+
+

होलीमा पुरानै गीतको मिठास

रासस रासस
२०८० चैत ११ गते १३:३८

काठमाडौं । होली रङको मात्रै पर्व होइन, यो संगीतको पर्व पनि हो । होलीमा रङ जस्तै गीत संगीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीत संगीतको विशेष स्थान छ । तीज, दशैं, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि संगीतको विशेष महत्व छ । संगीतविना हाम्रा पर्व अधुरा छन् ।

‘होलीले रंगायो मेरो चोली…’ फिल्म अधिकारको यो गीत हरेकजसो होलीमा नछुट्ने गीतमा पर्छ । होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युबमा यो गीत बज्न सुरु भइहाल्छ ।

राजेश हमाल, मिथिला शर्मा, कृष्टि मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ ।

‘इन्द्रेणी रङ लिई आयो होली, फागुन महिनामा खेलौं होली, सरसरसर होली हो…’ शम्भुजीत बाँस्कोटाको संगीत रहेको यस गीतमा प्रकाश श्रेष्ठ र दीपानारायण झाको स्वर छ । गीतले होलीको महत्व अझ बढाएको छ ।

फिल्म ‘बसन्ती’मा समावेश ‘रातो रातो पहेंलो’, होस् वा ‘सीता’मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै प्रिय छन् । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण छ । यसलाई स्वभाविक रुपमा लिनुपर्ने संगीतकार अर्जुन पोखरेल बताउँछन् ।

पुराना गीतमा चाडपर्वको प्रसंग र सोही वातावरणमा गीत संगीतको दृश्यांकन गरिएकाले ती गीत कालजयी भएको संगीतकार पोखरेलको बुझाइ छ । ‘पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसंगसहित आएका थिए । त्यही भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीत संगीतले तुलनात्मक रुपमा बढी प्रचार पाउँछन् । सोही कारण पनि अहिले ती गीतहरू हामीले सुन्छौं र उत्तिकै मन पर्छ,’ उनी भन्छन् ।

गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउँछन् । नयाँ गीत आइरहेपनि उनलाई स्मरण छैन । ‘म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ । पुराना केही गीत जनजिब्रोमै छन्,’ गिरी भन्छन् ।

यद्यपि पछिल्लो होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन् ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व पहाडी र हिमाली जिल्लामा आज (आइतबार) हर्षोल्लासका साथ मनाइँदैछ भने तराई-मधेशका जिल्लामा सोमबार मनाइँदैछ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको जनविश्वास छ ।

यो पर्वमा गीत संगीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र बसन्त राग गाउँदै अबीर लगाएर शुभकामना आदानप्रदान गरिने भएपनि नेपाली फिल्मका केही कालजयी गीत छन्, जसले होली आएको आभास दिलाउने गरेका छन् । ती गीत गाउँ होस् या सहर उत्तिकै गुञ्जिन्छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?