+
+
साहित्य :

लेख्नै पर्ने कथा

निरज थापा, सिलगढी निरज थापा, सिलगढी
२०८० पुष ७ गते १८:१९

‘केही गरेन भने त केही पनि नहुने रहेछ’, एउटा अकाट्य सत्य जस्तो बोल्यो राम। अर्थात् रामराज राई। आफ्नो आँखालाई तेज पारेर हेरिपठायो तल टिष्टा खोलालाई। अलि उतै उतै कुदाएर आँखालाई पर सुभुक पुल, फाँटिलो बगर, तेर्सो मैदान र बाक्लो जङ्गल हेर्न लगायो। सिलगढी त्यहीं, अलि परतिर त छ, सपनाको शहर। यतिबेला अलिअलि आँखा अझ चम्किला भए उसका।

‘बस्नु त फ्ल्याटमै मजा आउँदो रहेछ’- अस्ति अलिक दिन माइली बहिनी मन्दोदरीको फ्ल्याटमा बसेको अनुभव बोल्यो राम। फेरि थप्यो- ‘सब्जी पनि घरैमुनि आउने, दूध पनि, फलहरू पनि, बिहान पूजा गर्ने सर-सामान पनि घरैमुनि ठेलामा आउँदो रहेछ। चौबिसै घन्टा रनिङ वाटर, बत्ती। यहाँजस्तो मध्य बाह्रमा तर्साउँछ है भन्ने केही नहुँदो रहेछ। कोही बेला त ठिक्क रातको बाह्र बजे भूतले जस्तै मासु–भात खाइयो। खोइ त केही भएन त!’

उत्तराधुनिक संस्कृतिको एकझलक देखायो उसले। इन्द्रबहादुर राईको विश्व तिम्रा चरणमा सम्झेछ क्या ढुङ्गामा बसेर उतै हेरेको हेरेकै भइरह्यो ऊ।

‘त्यै ढुङ्गामै चिप्लेर त लडेको सीता। तिम्लाई त थाहा छ नि हैन श्याम? म पुग्दा त धुकधुकी मात्र थियो’ – नोष्टाल्जिक बन्यो राम। मूर्तिवत्। ठेल्यो भने मूढा जस्तै ढ्याक्क लड्नेछ ऊ यतिबेला।

‘एकसौ किबी त आउने रहेछ त्यो चाँप नि दाजु?’- सीता लडेको भनेकै ढुङ्गा छेउको चाँप देखाएर श्यामले एकछिनमा सोध्यो। श्याम अर्थात् श्याम भुजेल। उसको आँखामा: सीता खूनैखूनले लत्पतिएर पल्टिरहेकी छेउमै लडिरहेको छ उसले ढाल्न चाहेको चाँपको बडेमानको मूडा।

‘तर काट्ने पो कल्ले?’- मूर्तिभञ्जन भएर आफैं, बोल्यो राम। ‘त्यो ढुङ्गा देख्दैछौ नि कम चिप्लो छ। जानै गाह्रो।’

‘म काट्छु दाजु। फिप्टी फिप्टी गरुम्।’

‘काट्न त काटिएला, निकाल्नु कसरी? पैला सीताको लास निकाल्न त हामी पाँच-छ जना मूडे मूडेलाई हम्मेहम्मे परेको। उँधो लडायो तलै रियाङ खोला पुग्ने बेर छैन। होस् हौ। ज्यान जोखिममा नहाल!’

‘ज्यान त के छ र दाजु। आज छ भोलि छैन।’

‘भन्छौ नि, जहान छोराछोरी पनि त हेर।’

‘सर्भाइवल अफ् दि फिटेस्ट दाजु। गरिखान्छ। त्यतिको बलियो त बनाको छु हौ, मैले। विश्वास पनि गर्नुपर्छ दाजु आफ्नो खूनमा। जति बेला केही थिएन, र त हामी बाँच्यौं, अहिले त..’

‘भन्छौ नि भन्नु त!’

