ । असन्तुष्टिका आवाजहरु तीव्र बन्दैछन् ।

****

नेपालमा चलेको १० वर्षे शसस्त्र जनयुद्ध ऐतिहासिक र साहित्यिक विषयका लागि पनि एउटा महासागर हो । लेखक भानु बोखिमले त्यही महासागरबाट एक अञ्जुली पानी निकालेर नेपाली साहित्यलाई पस्केका छन् ।

हुन त पूर्व ताप्लेजुङको लेखकले पश्चिम रोल्पाको युद्ध कथा लेख्नु पनि आफैंमा एउटा हिम्मत नै हो भन्ठान्छु । लेखक बोखिमले त्यो हिम्मत गरेका छन् । कथाको महासागरमा हिम्मतले हाम फालेका बोखिम जोखिम मोलेर तथ्य र वास्तविकतामा कति डुबे कति उत्रिए ? त्यो पाठकपिच्छे फरक पर्ने कुरा हो !

एक पाठकका हिसाबले यत्ति भन्छु-‘गोधूलि गीत’को महासागरमा बोखिम आधा डुबेका छन्, आधा उत्रिएका छन् । गोधूलि गीतको संगीत थोरै मिठास छ, थोरै कर्कश छ ।

बाल्यकाल नै युद्धको वरिपरि गुम्यो । मस्तिष्कमा चेतनाको विकास हुँदैबाट जिन्दावाद र मुर्दावादका चर्का नाराहरुसँग हुर्किएँ । त्यसैले पनि युद्ध साहित्य जति पढे पनि लाग्छ, अझै लेखिनै बाँकी छ । कहिलेकाहीँ त लाग्छ-लेखिँदै लेखिएन ।

द्वन्द्व व्यवस्थापनपछि जन्मिएको शिशुपछि आज यो देशको नागरिक भइसकेको छ । उसको नजरमा त्यो जनयुद्ध कस्तो देखिन्छ होला ? हिजो जनयुद्धमै श्रीमान गुमाएकी एक महिला युद्धबारे के सोच्छिन् होला ? बेपत्ता सन्तान पर्खेर बसेकी आमाका लागि त्यो युद्ध के होला ? हिजो देश बदल्न हिँडेको पार्टी आज यो देशको सत्तामा छ । उनीहरुको मनमा पनि त केही न केही उब्जँदो होला ! थोरै सफलतानुभूति, थोरै आत्मालोचनानुभूति पक्कै हुन्छ होला ! विश्वास छ, यी प्रश्नका उत्तर पनि कुनै न कुनै दिन लेखिनेछन् । जरुर लेखिनेछन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?