+
+

असफल प्रेमको कहानी ‘चाँदनी’

भावकेशर बराल भावकेशर बराल
२०८० पुष १५ गते १७:२२

ललितपुरको लुभुमा जन्मिएर जोरपाटीमा बस्ने उपन्यासकार नारायण थापा कल्पित (२०२६)को लेखनीको प्रारम्भ गरिमा मासिकमा कविता प्रकाशन २०५६ बाट भएको हो । उनका सिर्जना सरिता (कवितासंग्रह, २०६१), सिर्जना सरिता (कथासंग्रह, २०७६), आँखा स्वास्थ्य एक अध्ययन (अनुसन्धान, २०७६), चाँदनी (उपन्यास, २०८०) तथा उल्टो म (कथासंग्रह, २०८०) प्रकाशित छन् । थापाका विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा कथा, कविता, गीत, लेख आदि निरन्तर प्रकाशित भइरहेका छन् । उनका आधा दर्जनभन्दा बढी पाण्डुलिपि प्रकाशनको पर्खाइमा छन् ।

चाँदनी आख्यानात्मक कृति हो । आख्यान विश्वभरि सर्वाधिक रुचाइएको विधा पनि हो । एकै वाक्यमा भन्नुपर्दा चरित्र र घटनाको उद्देश्यपूर्ण संयोजन जसले पाठकको हृदयलाई झंकृत बनाउने सामर्थ्य राख्छ त्यो नै आख्यान हो । नेपाली साहित्यमा गद्याख्यानको झिल्को खोज्दै जाने हो भने शक्तिबल्लभ अर्यालको महाभारत विराटपर्व सम्वत् १८२७ सम्म पुग्नुपर्छ । तथापि यो औपन्यासिक कृति भने होइन ।

आधुनिक उपन्यासका तत्वहरु यस कृतिमा पाइँदैनन्, यो आख्यानलेखनको पृष्ठभूमि मात्र हो । नेपाली साहित्यमा औपन्यासिकताको बिजारोपण गर्ने प्रथम रचना चाहिं वीरसिक्का (१९४९) हो । त्यहाँदेखि आजसम्म आइपुग्दा नेपाली आख्यानले एउटा सुस्पष्ट स्वरुप धारण गरेको छ र अविच्छिन्न गतिशील रहेको छ । यसै शृंखलाको पछिल्लो कडीमा जोडिन आइपुगेको छ, थापाको उपन्यास चाँदनी ।

प्रणयप्रेमलाई केन्द्रमा राखेर स्वच्छन्दतावादी भावधारामा रचना गरिएको यो उपन्यास पठनीय रहेको छ । डिमाइ आकारमा १०४ पृष्ठको आयाममा विस्तारित उपन्यासको आवरण आकर्षक छ । पीठपृष्ठमा फोटोसहित लेखकको सामान्य परिचय प्रस्तुत गरिएको छ । सुरुको प्रारम्भसहित १८ मध्यम तथा छोटा परिच्छेदसंरचना रहेको छ । पहिलो परिच्छेद प्रारम्भ भए पनि यो उपन्यासको प्रारम्भ होइन, अन्त्य हो । अर्थात्, उपन्यासको कथा अन्त्यबाट प्रारम्भ भएको छ । कल्पना अधिकारी थापा प्रकाशक तथा वसन्तराज अज्ञात सम्पादक रहेको यस उपन्यासको मूल्य २५० रुपैयाँ राखिएको छ ।

लेखकीयभित्र लेखक भन्छन्, ‘एउटा मनोरञ्जनात्मक तथा शिक्षाप्रद विषयका रुपमा कल्पना गरिएको कथावस्तुमा आधारित प्रस्तुत चाँदनी उपन्यास कृतिलाई जगतले मानिदिए हुन्थ्यो । कृति सार्वजनिक भएपछि लेखकको हातबाट फुत्किन्छ र पाठकीय सत्तामा बाँचेको हुन्छ । यसैलाई दार्शनिक लेखक रोला बार्थले लेखकको मृत्यु भनेका हुन् । लेखकले पनि प्रस्तुत विषयवस्तु स्वीकार्ने नस्वीकार्ने जिम्मा पाठकलाई नै सुम्पेका छन् । उनले चलनचल्तीभन्दा अलिक फरक ढंगले उपन्यास प्रस्तुत गरेको छु भनेका छन् तर उनको लेखनी परम्पराभिन्न रहेको चाहिं देखिंदैन । बस्, परम्पराको शृङ्खलामा उनी पनि जोडिएका छन् ।

