+
+
Shares

साताको सेयर समीक्षा : नेप्सेभन्दा उच्च दरले बढे ६ समूह

७ कम्पनीको मूल्य ४० प्रतिशतभन्दा धेरै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १७:०५

६ पुस, काठमाडौं । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक ५.७ प्रतिशतले बढ्यो । नेप्से परिसूचक १९९४ अंकमा रहेर गत साताको कारोबार बन्द भएकोमा यो साता २१०९ मा पुगेर बन्द भयो ।
यो साता ५ दिन सेयर कारोबार भएकोमा ४ दिन बजार बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार घट्यो । आइतबार २७, सोमबार ३८, मंगलबार ४६, बुधबार ३५ अंक बढेको नेप्से बिहीबार भने ३२ अंक घट्यो । समग्रमा साताभर बजार ११५ अंक बढ्यो ।

नेप्से परिसूचक मात्रै बढेको छैन, कारोबार रकम उल्लेख्य भएको छ । यो साताका हरेक दिन ५ अर्बभन्दा बढीको कारोबार भयो । आइतबार ५ अर्ब १५ करोड, सोमबार ६ अर्ब ८६ करोड, मंगलबार ५ अर्ब ९८ करोड, बुधबार ७ अर्ब र बिहीबार ६ अर्ब २७ करोडको कारोबार भयो । समग्रमा साताभर ३१ अर्ब २७ करोडको कारोबार भयो । गत साता पाँच दिन नै बजार खुल्दा १६ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

दैनिक हुने गरेको कारोबारमा बुधबारको कारोबार करिब १ वर्ष यताकै उच्च हो । सो दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ, जुन रकम २६ पुस २०७९ यताकै उच्च हो । गत वर्षको २६ पुसमा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

यो साता समग्र सेयर बजारको परिसूचकमा उल्लेख्य वृद्धि देखिए पनि ६ वटा समूहको वृद्धिदर नेप्सेको भन्दा तल रह्यो भने बाँकी ६ वटा समूहको वृद्धिदर नेप्सेको भन्दा उच्च रह्यो । बजारमा विभिन्न कम्पनीका सेयरलाई १२ वटा समूहमा विभाजित गरिएको छ । म्युचुअल फण्डसहित १३ समूह छन् ।

वृद्धिदरमा नेप्सेलाई ‘ओभरटेक’ गरेका समूहमा होटल, हाइड्रोपावर, माइक्रोफाइनान्स, उत्पादन, व्यापार र लगानी छन् । समग्रमा यो साता नेप्से ५.७ प्रतिशतले बढ्दा यी ६ समूहको वृद्धिदर सोभन्दा धेरै रह्यो । यीमध्ये पनि उत्पादन समूह सबैभन्दा धेरै १९ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह भने वृद्धिदरका आधारमा नेप्सेभन्दा पछि परे ।

उत्पादन समूहमा उच्च वृद्धि :
उत्पादन समूहमा ८ वटा कम्पनी पर्दछन् । बोटलर्स नेपाल (बालाजु), नेपाल ल्युब आयल, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट यस समूहका कम्पनी हुन् । यीमध्ये नेपाल ल्युब आयलको कारोबार नै भएको छैन भने अरु ७ वटै कम्पनीको मूल्य बढेको छ ।

अन्य समूहका तुलनामा यो समूहका कम्पनीहरुको सेयर मूल्य महँगो नै हुने गरेको छ । युनिलिभर बजारकै सबैभन्दा महँगो (प्रतिकित्ता ४४ हजार रुपैयाँ) मूल्य भएको कम्पनी हो ।

यो समूहमा पनि बोटलर्स नेपाल बालाजुको मूल्य एक सातामा सबैभन्दा धेरै ६१ प्रतिशत बढेको छ । साताभरका पाँचै दिन १० प्रतिशतका दरले मूल्य बढ्यो । यो कम्पनीको उच्च मूल्यवृद्धिले समग्र समूहको वृद्धिमा ठूलो मद्दत पुगेको हो । यो कम्पनीको मूल्य बढ्नुको मुख्य कारण : मजबुत प्रतिसेयर नेटवर्थका बीच सस्तो मूल्य रहनु हो । विगतमा लामो समय कारोबार नहुँदा कम्पनीको मूल्य सस्तोमा रहिरहेको थियो ।

कम्पनीको हाल प्रतिसेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ छ तर बजार मूल्य अहिले पनि ५ हजार ७८४ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थको ३ गुणासम्मको मूल्य सामान्य मानिन्छ । हाल यस कम्पनीको सेयर बेच्ने प्रायः छैनन् भने माग बलियो छ । एउटै समूहको उस्तै प्रकृतिको र नेटवर्थ पनि उस्तै भएको सहकम्पनी बोटलर्स नेपाल तराईको मूल्य अहिले प्रतिकित्ता १३ हजार १ सय रुपैयाँ छ । त्यस्तै ३ सिमेन्ट कम्पनी शिवम्, घोराही र सोनापुरको मूल्यवृद्धिले पनि यो समूह बढाउन ठूलो सहयोग गरेको छ ।

राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत कायम गरेसँगै बैंकहरुबाट यसमा जाने कर्जा बढेको र यसले सिमेन्ट उद्योगहरुको बिजनेस बढ्ने अनुमानले सिमेन्ट कम्पनीहरुको मूल्य बढेको हुन सक्ने लगानीकर्ताको भनाइ छ । ‘घर निर्माणको सिजन सुरु भएको छ, पूर्वाधार निर्माणको कार्यले पनि अब गति लिन्छ, यसले सिमेन्ट कम्पनीहरुको बिजनेस पक्कै बढ्छ’ सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने ।

अर्कोतर्फ यी तीनै कम्पनीले प्रिमियमा आईपीओ जारी गरेकाले प्रिमियम रकमबाट बोनस सेयर दिँदैछन्, जसले गर्दा मूल्य बढ्न सघाउ पुग्यो । यीमध्ये शिवम् सिमेन्टले १४.२५ प्रतिशत बोनस सेयर र घोराहीले १५ प्रतिशत सेयर बोनस घोषणा गरिसकेका छन् ।

केही कम्पनीमा मूल्यसँगसँगै बढ्यो जोखिम :
बजारको परिसूचक बढ्दै जाँदा प्रवेश गर्नेको संख्या पनि बढ्दै जान्छ । कम्पनीको वित्तीय स्थितिको तुलनामा मूल्य उच्च दरमा बढ्नुले जोखिम पनि थपिँदै जान्छ । दैनिक १० प्रतिशत मूल्य बढ्दै गएका अधिकांश कम्पनीमा यतिबेला जोखिम बढेको छ । कमजोर वित्तीय अवस्थाका बाबजुत धेरै कम्पनीको मूल्य १० प्रतिशत बढ्दै गएको छ ।

पुँजी र सेयर आपूर्ति न्यून भएका, कम्पनीको वित्तीय स्थिति कमजोर भएका, बजार मूल्य कम भएका र सकेसम्म थोरै रकमबाट कम्पनीको मूल्य नियन्त्रण गर्न सक्ने अवस्था देखिएका कम्पनीमा ठूला कारोबारी आकर्षित हुने गरेका छन् । जसले गर्दा अहिले वित्तीय स्थिति नाजुक भएका कतिपय कम्पनीको मूल्य दैनिक १० प्रतिशत बढिरहेको छ । यस्तो बेला नवप्रवेशी लगानीकर्ता भने सतर्क रहनुपर्ने अनुभवी लगानीकर्ताको सुझाव छ ।

‘खराब कम्पनीमा पनि कारोबार गरेर पुँजीगत लाभ राम्रो हुन सक्छ, तर त्यस्ता कम्पनीबाट बेलैमा बाहिरिन नसक्ने हो भने जोखिम पनि भारी पर्न सक्छ’ लगानीकर्ता पिताम्बर खकुरेलले भने ‘यतिबेला कतिपय कमजोर स्तरका कम्पनीको मूल्य दिनदिनै बढिरहेको छ, कारोबार गर्नेका लागि ती कम्पनी सहज हुन सक्छन्, तर दीर्घकालीन लगानीकर्ताका लागि त्यस्ता कम्पनी उपयुक्त हुँदैनन् ’

सेयर कारोबारीले राम्रा र खराब कम्पनी नछुट्याउने, उनीहरुले निश्चित रकमबाट त्यो कम्पनीलाई चलाउन सक्ने क्षमता मात्रै मूल्याङ्कन गर्ने गरेका छन् । सेयर किन्नुअघि कारोबार वा लगानी के का लागि हो भन्नेमा स्पष्ट भएर सोअनुसारका कम्पनी खरिद गर्नुपर्ने लगानीकर्ताको सुझाव छ ।

‘१० प्रतिशत मूल्य बढेका खराब कम्पनीमा लगानी गर्न खोजियो भने ट्रयापमा फस्न सकिन्छ, बजार अरु केही दिन घट्यो भने तिनै कम्पनीको सेयर बेच्नै नसक्ने अवस्था आउँछ’ उनले भने ‘त्यसकारण कारोबार गर्ने भए पनि राम्रै कम्पनीमा गरौं ।’ सैद्धान्तिक रुपमा वित्तीय विवरण राम्रो भएका, लाभांश पनि दिइरहेका र मूल्य पनि बढ्न सक्ने कम्पनीहरु छानेर लगानी गर्दा भोलि मूल्य धेरै आयो भने पुँजीगत लाभको संभावना हुने र घट्दा पनि धेरै नघट्ने उनको भनाइ छ ।

कारोबार गर्नकै लागि किनिएको हो भने घाटा सहने क्षमता पनि राख्नुपर्ने उनले सुझाव दिए । ‘आज १० प्रतिशत मूल्य बढेको कम्पनी कसैले किन्यो भने, त्यो सेयर डिम्याट खातामा आउन ३/४ दिन लाग्छ, अनि मात्रै बेच्न पाइन्छ’ उनले भने ‘खातामा सेयर आउँदासम्म मूल्य दैनिक १० प्रतिशतका दरले घट्यो भने पनि जोखिम लिन तयार भएर मात्रै किन्नुपर्छ, समग्र बजार बढ्दा नराम्रा कम्पनीको मूल्य पनि त्यत्तिकै बढेको हुन्छ’ उनले भने ।

राम्रा र मजबुत कम्पनीहरुको मूल्य अझै पनि बढ्न नसकेको सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष फुल्लेलको भनाइ छ । उनले भने ‘लगानीकर्ताले मूल्य धेरै नबढेका र वित्तीय स्थिति सबल रहेका कम्पनी छनोट गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?