+
+

सुदूरपश्चिम र लुम्बिनीका मुख्यमन्त्रीबीच सीमा विवादबारे छलफल

रासस रासस
२०८० पुष ७ गते १६:१५
सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाह (दाँया) र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।

७ पुस, टीकापुर । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।

छलफलपछि सीमा विवाद, कर्णाली नदीको नदीजन्य वस्तुको उपभोग संरक्षणमा उत्पन्न समस्या समाधान गर्न दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्तासहित तीन सदस्य टोली गठन भएको छ ।

टोलीले आगामी फागुन १२ गतेभित्र विज्ञ टोली गठन गर्न कार्यक्षेत्रगत शर्तनामा ‘टिओआर’ बनाएर दुवै प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने सहमति भएको छ । बर्दियाको ठाकुरद्वारामा भएको छलफलमा दुवै प्रदेशका मुख्यसचिव, वन वातावरण र भूमि सुधारमन्त्री तथा प्रदेश सांसदको उपस्थिति थियो ।

यसैगरी छलफलमा दुवै प्रदेशका कैलाली टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका गरी तीन र बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, बर्दिया र कैलालीका नापी प्रमुखको सहभागिता थियो । कर्णाली नदीका कारण बर्दिया र कैलालीमा सीमा विवाद वर्षौंदेखि रहेको छ ।

नदीले निरन्तर धार परिवर्तन गर्दा र नापी पनि नभएका कारण दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन् । सीमाको सबैभन्दा बढी विवाद टीकापुर–८ र राजापुर नगरपालिका–४ मा छ ।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारु कार्यदल बनाएर विवाद टुङ्ग्याउन थालेको बताउँछन् ।

‘कैलालीतिर जङ्गल क्षेत्र, बर्दियामा गाउँ नै नदीमा परेको अवस्था छ । यो आफ्नै देशको सीमा भएकाले विवाद गर्नुभन्दा सहमतिमा टुङ्ग्याउनुपर्छ भन्नेमा हामी एकमत छौँ’, नगर प्रमुख थारुले भने, ‘राजापुर र गेरुवा गाउँपालिकाको सात सयदेखि ११ सय बिघा जमिन नदीमा छ । जग्गाधनीले कर तिर्ने तर उपभोग गर्न नपाएको अवस्था छ । त्यसैले कार्यदल बनाउने, कार्यदलले विवाद टुङ्ग्याउने सहमति भएको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?