आजको स्वार्थपरस्त प्रवृत्ति चित्रण गर्न उपन्यास सफल छ । मूलतः उपन्यासको रुचिक्षेत्र प्रणयप्रेम रहेको देखिन्छ । प्रेममा स्वार्थ र त्यागको अवस्थिति उपन्यासमा प्रस्तुत भएको छ । मपात्र (उपनाम द्रवित उल्लेख) र लक्ष्मीबाई (उपनाम चाँदनी उल्लेख)बीचको प्रणयप्रेमको विप्रलम्ब शृंगार नै उपन्यासको मूल कथ्य हो । यसका अतिरिक्त प्रेमका अन्य विविध स्वरूपको प्रकारान्तर चित्रण पनि उपन्यासमा उपस्थापित छ । म पात्र उपन्यासकारको मुखपात्रका रुपमा उपस्थित भएका छन् ।

उपन्यासको प्रारम्भ म पात्रकी छोरीले अचानक बुबासित प्रेमका विषयमा राखेको जिज्ञासाबाट भएको छ । भन्नुस् न बाबा प्रेम के हो ? प्रेम कसरी हुन्छ ? प्रेमको कहानीमा के–कस्ता पात्रहरु नायक, खलनायकहरु हुन्छन् ? तिनको चरित्र के कस्तो हुन्छ ? अनि प्रेमको परिभाषा के हो, प्रेम केका लागि गरिन्छ ? किन गरिन्छ ?

पुरुषप्रधान समाजको कथा भन्दै म पात्रले छोरीलाई आफ्नो असफल प्रेमकथा सुनाएका छन् । पुरुषप्रधान समाजकै कथा भएकाले हुनसक्छ उपन्यासको अन्त्य नारी पात्र जो उपन्यासमा लक्ष्मीबाई वा चाँदनी नामले सम्बोधित छिन्, उनको प्रेम निवेदन म पात्रले अस्वीकार गरेको घटनाबाट भएको छ ।

उपन्यासको कथा नायक–नायिकाको असफल प्रेम हो । प्रेममा असफलताको प्रभाव नायक–नायिकालाई समानरूपमा परेको छ । यो कुरा पत्राचारको भाषामा अभिव्यञ्जित भएको छ । पत्रमा दुवै आफू चाहिं प्रेममा समर्पित रहेको र दोस्रोबाट धोका भएको उल्लेख गर्छन् । एकअर्काप्रति समर्पणभाव पनि देखिन्छ तर व्यवहारमा आशंका । जसको परिणाम दुवैलाई हात लागेको छ, प्रेममा असफलता । तर उपन्यासमा असफल प्रेमी सफल जीवनयापन गरिरहेको छ भने असफल प्रेमिकालाई उसको भावी जीवनमा पनि असफल भई अन्त्यमा पूर्वप्रेमीसमक्ष प्रणयनिवेदन गर्न विवश निरीह पात्रको भूमिकामा उभ्याइएको छ । वास्तवमा यो पुरुषप्रधान समाजकै उपज हुनुपर्छ । यस्तो अवस्थाप्रति लेखक, समाज वा नियति कुन बढी जिम्मेवार हो, विद्वान् पाठकले नै निरुपण गर्ने नै छन् ।

पाठकीय जिज्ञासाका लागि उपन्यासको टुंग्याउनीको संक्षिप्त अंश- म उनलाई मेरो घरमा ओत त दिन सक्थें होला तर किन दिने ? उनलाई मैले मेरो घरमा के भनेर साथ सहयोग र ओत दिने ? उदाउँदो चन्द्रमालाई चाँदनी भनिन्छ, उनी त अस्ताउँदो जून थिइन् । यतिबेला मेरी चाँदनी बनेर मलाई उहिलेदेखि साथ र सहयोग दिने मेरी चाँदनी मसँगै थिइन् । जतिबेला मलाई त्यही जुनको खाँचो थियो, त्यतिबेला उनले मलाई धोका दिई किन अर्कै राजकुमार छानी गइन् ? मेरी जून भइनन् ? अहिले म कसरी उनलाई जून मान्न सक्छु ? त्यसैले मैले उनलाई ठाडै भनिदिएँ अर्थात् मेरो अन्तिम जवाफ बाई चाँदनी ।