‘हुन्छ हौ दाजु, आँट गर्नुपर्छ।’

‘हेरूम् न त ल श्याम?’ भनेर मोटामोटी सात ऐकर जमीनलाई दुइटा आँखाको टोड्कामा राखेर उठ्यो राम। झन्डै झन्डै प्रपोज गोर्खाल्यान्डको म्याप जस्तो उसको जमीनलाई आँखाले नै रेखा कोरिराख्यो उसले। त्याँ चाँपको रूख, त्याँ भ्यागुते ढुङ्गा, त्याँ अम्बके, त्याँ रामफल, त्याँ मलबाँस अँ सिमाना ठिक छ। आँखा आँखामै सप्पै समेटेर भन्यो फेरि श्यामलाई -‘पचास त दिन्छ होला नि त्यो घोषले?’

बुझेन श्यामले। पचास भनेको हजार, लाख, करोड अथवा के? केको दाम ? कि के? ‘चाँप त्यता मिलाएको रहेछ’, मनमनमा सोच्यो श्यामले।

‘पैंतीसको फ्ल्याट टुबीएचके हेरेको छु। पचासमा पन्ध्र बाँच्छ, एउटा स्कुटी किन्छु। यता बस्तीको सागसब्जी त्यहीं फ्ल्याटमै बेच्छु। गाडीले सालुगडा झारिदिहाल्छ। फेरि भएन फ्ल्याटमा चौकीदारी पनि गर्नु भनेको छ सोसाइटीले! मोटामोटी त दिन्छ होला!’ – भनेर सिरिरी हावामा एसीको चिसो सम्झँदै ‘एसीमा कस्तो मजा छ’ पनि विचाऱ्यो। मजा मानेर श्यामसित बिदा लिएर हिंडी पनि हाल्यो राम।

श्यामले पनि रामले झैं एरियालाई मानचित्रमा ढाल्यो। सोच्यो एउटा चाँपबाट नभनेको पनि बीस तीस हजार कमाइ हुन्छ, चाँप, लामपाते, चिलाउने, धुप्पी, तल औल औल परेकोमा भएको सैगुन, सखुवा मिलाउँदा सौवटा भन्दा धेरै छ। मालामाल भइन्छ। सोच्दै सोच्दै हिंड्यो ऊ पनि।

पाँच दिनपछि:

माथ्लो गाउँतिर हिंडेको श्यामले देख्यो;

घरका सामानहरू क्यान्टर गाडीमा हाल्दै थियो राम। घोषबाबुले काँडेतारले रामको जग्गालाई घेरा लगाउँदै थियो। घोषबाबुहरू कानेखुशी गरेर हाँसिरहेथ्यो। घोषबाबुसित आएका अरूले औंल्याएर श्यामको जमीनलाई पनि देखाउँदैथ्यो। गाडीमा आएका अरूहरू दूर्बिन लगाएर पर परका गाउँलाई हेर्दैथिए।

श्यामलाई रातभरि निद्रा परेन। ओल्टो–कोल्टो फेरिरह्यो। श्रीमती सती एनजीओको स्वास्थ्य शिविरबाट थकित बनेर आएकी छिन्, फ्वाँ–फ्वाँ सुतिरहेकी छिन्। श्रीमतीले चाल नपाउने खाले बिस्तारै ओछ्यानबाट उठेर भान्साघरतिर गयो श्याम। भान्साघरको लामो बेन्चमा कुसनको सिरानी लगाएर ढल्क्यो। मोबाइल फोनमा हेडफोन जोड्यो र फेसबुक हेर्न थाल्यो। फेसबुकका वालभरि बसेका घरि यो पार्टीमा घरि त्यो पार्टीमा गर्ने को नक्साहरू, खबरहरू हेऱ्यो। उठ्यो, पोहोर एनिभर्सरीमा छोरोले दिएको उपहार कप झिक्यो, ग्याँस चुलामा राखेको कितलीबाट पानी साऱ्यो, पिइहालेन। एकछिन केही केही घोलेको जस्तो हल्लायो, अन्त्यमा पियो। के मन भयो कुन्नि? छोरोलाई ह्वाट्सेपमा मेसेज लेख्यो रोमनमा- तँ कहिले घर आउँछस्? छुट्टी मिल्छ भने आइज न, सल्लाह छ!

लेखेर एक प्रकार आनन्दको भाव जाग्यो अनुहारमा। फेरि फेसबुक खोल्यो। फेसबुकमा पारि सुरुकको, बेलटारको, राङभाङको, मुस्ताङको, पोखराको, कुन्नि कुन कुन ठाउँको होमस्टे र रिसोर्टको विज्ञापन थियो। फेसबुकमा भनिएका तथा मानिएका साथीहरूले पनि फोटाहरू हालेका थिए, आहाल डाँडाका, पन्बुका, सुरुकका, बेलटारका, भेडेटारका, अन्तुका, कन्यामका। धेरैले के के कमेन्ट पनि गरेका थिए, हेऱ्यो। के मन भयो, कानमा हेडफोन हाल्यो र भिडियो हेर्न थाल्यो।

भिडियोमा: विमल गुरुङ अनशन बसिरहेको थियो। छेउमा अनिल लोप्चन बोलिरहेको थियो। कहिलेको हो कुन्नि! रुदेन सादा लेप्चाको अन्तर्वार्ता चलिरहेको थियो। राजु बिष्ट भेट्न गएको देखाइरहेथ्यो। निरज जिम्बा, वीपी बजगाइँहरू पनि थियो। अजय एडवर्डले अब जनताको राज भन्दै भाषण दिंदैथ्यो। अनित थापा गाउँ घुमेको पनि भिडियो थियो। नो रोड नो भोट पनि थियो। कन्सर्न युथ अफ् हिल्सको रिजनल एसएससीको माग पनि थियो। आरजे सागर, गाउँको छोरोको कुन्नि कुन गाउँको भ्लग पनि थियो। रवि लामिछाने बोलेको पनि थियो। बालेन शाहले बुल्डोजर चलाएको भिडियो पनि थियो। हर्क साम्पाङले पानी जोड्दै गरेको पनि थियो।

भिडियोको ग्रुपमा कपिल शर्मा शो पनि थियो। सिङ्गिङ रियालिटी शो पनि थियो। यत्तिकै रिल्स थियो काँचा बदाम को। भएभरका पढ्दै गरेका नानीहरूको बेरोजगारी समस्या यसरी रिल्स बनाएरै समाधान हुन्छ जत्तिकै थियो रिल्स। सायद यही रिल्सले नै ल्याइदिनेछ उनान्नब्बे प्रतिशत मार्क्स परीक्षामा। अलि तलतिर थियो- चाइनिज फुडको भिडियो। हेरेर थुप्रै आइडियाहरू जाग्यो श्यामको मनमा, जो पहिले झरिलो थियो, कालान्तरमा फेरि सल्कियो। सिन्कीको अचारको स्वाद आयो जिब्रोमा। आमाले बनाउने गरेको भकिम्लो र लप्सीको अचारका बयेमहरू नाच्यो आँखामा।

राजनीति गर्छु भनेर अघि आएका युवाहरूप्रतिको गाली, आक्रोश पोख्नेहरूको पोष्ट पनि कम थिएन वालमा। सबैभन्दा बेसी चर्चामा थियो- दार्जिलिङ नगरपालिका र बिच गल्ली।

पहाडमा एउटा चुलिएको अर्को सङ्कथन थियो- सिटोङ क्षेत्रका जमीन बिक्री र मधेशका अनेपालीहरूको बढ्दो सङ्ख्या। श्यामले उस्तो ध्यानपूर्वक हेरेन। बुझिरहेन पनि। ‘जहिल्यै त्यस्तै त हो नि हामी, जहाँ पनि, र यो राजनीति’ भनेर फोन साइलेन्ट मोडमा राखेर त्यहीं बेन्चीमै ढल्किरह्यो श्याम।

बिहान झिसमिसेमै उकालो लाग्यो मुखै नधोई। रामको जमिन काँडेतारले घेरा लगाइसकेथ्यो। त्यो चाँपको रुख भएतिर जान मन लागे पनि अर्काको सम्झेर पसेन श्याम, हेऱ्यो हेऱ्यो अनि फर्केर आयो घर।

भोलिपल्ट फेरि बिहानै पुग्यो। दुईवटा पहेंलो जेसीबी तैनाथ थिए। घोषबाबुले सिन्केधुप घुमाएर नरिवल फुटायो च्याप्टे ढुङ्गामा। जेसीबीले काम गर्न सुरु गऱ्यो अह्राइएको आ-आफ्नो दिशामा। दश-बाह्र जना काम गर्न ल्याएका रहेछन् तलैबाट। तिनीहरूले पनि आ-आफ्ना काम पक्रे।

‘मो त सुरु कोऱ्यो श्याम दाजु, एउटा सानो कटेज बनाउँछ मो, गरममा आएर बस्ने, पत्नी, नानीहरुलाई ल्याउने छुट्टीमा’ भन्यो घोषले श्यामलाई निकै कन्सियस भएर, तर अलि भत्केको नेपाली ध्वनिमा। श्यामले जवाफमा केही भनेन। लुखुर लुखुर घर फर्क्यो।

श्रीमती सतीले श्यामलाई कानमा खुसुक्कै भनी ‘…. भित्ताको पनि कान हुन्छ बुडो।’

दुई दिनपछि छोरो अभि आइपुग्यो। अभि अर्थात् अभिमन्यु। बैङ्लोरको ताज होटलमा म्यानेजर काम गर्थ्यो। दु:ख, सुख गरेर श्यामले ग्र्याजुएट गराएर होटल म्यानेजमेन्ट कोर्स पनि गराएर बैङ्लोर पठाएको थियो। तीन जना जहान दैलो थुनेर भित्रभित्रै बात गरे। बाहिर सुनिएन भित्रको कुरा। निकै दिन बिते।

सिलगढीको दुई माइलमा टुबिएचके फ्ल्याट किनेर बस्न थालेको रामले टोटो किनेको रहेछ। गाउँलेले कहिलेकाहीं भेट्ने गर्छन्। यता गाउँमा उसले किस्नेलाई जिम्मा दिएको छ दूध, साग, सब्जी सालुगढा पठाउने। किस्ने अर्थात् कृष्णबहादुर लोहार। गाउँलेको जिब्रोमा कृष्ण बस्न नसकेर किस्ने नाम भएको। किस्नेले गाउँबाट दैनिक सिलगढी जाने गाडीमा पठाइदिएका साग-सब्जीहरू फ्ल्याटमा बिक्री गर्ने गरेको छ रामले। रहल समयमा उसले भारा पनि खेप्दो रहेछ दुई माइल चेकपोष्ट टु कसमस मल।

केही महिनापछि ‘रामले अर्की बिहे गऱ्यो अरे’ भन्ने हल्ला फिंजियो गाउँमा। सालुगढामै सब्जी दोकान गर्ने लोग्ने खसेको अधबैंसे सावित्री कार्कीसित बिहे गरेको रहेछ। सावित्री कार्की डुवर्स ओदलाबारी निवासी रहिछन्। बिहे भएर सालुगढा आएकी रहिछन्। हल्ला फैलिएको केही दिनमा फेरि पूर्ण खबर फैलियो गाउँमा। साँच्चै बिहे गरेकै रहेछ।

एक वर्षपछि एकदिन आफ्नी नयाँ श्रीमती र फ्ल्याटका छिमेकीहरूलाई लिएर गाउँ आइपुग्यो  राम। छिमेकीहरूलाई औंल्याएर उसले आफ्नो जग्गा देखाउन खोज्यो। देखेर ऊ खुशी भएन। दु;खी पनि भएन। कता कता कुन्नि के केहरू भयो उसलाई।

त्यहाँ देख्यो उसले: आफ्ना आमा-बाबा गाडेको ठाउँमा ठूलो गोलो गोलो खाले खुल्ला घर बनिएको रहेछ। केही पर्यटकहरू होलान्, चिया कफी केही पिइरहेका थिए।

सीता लडी मरेको ढुङ्गामाथि नै उभ्याएको रहेछ दुईतले कटेज। अलि माथि अम्बकको रुख भएकोतिर साना साना झुप्रो जस्तो घर रहेछ पाँच–छ वटा। जहाँबाट उसले आफ्नो जग्गाको म्याप कोरेथ्यो त्यहींबाट कालो बाटो लगेको रहेछ परसम्मै। तिरतिरे धारालाई पनि स्वीमिङ पुल नै बनाएको रहेछ।

टिलिक्क टिलिक्क टल्किएको घरले नै बताउँथ्यो ती कटेजहरू त्यहींका रुखका काठले बनिएका हुन्। अवाक् बन्यो हेरेर ऊ। भित्रभित्रै थकथक भयो उसलाई। श्यामको कुरा मानेको भए! भन्ने ख्याल पनि आयो मनमा। सपनामा पनि सोचेको थिएन उसले, उसको त्यो कहालीलाग्दो विगत बसेको ठाउँ यति सुन्दर र मोहक हुन्छ भनेर!

पसिनै पसिना भयो राम। सास फुलिएको जस्तो भयो। आफू उभिएको दाहिनेतिर अर्थात् आफ्नो जग्गाको विपरित छेवैमा उभिएको थियो सिसैसिसाले बनेको बडेमानको होमस्टे। लेखिएको थियो ‘मलबाँस होमस्टे’। माथि माथि पर परसम्मै गाउँ अर्कै थियो। कति मिलाएर राखेका बाक्कलले बनाएको गमलामा सुनाखरीहरू। मलबाँसले बारेर बनाएको घरको बार र गेट। एक दुईवटा सखुवाको मुडा काटेर बनाएको बस्ने, एक दुईवटा चाँपको पनि। बाक्कलले नै बनाएको लामो बेन्ची। सिरिरिरी हावा आइराखेको। खरले छाएर बनाएको स-सानो हावा घर दुइटा। वरिपरि लुङदरले आवाज दिइरहेको कानमा।

घरको छतमा रुफ टप क्याफे। सिंढी, सिकुवा, खिड्कीको छेउ सबैतिर हरिया हरिया प्लान्ट राखिएको, झुन्ड्याइएको। मनि प्ल्यान्ट, स्नेक प्लान्टहरू देखेर उसको मनै रमायो। ‘आह!’ भन्यो। जो उसको बारीमा लडिपछ्यार हुन्थ्यो पहिले, उहिले नै रोपिराखेको। चाँपका रुखमा कति मजाले फुल्थ्यो सुनाखरी। सिरिरी चिसोमा उसलाई एसीको चिसो मन परेन। फ्यानले पनि तातो हावा फ्याँकेको सम्झ्यो। रुममा त एसीले चिसै हुन्छ, पाइखाना जाँदा गरमले मर्नुभएको पनि सम्झ्यो। पारि झरनालाई हेऱ्यो, डाँडाहरू हेऱ्यो, पर दुर्पिन डाँडा, पर तारेभीर, तल टिष्टा।

‘पहाडमा जस्तो हेरुँहेरुँ लाग्ने, बसुँ बसुँ लाग्ने सुकिलो त कहाँ हुन्छ त मधेश’ भनिपठायो उसले एक धुनमा।

‘रामदाइ हैन?’ सुन्नेले बोलाउँदा तर्सेको भयो राम। फर्केर हेऱ्यो रामले। श्याम रहेछ होमस्टेको बाहिर गेटमै उभिरहेको। अस्तिको श्याम र अहिलेको श्याममा निकै फरक देख्यो रामले। भरत, लक्ष्मण पनि रहेछ छेउमा। भरत अर्थात् भरत थापा। फौजी जीवनबाट ब्रिगेडियर पोष्टमा अवकाश ग्रहण गरेका। लक्ष्मण अर्थात् भर्खरै मात्र सिभिल इञ्जिनियरिङ सकेर घर आएका। भरतका छोरा। श्यामका छोरा अभिमन्यु चाहिं भित्र मुम्बईबाट आएका जीवविज्ञानका अन्वेषकहरूलाई नामथिङको सेलेमेन्डर र ग्रेट हर्नबिलको नक्सा देखाउँदै बताउँदै थियो। श्यामकी श्रीमती एनजीओको मिटिङबाट भर्खर आइपुगी। भरत थापाकी श्रीमती पद्माचाहिं भित्र भान्साकोठामा लोकल ग्रिन स्यालेड बनाउँदै थिई।

श्यामलाई सोध्यो रामले- ‘तिमी एतै छौ अझै?’

‘खै कहाँ जाने दाजु, यतै सानो सानो व्यवसाय सुरु गरेका छौं मिलेर हामीले, पर्यटनको लागि। अलिअलि खेती गरेको छौं काउलो, ड्रयागन फ्रुट, डल्ले, स्ट्रबेरी, किवीको’ भनेर श्यामले त्यहाँदेखि लहर लागेको पाँचवटा होमस्टे देखायो। तपाईं त भागी हाल्नुभयो। अझै हातले देखायो श्यामले तल पुछारमा- ‘उ त्यो हाम्रो फार्म, त्यहाँ साग-सब्जी छ, कुखुरा छ, कालिज छ, माछा छ, गाई, बाख्रा र सुँगुर छ।’

रामले आँगनमै भएका ढुङ्गाहरूद्वारा बनाइएको धारामा दुई हातको अँजुलीमा पानी थाप्यो र मुख धुन थाल्यो। श्यामले रामलाई चियाका निम्ति भित्र पस्ने निम्तो गऱ्यो।

रामले­: सिलगढीमा पाँच रुपैयाँमा सानो कागजको गिलासमा खाने गरेको चिया सम्झ्यो, फ्ल्याटमा कसैले ‘चिया खानु आउनु न’ पनि नभनेको सम्झ्यो, अनि विरक्त भएर आफैं, श्यामलाई भन्यो- ‘श्याम! जीवन भनेको यात्रा हो, भन्थ्यो नि सानुसरले? जति हिंड्नुपर्ने छ, जता जानुपर्नेछ, गइने नै रहेछ। कोही बेला लाग्छ यात्रा हो, कोही बेला लाग्छ जमिएको पोखरी हो। कोही बेला त आफैंले भनेका शब्दहरूकै घेरामा उल्झिने विचार जस्तो पनि लाग्छ जिन्दगी त! आफूलाई यहीं त संसार छ, लाग्थ्यो पहिले। सीता खसेपछि संसारै अँध्यारो भइहाल्यो, अहिले फेरि सावित्री आएपछि उज्यालो लाग्छ। लागेर के गर्नु फेरि चार दिवारी जिन्दगी भइहाल्यो सिलगढीमा! संसार हेर, न हेर, टिभीमा।’

‘मलाई त यस्तो लाग्छ हौ दाजु जिन्दगी भनेको चुनौती हो, आउँछ डटेर सामना गर्नुपर्छ’ श्यामले रामलाई बतायो। आउने छिमेकी कसले हो कुन्नि, सोध्यो रामलाई- ‘तपाईँको जमिन चाहिं कुन रे?’

रामले आँखाभरि पुरानै मानचित्र नचाएर जवाफमा भन्यो- ‘उ त्यहाँदेखि उ त्यहाँसम्म, त्यहाँ तलदेखि त्यहाँ माथिसम्म।’ अहिले भनिएको यहाँदेखि, त्यहाँदेखिमा पहिलेको रुखहरूको सिमाना थिएन। यहाँ अहिले त्यो घर, त्यो कटेज, त्यो पोखरी थियो।

‘आम्बो!’ धेरैले लामो जिब्रो निकाले। जत्तिको अवाक् अघि राम बनेथ्यो त्यसभन्दा दश गुणा बढी अवाक् बने तिनीहरू।

आएका एकजनाले चाहिं हिसाब गऱ्यो…. गऱ्यो…. अनि भन्यो – ‘तपाईँ त गाउँको अम्बानी नै थिएछ नि!’

रातो…पिरो… भएर रामले भन्यो- ‘त्यो घर भएकोमै मेरो पहिलेको श्रीमती लडेर मरेको।’

..

अलिपर चाहिं श्यामले एकजना रामका अहिलेका छिमेकीलाई भन्दैथियो- ‘मोटामोटी दुईमा मिल्ला मिल्ला जस्तो छ, हामी लिन्छौं लिन्छौं!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?