+
+

मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना, आरोपी हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १८:४८

१२ पुस, धनुषा । मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि  पीडितहरु रातभर धर्ना बसेका छन् ।

विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए । बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । धर्नामा पासवान पनि बसेका थिए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए । निरौलालाई बुधबार अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक पासवानका अनुसार अदालतमै पीडितमाथि कुटपिट हुँदा प्रहरीले मिटरब्याजीलाई जोगाएर गाडीमा जिल्ला प्रहरी ल्याएका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । उल्टै लाठीचार्ज गर्दै धपाउने भनेर प्रहरीले धम्काएपछि रातभरि धर्ना बसेको उनको भनाइ छ ।

‘साँझ ६ बजे धर्ना बस्न खोजेपछि एकजना इन्सपेक्टर आएर लाठीचार्ज गरेर धपाउँछु भनेर हामीलाई धम्कायो अनि त्यहिबेला हामीले निर्णय लियौं जबसम्म जाहेरी दर्ता गर्दैनौ, त्यतिबेलासम्म धर्ना बसिरहन्छौं । अनि रातभर धर्ना बसेपछि आज बिहान ७ बजे जाहेरी दर्ता गर्यो,’ पासवानले भने ।

एसपी लिम्बुले भने पीडितलाई कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु विनाऔचित्य रातभर धर्ना बसेको बताए । ‘कुटपिट गर्नेलाई हिजै नियन्त्रणमा लिइसकेका थियौं । हिजो अबेला भएको कारण भोलि जाहेरी लिएर आउनुस् हामी दर्ता गर्छौं भन्दा मान्नुभएन । राति जाहेरी पनि लिएर अउनु भएको थिएन । रातभरि यतिकै धर्ना बस्नुभयो । अहिले अफिस खुलेपछि १० बजे जाहेरी दर्ता गरेका हौं । अब अदालत लगेर निरौलाको म्याद थप गराउँछौंं,’ एसपी लिम्बुले भने ।

पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए । छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवान बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?