उपन्यासमा दोस्रो परिच्छेददेखि परिदृश्य भनिएको छ । परिदृश्य १ र २ मा क्रमशः लक्ष्मीबाई र म पात्रको कथा छ । परिदृश्य ३ मा म पात्रका माध्यमबाट उपन्यासकारले आफ्नो निस्सारतावादी–अस्तित्ववादी जीवनदर्शन प्रस्तुत गरेका छन् । परिदृश्य ४, ७ र १४ मा म पात्रलाई मखमली थापाको चिठीको सन्दर्भ छ । परिदृश्य ५, ६, ८, ९, १० र १२ मा चाँदनीले लेखेको चिठीको प्रसंग छ । परिदृश्य ११, १३ र १५ मा म पात्रले चाँदनीलाई चिठी लेखेको सन्दर्भ छ । परिदृश्य १ ६मा म पात्रले विगतको आत्ममूल्यांकन गरेका छन् । लक्ष्मीबाईसँगको सम्बन्धमा आफूले धोका खाएको निष्कर्ष म पात्रको छ । परिदृश्य १७ मा म पात्रले तयार पारेको असफल प्रेमकथाको डायरी पढेर लक्ष्मीबाई द्रवीभूत बनेको प्रसंग आएको छ । लक्ष्मीबाईले विगतमा जेजस्तो भए पनि भविष्यमा एकसाथ बसौं भनी प्रेम आमन्त्रण गरेकी छन् तर म पात्रले उनलाई लाञ्छना लगाई अस्वीकार गरेबाट उपन्यासको टुंगिएको छ । अर्थात् उपन्यासमा दुःखद् अन्त्य निर्माण गरिएको छ ।

उपन्यासको रीतिक्षेत्र वृत्ताकारीय छ । कथानकको अन्त्यबाट उपन्यास प्रारम्भ भएको छ । अर्थात् असफल प्रेमिका आफ्नो पूर्वप्रेमीको खोजी गर्दै उनकै कार्यकक्षमा आइपुगेको घटनाबाट कथानक प्रारम्भ भएको छ । उनीहरूबीच केहीबेरको संवादपश्चात् म पात्रले आफ्नो डायरी लक्ष्मीबाईलाई थमाइदिएको छ । सोही डायरीमा अङ्कित पत्राचारका सन्दर्भले कथानकको घटना विकास गरेको छ । म पात्रसँग सम्पर्कविहीन भई आफैंले काम गर्ने अफिसको मालिकसँग लक्ष्मीबाईले विवाह गर्नु कथानकको चरमोत्कर्ष बनेको छ । लक्ष्मीबाईको वैवाहिक सम्बन्ध असफल हुनु, दोस्रो विवाह गर्नु, दोस्रो लोग्नेको असामयिक निधन हुनु जस्ता प्रसंगले कथानकको घटनाह्रास देखाएका छन् । लक्ष्मीबाईले आफ्नो पूर्वप्रेमीलाई प्रणय निवेदन गरेको र उसले अस्वीकार गरेको घटनाबाट कथानकको अन्त्य भएको छ ।

उपन्यासमा प्रथमपुरुष दृष्टिबिन्दुको प्रयोग छ । भाषाशैली सरल, सहज तथा सरस छ । उखानटुक्काको प्रयोगले अभिव्यक्तिमा मिठास थपेको छ । घटनाहरू शृंखलित छन् तथापि अभिव्यक्तिमा कहींकतै आवृत्ति दोष भने देखापरेको छ । कतैकतै वर्णविन्यासगत त्रुटि रहेका छन् । वाक्यगठनमा संगतिभंग भएको अवस्था पनि देखिन्छ । सामान्य सम्पादनपछि निराकरण हुने प्रकृतिका त्रुटि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?