+
+

पोखरा महोत्सवमा लोक दोहोरीका चर्चित कलाकारहरुको विशेष प्रस्तुति हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ९:३३

८ पुस, पोखरा । यही पुस १२ गतेदेखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ सम्म) पोखरामा आयोजना हुने नेपालकै ठूलो स्टि्रट फेस्टिवलमा नेपालका चर्चित लोकदोहोरी कलाकारहरुको पनि प्रस्तुति हुने भएको छ ।

‘२५ औं पोखरा स्टि्रट फेस्टिवल’मा राष्ट्रिय स्तरमा ख्याति कमाएका गण्डकी प्रदेशका कलाकारहरुसँगै पोखरालाई नै कर्मभूमि बनाएर सांगीतिक यात्रामा जमेका स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) को आयोजना तथा ‘एड साथी’ र ‘स्वणिर्म इन्टरटेन्मेन्ट’ले व्यवस्थापन गरिरहेको यो महोत्सवमा पहिलो दिन दिउँसो प्रजापति पराजुलीसहित ६ जना कलाकारहरुको प्रस्तुति रहने छ । सो दिन दिउँसो हुने लोकदोहोरी कार्यक्रममा पराजुलीसँगै जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, मन्जु विक तथा कमला सुनारले आफ्नो जोडदार प्रस्तुति दिनेछन् ।

यसैगरी महोत्सवको दोस्रो दिन डिसेम्बर २९ का दिनमा ‘फूल्यो बामरी’ तथा लोक दोहोरी ब्याटल ‘वा वा’की चर्चित गायिका प्रीति आले काठमाडौंबाट आएर पोखरेली दर्शकलाई झुमाउनेछिन् । सो दिन उनीसँगै कुमार पुन, शिवहरी ढुंगाना, शंकर बिरही गुरुङ, कृष्ण सुवेदी, ज्योति लोहोनी तथा कमला गैरेको प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई जीवन दाहाल तथा नेत्रपाणी बास्तोलाले सन्चालन गर्नेछन् । यो दिन रत्यौली गीत प्रतियोगितासमेत हुनेछ ।

कार्यक्रमको तेस्रो दिन डिसेम्बर ३० मा पशुपति शर्माको साथमा पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रेमराज अधिकारी, रामजी पौडेल, लक्ष्मी नेपाली, निशा पोख्रेल तथा शिवहरी ढुँगानाको सांगीतिक प्रस्तुति रहनेछ । यो दिन पनि रत्यौली प्रतियोगिता हुनेछ ।

यस्तै न्यू इयर ईभ अर्थात डिसेम्बर ३१ का दिन बद्री पँगेनीको साथमा तारापती सुवेदी, घनश्याम रिजाल, राजन कार्की, सरस्वती लामिछाने, मधु थापा मगर तथा शिवहरी ढुंगानाले दर्शक झुमाउने छ । यो दिन पनि रत्यौली प्रतियोगिता यथावत रहनेछ ।

विगतका वर्षहरुदेखि नै दिउँसोको समयमा हुने सांगीतिक कार्यक्रममा लोकसंगीतका विधाहरु पोखरा र आसपासका जिल्लाका मानिसहरुका लागि विशेष आकर्षणको केन्द्र बन्दै आएको छ । यस वर्ष आयोजकले यही सिलसिलालाई निरन्तरता दिएको स्वणिर्म इन्टरटेन्मेन्टका प्रमुख श्रीधर पौडेलले जानकारी दिए ।

महोत्सवमा नेपालका चर्चित सांगीतिक ब्याण्डहरुको पनि प्रस्तुति रहने छ ।

हरेक वर्ष डिसेम्बर २८ देखि जनवरी १ सम्म हुने पोखरा सडक महोत्सवको यस वर्ष २५ औं संस्करण हो । यो रजत महोत्सवमा संगीत, खाना, किनमेल र पूर्ण मनोरञ्जनको समिश्रणमा विशेष ध्यान दिइएको आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?