+

किन धेरैजसो महिलामा न्यून रक्तचाप हुन्छ ?

२०८० पुष  ९ गते ११:१० २०८० पुष ९ गते ११:१०
Shares
किन धेरैजसो महिलामा न्यून  रक्तचाप हुन्छ ?

सामान्य हिसाबले बुझौं, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्तननलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ ।

बोलीचालीको भाषामा सामान्य रक्तचापमा माथि १२० र तल ८० हुनुपर्छ । यसको एकाई मिलिमिटर मर्करी हो । रक्तचापलाई ब्लड प्रेसर मेनोमिटरले मापन गरिन्छ । माथिल्लो रक्तचापलाई मेडिकल भाषामा सिस्टोलिक र तल्लो रक्तचापलाई डायस्टोलिक भनिन्छ ।

यदि सिस्टोलिक ब्लडप्रेसर ९० वा त्यो भन्दा तल र डायस्टोलिक ६० वा त्यो भन्दा कम भएको अवस्थालाई न्युन रक्तचाप भनिन्छ । यद्यपि रक्तचाप सिस्टोलिक ९० र डायस्टोलिक ६० भएपनि स्वास्थ्यमा कुनै समस्या छैन भने यसलाई सामान्य मान्नुपर्छ । किनभने व्यक्तिको शरीर अनुसार पनि यो फरक पर्नसक्छ ।

न्यून रक्तचापको समस्या महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ । यद्यपि तुलनात्मक रुपमा यो समस्या महिलामा बढी देखिन्छ । यसको कारण महिला हर्मोन हो । अर्थात् महिलामा अधिकतर हुने ईस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोनले रगतको नसालाई खुकुलो बनाउँछ । यही कारण रक्तचाप न्यून हुनपुग्छ । त्यस बाहेक अन्य कारणले पनि रक्तचाप न्यून हुन्छ ।

के कारणले हुनसक्छ न्यून रक्तचाप ?

१. शरीरमा पानीको मात्रा अपुग भएमा रक्तचाप न्युन हुनसक्छ ।

२. औषधिको सेवन (खासगरी उच्च रक्तचाप, मुटुरोग, पार्किन्सन्स, डिप्रेसन) बाट पनि बेलाबखत रक्तचाप न्यून हुनसक्छ ।

३.  चोटपटकको कारण धेरै रगत बगेमा, मुटुको भल्भमा समस्या भएमा, हृदयघातको समस्या भएमा न्यून रक्तचाप हुनसक्छ ।

४.  कतिपयलाई पोषणको कमीले रक्तचाप घटेको हुनसक्छ । शरीरमा भिटामिन बि–१२ र आइरनको कमी भयो भने रक्तअल्पता हुनसक्छ । जसले गर्दा शरीरमा पर्याप्त रातो रक्त कोषिका बन्दैन । र, न्युन रक्तचाप हुनसक्छ ।

५. गर्भावस्थाका बेला महिलामा मुटुको चालमा तिब्रता आउँछ । यसले पनि रक्तचाप घट्न सक्छ । तर, गर्भावस्थाको बेलाको लागि यो सामान्य हो । बच्चा जन्मिएपछि फेरी पूर्ववत् अवस्थामा आउँछ । यदि बच्चा जन्मिएपछि पनि सो स्थिती कायम रहिरह्यो भने चाहिँ परीक्षण गर्नुपर्छ ।

६.  थाइरोइड, मधुमेह जस्ता समस्याले पनि रक्तचाप न्यून हुनसक्छ ।

७. डेंगु, मलेरिया, झाडापखाला जस्ता कारणले पनि बेलाबखत रक्तचाप न्यून हुनसक्छ ।

यसर्थ तनाव, चिन्ता, डिप्रेसन, रक्तश्राव, र गर्भवती हुँदा धेरैजसो महिलाहरुको रक्तचाप न्यून हुन्छ ।

कसरी थाहा पाउने ?

न्यून रक्तचाप हुँदा अत्याधिक थकान महसुस हुन्छ, चक्कर लाग्छ । आँखा धमिलो हुनु, मन बेचैन हुनु, छाला चिसो हुनु, धेरै तिर्खा लाग्नु पनि यसको लक्षण हुनसक्छ ।

रक्तचाप कम भएमा के गर्ने ?

पर्याप्त पानी पिउने । समयमा सुत्ने । नियमित र थोरै समयको अन्तरालमा केही न केही खाने । नुनिलो खानेकुरा खाने । तनाव व्यवस्थापन गर्ने । यदि अन्य समस्या भएमा चिकित्सकलाई देखाउने ।

औषधि खानुपर्छ कि ?

उच्च रक्तचापका लागि जस्तै न्युन रक्तचाप बढाउने औषधि खास औषधि भने छैन । बरु के कारणले रक्तचाप कम भएको हो त्यो पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । नुनपानी, गेडागुडीको झोल र नुनिलो खानेकुराको मात्रा बढाउन सकिन्छ । यसले रगतमा पानीको मात्रा बढाउन सहयोग गर्छ । प्रेसर नियन्त्रणमा आउन मद्दत गर्छ । कहिलेकाहीँ रक्तचाप बढाउनलाई एकैचोटी धेरै खाँदा ह्वात्तै प्रेसर बढ्न सक्छ । त्यसैले रक्तचाप कम भएका व्यक्तिले कम्तिमा दिनको दुईचोटी (बिहान र बेलुका) रक्तचाप जाँच गर्नुपर्छ ।

अचानक रक्तचाप घट्यो भने के गर्ने ?

एक्कासी रक्तचाप घटेमा सकेसम्म बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्यचौकी वा अस्पताल लानुपर्छ । अस्पताल टाढा भएमा र बिरामी अचेत भएमा नुनपानी खुवाउँदै पटकपटक ब्लड प्रेसर नाप्नुपर्ने हुन्छ । तर बिरामी बेहोस भएको अवस्थामा केही पनि खुवाउनु हुँदैन । अचेत अवस्थामा बल गरेर ख्वाउँदा सर्केर छाति सम्बन्धी गम्भीर समस्या निम्तिन सक्छ ।

यो उच्च रक्तचाप जत्तिकै हानिकारक हुनसक्छ ?

न्यून रक्तचाप हुँदा चक्कर आएर जहाँ पनि ढल्न सक्छ । समयमा उपचार भएन भने मृत्यु समेत हुनसक्छ । त्यस्तै गर्भावस्थामा रक्तचाप कम भएमा गर्भको भ्रुणको मृत्यु हुनसक्छ । मनोभ्रम  (कन्फ्युजन)  मस्तिष्काघात, मृगौला रोग आदि लाग्न सक्छ ।

कस्तो खानपान गर्ने ?

न्युन रक्तचाप हुँदा उच्च रक्तचापमा जस्तो कुनै किसिमको खाना बार्नु पर्दैन । यसबेला नुनिलो खानेकुरा अलि बढी खान सकिन्छ । किनभने नुनिलो खानेकुराले प्यास बढाई रक्तचाप बढाउन मद्दत गर्छ । तर कहिलेकाँही नुन बढि खाँदा शरीरमा रक्तचाप बढ्न सक्छ । तर जंङ्क फुड, धुम्रपान, मद्यपान गर्नुहुँदैन ।

के कारणले हुनसक्छ न्युन रक्तचाप ? न्युन रक्तचाप medicine
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची