+
+

‘भ्वाइस’को स्टेजमा पारिवारिक विरासत पछ्याउँदै मोनिका

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १७:४०

काठमाडौं । अध्ययनको हिसाबले भूगर्भशास्त्रकी विद्यार्थी हुन् मोनिका राई । कर्मको हिसाबले संगीत उनको अभिन्न हिस्सा हो । माटो र भूगोलको अनुसन्धानमा जुट्नुपर्ने बेला उनी यतिबेला भ्वाइस अफ नेपालको स्टेजमा संगीत गुञ्जाउँदैछिन् ।

कोच राजेशपायल राईको समूहबाट उनी भ्वाइसकी प्रतिस्पर्धी हुन् । ‘लाइभ राउण्ड’को अन्तिम १० मा प्रवेश गरेकी मोनिकाको गायनमा शास्त्रीय संगीतको मिठास सुन्न सकिन्छ । सिक्किमको पाक्योङबाट सांगीतिक पहिचान खोज्दै काठमाडौं उत्रिएकी उनी संगीत जियोलोजीसँग मात्र होइन, हरेक विषयसँग अन्तरसम्बन्धित रहेको तर्क गर्छिन् ।

अनलाइनखबरसँग गफिंदा उनको अनुहारमा दबाबको आभा स्पष्ट देखिन्थ्यो । एकातिर सातामै दुई गीत तयार पार्नुपर्ने र अर्कोतिर भोटका लागि दौडधुप गर्नुपर्ने । यी दुईथरी दबाबबीच उनी लाइभ राउण्डबाट पार पाउन संघर्ष गरिरहेको देखिइन् ।

जतिसुकै दबाब भए पनि भ्वाइसको स्टेज उनका लागि क्लासरुम जस्तै हो । उनी यसमा सक्षम हुन सिकिरहेकी छन् । ‘प्रतिस्पर्धाले हामीलाई कत्तिको सक्षम छौं भन्ने सिकाउँछ । दुई गीतमै गीत तयार पारेर स्टेजमा प्रस्तुत गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘कोचको अघि गीत गाउनु भनेको एकदमै ठूलो कुरा हो । आत्मविश्वास पनि बढ्दै जान्छ ।’

दोस्रो सिजनबाटै मोनिकाले भ्वाइसलाई पछ्याएकी थिइन् । सिक्किमका प्रतिस्पर्धी पनि प्रशस्तै थिए अघिल्ला संस्करणमा । पाँचौं सिजनमा आवेदन दिइन् र छनोट भइन् । ‘म आफैंलाई फाइनलिस्ट महसुस गरिरहेको छु । प्रतिस्पर्धा भन्ने कुरा भइनै रहन्छ,’ उनले भ्वाइसबारे भनिन् ।

मोनिका नेपाली गायिकामा मेलिना राई र समृद्धि राईलाई पछ्याउँछिन् । यी दुई गायिकालाई उनी प्रेरणादायी मान्छिन् । तर उनको सबैभन्दा ठूलो प्रेरणाको स्रोतको रुपमा बुबा सन्देश राई रहे । सांगीतिक विरासतलाई निरन्तरता दिंदै आफू भ्वाइसमा सहभागी भएको मोनिकाको कथन छ ।

उनका बुबा सन्देश राई संगीतकर्मी हुन् । परिवारका अन्य सदस्य पनि संगीतमै सक्रिय छन् । एकदिन बुबाले उनलाई गितार ल्याइदिए । उनको सांगीतिक प्रेरणा नै त्यो गितारबाट सुरु भयो ।

‘गितार सिक्दासिक्दै मैले गीत गाउन सक्ने रहेछु भन्ने महसुस भयो । त्यो गितार जहिलेदेखि हातमा समातेर गाउन थालें, त्यहींबाट मेरो जर्नी सुरु भयो,’ उनले स्मरण गरिन् । यो बेला उनी कक्षा ८ मा पढ्दै थिइन् ।

उनी क्लासिकल र डान्सिङ नम्बरलाई पछ्याउँछिन् । खासगरी आशा भोस्लेका डान्सिङ गीत उनलाई प्रिय लाग्छन् । घरको सांगीतिक माहोलले उनको मन भूगर्भशास्त्रतिर होइन, संगीततिर मोडियो ।

‘हाम्रो घरमा सीडी डेकको जमाना थियो । बाबाले कर्णदास र दार्जिलिङका गायकको गीत बजाउनुहुन्थ्यो डेकमा । त्यही समयबाट हामीले गीत सुन्दै आयौं । सानैदेखि सेन्टिमेन्टल सुन्दा म क्लासिकल गीततर्फ मोडिएँ,’ उनले संगीतप्रति आफ्नो अभिरुचिबारे बताइन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?