+
+

भिटेनदेखि दोङसम्म, सन् २०२३ मा जसको देखियो नेपाली र्‍यापमा दबदबा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १७:१९
र्‍यापरहरु भिटेन, दोङ र जी-बब

काठमाडौं । र्‍याप नेपाली संगीतको कान्छो जनरा हो । तन्नेरी पुस्तामाझ यसको क्रेज निकै छ । सन् २०२३ नेपाली र्‍याप संगीतका लागि मध्यम रह्यो । यस वर्ष घरेलु र्‍याप केही नामको वरपर मात्र सीमित रह्यो ।

यो वर्ष नेपाली र्‍याप संगीतको क्षेत्र समीर घिसिङ ‘भिटेन’, महेश दोङ, सुदीप भण्डारी ‘जी-बब’ र डीएनएक्सको वरपर घुम्यो । लाउरे, चिराग खड्का, मिस्टर डी, युनिक पोइट, एमसी फ्लो, साकार पनि चलेका नामहरु हुन् ।

सन् २०२३ मा भिटेनले तीन गीत ल्याए जसमध्ये ‘त्यही’लाई सर्वाधिक ६० लाख पटक हेरिएको छ । उनका अन्य गीत ‘२०१४’, ‘ग्याम्बिलन’ औसत चले । यस वर्ष भिटेन गीतभन्दा अन्य कारणले चर्चामा रहे । भिटेन यस वर्ष सर्वाधिक अन्तर्राष्ट्रिय टुर गर्ने र्‍यापरमध्ये पर्छन् । वर्षकै डिमान्डेड र्‍यापरको रुपमा भिटेनको विदेशमा प्रतिकन्सर्ट पारिश्रमिक ३ देखि ४ लाख रुपैयाँ हाराहारीमा रहेको बताइन्छ ।

भिटेनले अमेरिका, जापान, मध्यपूर्व लगायतमा कन्सर्ट गरेका छन् । अमेरिकाभर उनको भिटेन टुर हिट रह्यो । वर्षको सुरुमा उनी जापान कन्सर्टमा आफ्नै टाउकोमा बोतलले फुटाएको घटनाले चर्चामा रहे । भिटेनले यस वर्ष फिल्ममा गीत पनि गाए । अनमोल केसीको फिल्म ‘छड्के २’ मा भिटेनले ‘छड्के खालास्’ गीत गाए । चाँडै उनी एक फिल्मको अभिनयमा डेब्यु गर्ने तयारीमा छन् ।

भिटेनपछि सन् २०२३ मा सर्वाधिक डिमान्डेड र्‍यापरमा महेश दोङ छन् । उनले यस वर्ष केही मुलुकमा टुर पनि गरे । अंग्रेजी नयाँ वर्षको छेकोमा जापानमा कन्सर्टको तयारी छ । दोङले यस वर्ष दुई गीत ल्याए जसमा ‘अँगाल्ने छु’ र ‘अनटाइटल सेकेण्ड’ गीत छन् । ओसिन कार्कीसँग मिलेर उनले गाएको ‘अँगाल्ने छु’लाई युट्युबमा ३६ लाख पटक हेरिएको छ ।

स्वभाविक रुपमा जी–बब यस वर्षका अर्का चर्चित र्‍यापर हुन् । उनी यस वर्षको लामो समय पुनर्स्थापना केन्द्रमा बसे । लागूऔषधबाट मुक्त भएर उनी संगीतमा फर्कन संघर्षरत छन । यसबीच उनले चार गीत ल्याए जसमा साथ छाड्न, तिम्रो चाहना, कसैलाई टेर्दिन म र गाह्रो बाटो छन् ।

र्‍यापप ब्याटल प्रतिस्पर्धा एएनटीएफबाट एकाएक उदाएका सुदीपले पछिल्लो वर्ष अष्ट्रेलियासहितका केही मुलुकमा कन्सर्ट गरे । उक्त ब्याटललगत्तै उनलाई केही मुलुकबाट कन्सर्टको अफर पनि आयो । ठीक एक वर्षअघि उनले ‘ए मेरो हजुर ४’को गीत ‘भाग भाग नदे अब धेरै धाक’ गीतबाट पार्श्व गायनमा डेब्यु गरे ।

वर्ष सुरु हुने बेला जी–बबलाई लिएर एएनटीएफ र उनको परिवारबीच पारिश्रमिक बाँडफाँटसहितका केही मुद्दामा समझदारी भएको थियो । पुनर्स्थापना केन्द्रमा जानुअघि जी–बबले पत्रकार सम्मेलन गरे, जसको निकै चर्चा भयो । जी–बब यतिबेला केही मुलुकमा कन्सर्टको तयारी गरिरहेको बुझिएको छ ।

डीएनएक्स यस वर्षका अर्का चर्चित नेपाली र्‍यापर हुन् । ‘नेपहपको श्रीपेच’ नामक रियालिटी शोबाट उदाएका उनले यस वर्ष ‘बैतादो भाग’ र ‘मेरी बाबरी’ गीत रिलिज गरे । यसबाहेक लेटर टु मम र जय शम्भो भोलेनाथको अडियो संस्करण पनि बाहिर ल्याए ।

र्‍यापर लाउरे यस वर्ष ‘हिमालय रोडिज’मा पनि व्यस्त रहे । उनी यस वर्षका विजेता ग्याङ लिडर समेत बने । उनको चर्चा यसवर्ष र्‍यापभन्दा पनि रोडिजको ग्याङ लिडरको रुपमा देखिएको छ । उनले यस वर्ष मौन र त्यही केटा हो गीत रिलिज गरे ।

जेहोस्, नेपाली र्‍यापले पछिल्लो वर्ष मौलाउने अवसर पायो । खासगरी टिकटक, रिल्सजस्ता भिडियो प्लाटफर्मले र्‍यापलाई मौका प्रदान गरे । आउँदो वर्ष एएनटीएफको नयाँ संस्करण हुनेछ भने अन्य केही र्‍याप टिभी रियालिटी शो पनि हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?