+
+

उखु किसानको ५२ करोड बक्यौता तत्काल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १७:४८

१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उखु किसानको बाँकी रहेको अनुदान रकम तत्कालै उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल एवम् अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० को किसान प्रोत्साहन बापत सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सो मध्येको करिब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवम् कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशन समेत दिए ।

गत वर्ष सरकारले उखु प्रवर्द्धन खर्च भनेर प्रतिक्विन्टलमा ७० रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । जसअनुसार पहिलो चरणमा अनुदानका लागि ८० करोड रुपैयाँ छुट्ट्याएकोमा त्यो रकम विनियोजन भएको तर बाँकी रकम प्राप्त नहुँदा अनुदान रोकिएको कृषि मन्त्रालयले जनाएको छ ।

अनुदानका लागि अर्थ मन्त्रालयलाई पटक-पटक ताकेता गर्दा पनि प्राप्त नभएपछि आइतबार अर्थ, वाणिज्य र कृषि मन्त्रीसहितको बैठक बसेर प्रधानमन्त्रीले यस्तो निर्देश्न दिएको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

उखुको बिक्री मूल्य तोक्न र अनुदान उपलब्ध गराउन माग गर्दै १७ मंसिरमा किसान प्रतिनिधिहरु काठमाडौं समेत आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?