+
+

सगरमाथाको जिल्लालाई संगीतले समेत चिनाउन ‘भ्वाइस’मा आएका कुमार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १८:१६

काठमाडौं । ‘सोलुखुम्बु’ सुन्ने बित्तिकै तपाईंको मस्तिष्कमा कस्तो चित्र बन्ला ? सगरमाथा, पदयात्रा वा पर्यटनसँग सम्बन्धित व्यवसाय ? तर कुमार प्रयास राईको ‘डिस्नेरी’मा यी कुनै शब्द समावेश छैनन् ।

बरु सोलुखुम्बुका यी ३० वर्षे ठिटा संगीतमार्फत जन्मथलो चिनाउँदैछन् । द भ्वाइस अफ नेपालको जारी सिजनमा कोच उदय सोताङको समूहबाट उनी अन्तिम ८ मा उपाधिका लागि भिडिरहेका छन् ।

पछिल्लो एपिसोडमा कुमारको प्रस्तुति दमदार रह्यो । फिल्मको पार्श्वगायन मार्फत उनले दर्शकलाई जुरुक–जुरुक बनाए । फिल्मी गायनलाई ‘फेवरेट’ जनरा मान्ने कुमारको सांगीतिक संघर्ष र भ्वाइससम्मको यात्रा वास्तवमै अनुकरणीय छ ।

सांगीतिक विरासत नभएको परिवारमा उनी जन्मिए । एसएलसीपछि सदरमुकाम सल्लेरी झरे । त्यहाँ संगीतको माहोल बन्दै गयो । कलेजमा आयोजना हुने ‘ट्रयाक प्रतिस्पर्धा’मा भाग लिए । संगीतमा लागेपछि माया पाइने रहेछ बन्ने तत्वबोधले उनलाई काठमाडौंसम्म तान्यो ।

‘संगीतमा खुसी हुनेरहेछु भन्ने अट्याचमेन्ट त्यतिबेला महसुस भयो,’ हालैको एक चिसो दिनमा उनी अनलाइनखबरसँग गफ गर्न तयार भए, ‘अहिले पनि सोलुखुम्बु जिल्लामा कलाकार छन् रे भन्ने सुन्दा मान्छे अनौठो मान्छन् । हिमाल र ट्रेकिङले मात्र बुझिने सोलुखुम्बुमा गीत-संगीतबारे कसैले सोच्दैन ।’

उनी काठमाडौं खाल्डोमा सांगीतिक पहिचानका लागि संघर्ष गरेको ११ वर्ष भयो । संगीतसँगै पेट पाल्न काम गर्नुपर्ने दिनचर्या काठमाडौंको यथार्थ हो । उनी यही सेड्युलसँगै राजधानी खाल्डोमा संघर्षरत छन् ।

भ्वाइस अफ नेपालमा सहभागी हुन उनलाई साथीभाइले दबाब दिएका रहेछन् । ‘यो प्लाटफर्मलाई पहिल्यैदेखि फलो गरेको हो । निरन्तर यही क्षेत्रमा काम गर्ने भएर पनि आफू पनि यो प्लाटफर्ममा सहभागी हुनुपर्छ भन्ने लाग्यो । साथीहरुको दबाब मुख्य रह्यो,’ उनी भन्छन्, ‘संयोगवश, यो पाली मेरो लागि जुरेको हुनुपर्छ । हरेक चीज मिलेको जस्तो लाग्छ ।’

‘पर्फमर अफ द डे’सहित कुमारलाई राम्रो भोट मिलिरहेको देखिन्छ । उनी सिधै अन्तिम ८ मा पुगेका छन् । आगामी साता उनलाई भोटिङको दबाब हुनेछैन । तर लाइभ राउण्डमा गीत बिगारे पनि आउट हुन्छु कि भन्ने प्रेसर कम हुने उनको बुझाइ छ । ‘यतिबेला ब्लाइन्ड र नकआउटजस्तो अभ्यास कम छ । भोटिङको दबाब छ यतिबेला,’ उनी भन्छन् ।

उनी जीवनलाई सिकाइको पर्यायको रुपमा अर्थ्याउँछन् । ‘भ्वाइसमा आएपछि धेरै कुरा अनुभव नगरेको कुरा सिक्दै गइयो । के कुरा गर्ने र के कुरा नगर्ने भन्ने कुरा । यसमा धेरै कुरा छ । कोचको माया, संसारभरका साथीहरुसँगको भेट, अलग खालको मेमोरी बनेको छ,’ कुमार भन्छन् ।

भ्वाइस सकिएपनि अडियन्सलाई उत्कृष्ट गीत कम्पोज गरेर दिने उनको योजना छ । ‘मान्छेलाई सबैभन्दा ठूलो कुरा अवसर हो । त्यो खोज्दै प्लेब्याक गायनलाई अघि बढाउँछु,’ उनी भन्छन् ।

तस्वीर : शंकर गिरी/काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?