+
+

संघर्षको लामो यात्रालाई ‘भ्वाइस’मार्फत गन्तव्यमा पुर्‍याउन चाहन्छन् मकर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १४:४८

काठमाडौं । ४० वर्षीय मकरबहादुर योञ्जनले सांगीतिक संघर्षको लामो हिउँद खेपे । शास्त्रीय संगीतको पृष्ठभूमि बोकेका आफूजस्ता गायकका लागि नेपालमा करिअर बनाउन चुनौतीपूर्ण देख्छन् उनी । हुन सक्छ यही कारण भारतमा भाग्य खोज्दै दुई दशक बिताए । टन्नै कन्सर्ट गरे । लामो ग्यापपछि स्वदेश फर्किए ।

‘नेपाली संगीतमा इन्ट्री गर्न सजिलो छैन । प्रतिस्पर्धा बढी छ । हामीजस्ता क्लासिकल जनराबाट आएकाका लागि स्कोप कम छ । धेरै संघर्ष गर्नुपर्छ,’ आफ्नो सांगीतिक संघर्षबारे उनी भन्छन्, ‘नेपालमा लोकपप र दोहोरीगीतको धेरै क्रेज छ । क्लासिकल गीत गाउनेलाई मुस्किल पर्ने रहेछ ।’

द भ्वाइस अफ नेपालको सिजन ५ का प्रतिस्पर्धी हुन् मकर । भ्वाइसको जारी सिजनका उनी सबैभन्दा जेठा प्रतिस्पर्धी हुन्, तर उनका लागि उमेर एउटा अंक मात्रै हो । कोच राजेशपायल राईको टिमका प्रतिस्पर्धी मकरलाई पाँचौं सिजनका दाबेदारको रुपमा समेत हेरिएको छ । ‘सांगीतिक संघर्ष’को लामो याम भोगेका मकरलाई भ्वाइसको प्रतिस्पर्धा अर्थपूर्ण छ । उनी यो बिन्दुलाई करिअरकै ‘युटर्न’को रुपमा व्याख्या गर्छन् ।

सांगीतिक जीवनमा धेरै चुनौती थिए मकरका । यिनै चुनौतीका बाबजुद उनी भ्वाइसको पाँचौं सिजनमा जोडिए । भ्वाइसकै पूर्वप्रतिस्पर्धी अभिषेक बराइलीको संगतले उनलाई यो प्लाटफर्ममा ल्याइछाड्यो । ‘उहाँले भ्वाइस अफ नेपाल उत्कृष्ट प्लाटफर्म हो भन्नुभयो । अनि मैले आवेदन दिएँ अनि छनोट भएँ,’ मकरले छनोटका सुरुवाती दिन सम्झिए । अनि अडिसन राउण्ड छिचोल्दै उनी लाइभ राउण्डसम्म आइपुगे । यो राउण्डलाई उनी भ्वाइसकै ‘चरम दबाब’को राउण्डको रुपमा अर्थ्याउँछन् ।

‘किनभने जनताको भोट पनि समेट्नुपर्छ । गीतमा पनि मेहनत गर्नुपर्ने हुन्छ । एकातिर भोट अपील गर्नुपर्‍यो । आफ्नो समुदायको मान्छेसँग जोडिनुपर्‍यो । दुई दिनमा गीतको आउटपुट निकाल्न निकै मेहनत गर्नुपर्ने हुन्छ,’ लाइभ राउन्डबारे उनले भने ।

यस्ता प्लाटफर्मलाई सदुपयोग गर्न सके कलाकार अघि बढ्न सक्ने उनको बुझाइ छ । ‘मैले यो रियालिटी शोबारे जति पनि बुझें, बुझ्दै जाँदा गम्भीरतापूर्वक अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनी भन्छन्, ‘मेरो लागि प्लाटफर्म क्रिएट भएको छ । मेरो एउटा खुट्टा पलायो ।’

केही पछि फर्किएर मकरको निकट अतीतलाई हेरौं । सर्लाहीमा जन्मिएका उनको परिवार २०५२ सालमा कञ्चनपुरको पुनर्वास बसाइ सर्‍यो । परिवारमा संगीतको पहिलो पुस्ता हुन् उनी । स्कुल र कलेजदेखि मीठो गाउने उनको परिवार आर्थिक रुपमा कमजोर थियो । घरबाट संगीतका लागि उनलाई मद्दत मिल्न सकेन । तर उनी संगीतमा करिअर खोज्दै काठमाडौं पसे । संगीत बुझ्दै जाँदा समयले उनलाई भारत पुर्‍यायो । झण्डै दुई दशक भारतका धेरै ठाउँमा अलमलिए । धेरै ठाउँमा लाइभ कन्सर्ट गरे । लामो अन्तरालपछि काठमाडौं फर्किए पनि उनको संघर्षका दिनहरु अझै उस्तै थिए ।

काठमाडौं आइपुगेर उनले मेलिना राई लगायतका कलाकारसँग केही गीत रेकर्ड गरे । म्युजिक भिडियो निकाले । यही मेसोमा उनलाई भ्वाइसको स्टेजमा प्रतिस्पर्धा गर्ने मौका जुर्‍यो । ‘संगीत नेचुरल कुरा रहेछ । जोडिन्छु भनेर जोडिएको होइन तर संगीतले यहाँ ल्याइपुर्‍यायो,’ उनी भन्छन् ।

 उनले दुई वर्षअघि ल्याएको गीत ‘यो माया हो’ ठीकठीकै चल्यो । उनीसँग केही गीत तयार छन् जसलाई भ्वाइस सकिएपछि आकार दिने उनको तयारी छ । यो योजनालाई भ्वाइसले सघाउने उनको आशा छ । मकर भन्छन्, ‘अब सजिलो भएको छ । अब क्रिएटिभिटीलाई एक्सप्लोर गर्न भ्वाइस अफ नेपालले राम्रो सहयोग गरेको छ ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?