 
																			५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कामै गर्न नपाएको भन्दै गुनासो गरेका छन् ।
बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘काम गर्ने व्यक्तिले परिणाम कतिबेर निकाल्नु ? संसदीय समितिमा जानै पर्यो, एउटा काम गर्न थाल्यो अख्तियारले बोलाउन थाल्छ, महालेखाले बोलाउँछ, सम्पत्ति शुद्धीकरणले बोलाउँछ, दिक्क बनाइसक्यो कामै गर्न पाइएन ।’
नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको उनले बताए । उनले भने, ‘राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो । नेपाल एयरलाइन्स उडाउने तर भाडा चाहिँ नतिर्ने ।’
प्रयोगमा नरहेका चिनियाँ जहाज लिलामीमा आफूले नै राख्न लगाएको उनले बताए । ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ? कि सुप खाने हो ? मैले नै दबाब दिएर लिलामीमा राख्न लगाएको हो,’ उनले भने, ‘यसलाई किन राख्ने ? जसले दायित्व मात्र सिर्जना गर्छ, त्यो पालेर के काम ?’
निगमको ऋण ४९ अर्ब रहेको भन्दै उनले एक वर्षमा २२ अर्ब कमाएको बताए । उनले भने, ‘अलिकति प्रयास गरे त एक वर्षमै ऋण आधा तिर्न सकिने सम्भावना छ, हामीलाई काम गर्न दिनुस् ।’
कानुन बनाउने प्रक्रिया धेरै ढिला भएको भन्दै उनले मन्त्रालयबाट उठेको विधेयक अर्थ, कानुन मन्त्रालयमा झुन्डिएर बसेको बताए ।
उनले भने, ‘एउटा कानुन बनाउन ४/५ वर्ष लाग्छ, हामी उल्टो बाटोमा छौं ।’ उनले यो विषय प्राधिकरण टुक्राउने बारे बोलेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4