
काठमाडौं । कलेजो सर्जन डा. एकानन्द सिंह ८ हजार डलरको अन्तर्राष्ट्रिय फेलोसिपका लागि चुनिएका छन् ।
ग्यास्ट्रो इन्टेस्टाइनल सर्जनहरुको विश्वव्यापी समाज द सोसाइटी फर सर्जरी अफ एलिमेन्ट्री ट्याक्ट (एसएसएटी)ले डा. सिंहलाई यस वर्षको ‘एसएसएटी ट्राभलिङ्ग फेलोसिप’ दिने भएको हो ।
उनी कम तथा मध्यम आय भएका देशका सर्जनहरु मध्येबाट छनौट भएका हुन् । फेलोसिपमा छनौट भएका उनी आगामी वर्षको मे महिनामा अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा हुने एसएसएटीको वार्षिक बैठकमा र जीआई सर्जनबीच अन्तरक्रियामा सहभागी हुने मौका पाउने छन् । संसारकै उत्कृष्ट भनिएका मायो क्लिनिक क्लिभल्याण्ड क्लिनिकको समेत भ्रमण गरी जीआई सर्जरी सम्वन्धी नयाँ सिप र सर्जिकलको गुणस्तर अध्ययनको अवसर समेत पाउने छन् ।
डा. सिंह किष्ट मेडिकल कलेज तथा ग्राण्डी अस्पतालमा जनरल तथा हेपाटो विलियरी सर्जनको रुपमा कार्यरत छन् । हालै किष्ट मेडिकल कलेजमा उनको टोलीले पहिलो पटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको थियो ।
डा. सिंह हेपाटो विलियरी सर्जरी विषयमा विद्याबारिधि गर्ने पहिलो नेपाली चिकित्सक हुन् । सिंहले २०७५ साल राष्ट्रपतिबाट नेपाल विद्याभूषण क पदक पाउनुको साथै सन् २०२० मा अन्तर्राष्ट्रिय कलेजो प्रत्यारोपण समाजबाट प्रतिष्ठित योङ इन्भेस्टिगेटोर अवार्डबाट विभूषित भएका थिए ।
प्रतिक्रिया 4