+
+

विष्णु सापकोटाको ‘अडिएका पाइला’ बारे मन्जुश्री थापा– ‘यो क्याम्पस उपन्यास हो’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १२:४९

काठमाडौं । सशक्त राजनीतिक विश्लेषण अनि प्राज्ञिक, दार्शनिक मीमांसामा अभ्यस्त रहने लेखक विष्णु सापकोटालाई नेपाली भाषाका पाठकले उपन्यासकारका रुपमा पनि पाएका छन् ।

काठमाडौंमा शनिबार सापकोटाको पहिलो उपन्यास ‘अडिएका पाइला’लाई प्रसिद्ध आख्यानकार मन्जुश्री थापाले विमोचन गरिन् ।

सापकोटाको लेखनबारे बोल्दै थापाले भनिन्, ‘विद्वान लेखकका रुपमा गम्भीर राजनीतिक तथा बौद्धिक विषयमा सिधा विचारहरु लेख्दै आउनुभएको विष्णुले किन उपन्यास विधा नै रोज्नुभयो होला भन्ने प्रश्न पनि मनमा आयो । तर क्याम्पस जीवनमा रहेका २० वर्ष नजिकका युवायुवतीको मनमा उठ्ने धरमर–धरमर भावनालाई यो किताबले राम्रोसँग चित्रण गरेको छ ।’

थापाले सापकोटासँग जीवनका अप्ठ्यारा भावनाहरुलाई राम्रो भाषामा लेख्नसक्ने क्षमता रहेको भन्दै प्रशंसा गरिन् । उनले विदेशी भाषाहरुमा क्याम्पस नोभल भन्ने विधा नै रहेको सुनाउँदै भनिन्, ‘नेपाली साहित्यमा क्याम्पस–नोभलहरुको कमी छ । अडिएका पाइलाले त्यो कमी पूरा गर्नेछ ।’

सापकोटाले आफ्नो दुई वर्षको मेहनत, अनि धेरै वर्षअघिदेखि भन्न बाँकी कथा अहिले उपन्यासका रुपमा आएको बताए । आफू कला साहित्यकै लागि धेरै वर्ष अध्ययनमा बिताए पनि बीचको समयमा भएको कमीसमेत पूरा गर्नेगरी उपन्यास लेख्न कोसिस गरेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयका एमए विद्यार्थीहरुलाई लामो समय अंग्रेजी साहित्य पढाएका सापकोटाले भने, ‘क्याम्पस जीवनमा रहेका पात्रहरुको मनमा उठ्ने सोचाइहरु, अनि उनीहरुको प्रेमको भावनासँगै देश र समाजमा घटित घटनाहरुले कसरी व्यक्तिहरुलाई प्रभावित पार्दोरहेछ भन्ने जिज्ञासासँगै पात्र निर्माण र उपन्यास लेखन चल्यो ।’

फाइनप्रिन्टले प्रकाशित गरेको ‘अडिएका पाइला’ उपन्यासमा अनसुया, अस्तित्व, वन्दना, मोहनजस्ता पात्रहरुबीचको वैचारिक घर्षणसँगै सम्बन्धको उतारचढावसमेत प्रकट छ । सापकोटाले आफ्नो किताबबारे अर्को प्रसंग पनि खोले, ‘उपन्यास लेख्न बस्छु भनेर कथाको खोजी गरेको होइन, लामो समयदेखि आफूभित्र बसिरहेको एउटा कथा थियो, त्यसैले मलाई यो किताबसम्म यात्रा गरायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?