+

जाडोमा छाला किन सुख्खा हुन्छ ?

२०८० पुष  ३ गते १७:५४ २०८० पुष ३ गते १७:५४
जाडोमा छाला किन सुख्खा हुन्छ ?

जाडोको प्रभाव छालामा पनि देखिन्छ । चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुख्खा हुँदा हातखुट्टा फुट्ने, हातखुट्टाको छालामा चिरा पर्नेजस्ता समस्या आउँछन् । सुख्खापनले छालालाई खराब त गर्छ नै असहज महसुस पनि गराउँछ ।

जाडोमा छाला सुख्खा हुनुमा शरीर र वातावरणको तापक्रम अन्तरसम्बन्धित छ । शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम छ भने शरीरले त्यसमा समायोजित हुन शरीरमा भएको तापक्रमलाई बाहिर फाल्छ ।  त्यसले गर्दा तापक्रमसँगै शरीरमा पानीको मात्रा पनि कम हुन्छ र छाला सुख्खा हुन्छ ।

प्रायः जाडोमा तिर्खा कम लाग्छ र धेरै कम पानी पिउने गर्छौं, जसकारण हामी शरीर हाइड्रेटेड रहँदैन र छाला सुख्खा हुन्छ । जाडोबाट बच्नका लागि हामी धेरै तातोमा बस्न रुचाउँछौ । धेरै आगो ताप्ने, हिटर ताप्ने र एसी चलाउने गर्छौं त्यो धेरै तातोपनले पनि छाला सुख्खा हुन्छ ।

जाडोमा धेरै तातो पानीले नुहाउने धेरैको बानी हुन्छ । तर नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुँदै जान्छ । छाला सुख्खा हुने गर्छ । जाडोमा जसले ट्रन्सफ्याट र स्याचुरेटेड फ्याट भएका खानेकुरा धेरै खान्छन्, उनीहरूमा छाला सुख्खा हुने, फुट्ने समस्या देखिन्छ ।

प्राकृतिक तरिकाबाट छालाको समस्याबाट कसरी जोगिने ?

पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, जसले छालामा पानीको अभाव पूरा गर्छ । अनुहारमा तातो पानीको बाफ लिंदा बन्द भएको रोम छिद्र खुल्छ । हातले हलका छालाको मसाज गर्न सकिन्छ । यसले अनुहारमा रक्तसञ्चार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

साबुनले अनुहार धुने बानी राम्रो होइन । सम्भव भएसम्म छाला सुख्खा नहुने फेसवासको प्रयोग गर्नुपर्छ । जाडोमा सुख्खा छालाको समस्याबाट बच्न लामो समय आगो ताप्नु हुँदैन र हिटरमा पनि धेरै बस्नु हुँदैन ।

छालालाई सुख्खापनबाट बचाउन मोइस्चराइजिङ क्रिम प्रयोग गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसार त्यसको छनोट गर्नुपर्छ । नुहाउँदा अत्यधिक तातो पानीको प्रयोग गर्नाले छालाको नरमपन कम हुने भएकाले मनतातो पानीले नुहाउनुपर्छ । साथै नुहाउनासाथ मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

बाहिर हिंड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धुवाँबाट छालालाई जोगाउन मास्कको प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने गर्न सकिन्छ ।

सुख्खापनबाट बच्न प्रशस्त मात्रामा भिटामिन ई युक्त खानेकुरा जस्तै किबी, अण्डा, ड्राइ फ्रुट्स, हरियो पत्तेदार तरकारी, एभोकाडो, ब्रोकाउली खानुपर्छ ।

छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिएर हुँदैन, छालालाई कसरी स्वास्थ्य राख्ने भन्ने कुरामा सचेत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्छ ।

सुख्खा छालाबाट छुटकारा पाउने उपाय

जाडो मौसममा वाटर बेस्ड मोइस्चराइजर क्रिमको सट्टा आयल बेस्ड मोइस्चराइजर लगाउनुपर्छ । किनकि आयल बेस्ड मोइस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ । दैनिक रूपमा मोस्चराइजरको प्रयोग गर्ने, ओट मिल, शियाबटर र हाइल्युरोनिक एसिड प्रयोग भएको मोस्चराइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

छाला धेरै नै सुख्खा हुन्छ र त्यसको कारण अन्य समस्या पनि देखिएको छ भने अस्पताल गएर छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

छाला जाडो डा. विक्रान्त ढकाल
डा. विक्रान्त ढकाल
लेखक
डा. विक्रान्त ढकाल
छाला तथा यौनरोग विशेषज्ञ

डा. ढकाल हाल नेपाल स्किन तथा अस्थेटिक सेन्टरमा काठमाडौंमा कार्यरत छन् । उनले छाला तथा यौनरोगमा एमडी गरेका छन् । डा. ढकालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८९३१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय