७ पुस, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताएका छन् । शनिबार नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलामा उनले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहान्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन’, उनले भने ।
राष्ट्रपति पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् उनले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने धारणा पनि राखे ।
कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैन भने राजस्वका लक्ष्य प्राप्त गर्न कठिनाइ भएको छ । उद्योग धन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’
अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उनले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गरे ।
नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपति पौडेलले बताए ।
‘कूल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ’, उनले भने ।
नेपालको पहिलो औद्योगिक नगर कोशी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरतमोहन अधिकारी, भूविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरञ्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको राष्ट्रपतिले प्रशंसा गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4