 
																			९ पुस, काठमाडौं । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका कृष्णबहादुर राईले करिब डेढ करोड रुपैयाँ बराबरको विद्यालय भवन निर्माण गरिदिएका छन् । गाउँपालिकाको वडा नम्बर २ हाँबुका कृष्णबहादुरले सोही वडामा रहेको सितलादेवी आधारभूत विद्यालयको नयाँ भवन निर्माण गरिदिएका हुन् ।
कृष्णबहादुरले कक्षा ३ सम्म रहेको विद्यालयलाई ६ कोठे नयाँ पक्की भवन तथा बालबालिका खेल्नको लागि आवश्यक खेल सामग्रीहरु समेत जुटाइदिएका छन् । कक्षा ५ सम्म पढाउने प्रक्रियामा रहेकोले ६ कोठे भवन निर्माण गरिदिएको उनले बताए ।
राईले विद्यालयलाई सोमबार एक कार्यक्रमका बीच नवनिर्मित भवन हस्तान्तरण गरेका छन् । विद्यालय भवन निर्माण गरिदिनुको उद्देश्यबारे उनी भन्छन्, ‘यही गाउँमा जन्में, हुर्कें तर गाउँको लागि केही गर्ने मौका मिलेको थिएन, अहिले मौका हेर्दा यही विद्यालयको भवन बनाउनुपर्ने जरुरी देखेकोले बनाएको हुँ ।’
राम्रो तथा सफा ठाउँमा पढ्न पाउँदा बालबालिकाको सिकाइमा पनि प्रभाव पर्ने भएकोले भवन निर्माण गरिदिएको पूर्व ब्रिटिश आर्मी समेत रहेका राई बताउँछन् । ढुंगा माटोबाट निर्मित भवन भूकम्पपछि जोखिम रहेको भन्दै टिनको छाना भएको अस्थायी भवन बनाएर राखिएको थियो ।
बसाइसराइ, जन्मान्तर लगायत कारण हरेक वर्ष विद्यार्थी घट्दै गइरहे पनि भएकाको लागि गुणस्तर शिक्षा दिनमा नयाँ पक्की भवनको पनि प्रभाव पर्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटी बताउँछन् ।
उनी भन्छन् ‘बसाइसराइ, जन्मान्तर लगायतको कारण विद्यार्थी घट्दो छ । तर, घटेकोमा चिन्ता गर्ने भन्दा पनि भएकाको लागि गुणस्तर शिक्षा दिनु हाम्रो ध्येय छ त्यसमा यो नयाँ भवनको पनि महत्वपूर्ण प्रभाव पर्छ ।’ विद्यालयमा हाल २० जना बालबालिका अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले जानकारी दिए ।
नयाँ भवन पाएपछि कक्षा ४ र ५ अध्यापन अनुमति पाउन पनि सहज हुने उनी बताउँछन् । कक्षा ४ पढ्न करिब एक घन्टा टाढा हिंड्नुपर्ने भएकोले पालिकामा कक्षा ५ सम्म अध्यापन अनुमतिको लागि अनुरोध गरिरहेको उनले बताए । उनले भने, ‘४ मा पढ्न जान करिब एक घन्टा हिंड्नुपर्छ त्यसैले ५ कक्षासम्म अध्यापन अनुमति मागिरहेका थियौं, अब यो नयाँ भवन भएपछि पक्कै सहज हुन्छ भन्ने लागेको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4