१२ पुस, बुटवल । नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ की ७० वर्षीया लालकुमारी गौतम दमकी रोगी हुन् । उनी बिहान–दिउँसो घाम ताप्न आँगनमा निस्कन पाउँदिनन् । उनको घरको अगाडिको सडक धुलाम्य भएकाले एकछिन बाहिर बसे साँझमा उनको दम झन् बढ्छ ।
पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि बुटवलसम्मको खण्ड विस्तार सुरु भएको २०७५ सालमै हो । बस्ती क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेन फराकिलो बनाउने गरी विस्तार सुरु भए पनि काममा चरम ढिलाइ भयो । गौतमको घर अघिको खाल्डा जस्ताको तस्तै रह्यो । घरमा धुलोले बसिनसक्नु भयो ।
‘सडकपारिको क्रसर उद्योगबाट निस्किने धुवा–धुलोबाट हैरान थियौं’, उनी भन्छिन्, ‘सडकको धुलो थपिएपछि त बस्नै नहुने भयो ।’
बुटवल नारायणगढ सडकखण्डमा दिनहुँ सयौं गाडीहरु गुड्छन् । गाडी गुड्ने मुख्य लेनमा खाल्डैखाल्डा बनेका छन् । डोजरले खनेर थुपारेको माटो महिनौंसम्म व्यवस्थापन भएको छैन । दुईतर्फ थप्न लागिएका लेन कच्ची अवस्थामै छन् ।
विस्तार गरेपछि धेरैको घर छेउसम्मै सडक पुगेको छ । आँगनमा माटोको थुप्रो लागेको छ । बेलैमा सडक कालोपत्र भइदिएको भए फराकिलो सडक चिटिक्कको देखिन्थ्यो होला, वर्षौंसम्म काम अल्झाइरहेका कारण जताततै धुलोले ढाकेको छ । सडक आसपासको झाडी र फोहोर सफा गर्न ठेकेदार, नगरपालिका र स्थानीय बासिन्दा कसैले जाँगर गरेका छैनन् ।
सडकमा गाडी हुइँकिदा उड्ने धुलोको मुस्लो गाउँ नै ढाकिन्छ । ‘सास पनि धुलो खानकै लागि फेर्नुपरेको जस्तो भइसक्यो’, गौतम भन्छिन्, ‘बिहानदेखि रातिसम्मै उस्तै छ, हामीजस्ता बिरामीलाई त झन् मर्का छ ।’
गौतम मधुमेह र उच्च रक्तचापको पनि समस्या छ । केही वर्षअघि दमको समस्या थपिए पनि चापेको थिएन । ‘धुलो धुवा उड्न थालेदेखि दम बल्झेको बल्झ्यै छ’ उनी भन्छिन्, ‘अलिअलि बचेको सास पनि यही बाटोको धुलोले टिप्ला जस्तो छ ।’
२०७५ मा बनाउन सुरु गरिएको नारायणगढ–बुटवल खण्ड विस्तारको काम २०७८ को चैतमा सकिनुपर्ने हो । विस्तारमा भएको ढिलाइले सबैभन्दा बढी प्रभावित हुनेमा वृद्धवृद्धा र बालबालिका छन् । धुलो बढेपछि श्वासप्रश्वासम्बद्ध दम, निमोनिया जस्ता रोगहरुले बढी सताउन थालेको स्थानीयको गुनासो छ ।
पश्चिम नवलपरासीको सुनवलकी सूर्यकला रिजाल आफ्नी छोरीलाई पटक–पटक निमोनियाले सताएको बताउँछिन् । ‘डाक्टरले धुलोबाट जोगाउनु भन्छन्, घर सडक किनारमै भएपछि कसरी जोगाउने,’ उनी भन्छिन्, ‘चिसोबाट मात्रै जोगाएर नहुने रहेछ, अस्पताल पनि कति लानु, यो धुलोले बच्चाहरुलाई गाह्रो पार्ने रहेछ ।’
नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–१० भैसाखीकी ८७ वर्षकी भवी क्षेत्रीलाई पनि दमले च्याप्दै लगेको छ । बुढ्यौली उमेरले मात्रै दम बढेको हो भन्ने उनलाई लाग्दैन । बाटो बन्न थाल्नुअघिसम्म आफूलाई जाडो महिनामा मात्रै दमले सताउने गरेपनि अहिले बाह्रैमास नै सताइरहेको क्षेत्रीको गुनासो छ ।
उनलाई छोराबुहारीले धुलो र धुँवाबाट जोगिनु भन्छन् तर कसरी जोगिने ? ‘कहिले त सास नै रोकिएर प्राण नै जाला जस्तो हुन्छ, धुलो छल्छु भनेपनि केही उपाय छैन’, उनी भन्छन्, ‘अब यो उमेरमा घरमै नबसेर कहाँ जाने ?’
दीर्घरोगीहरुका लागिलाई पनि सडकको धुलो अभिसाप बनेको छ । दम र क्यान्सरसँग जुधिरहेकी भैसाखीकै ७० वर्षीया सरस्वती रावतलाई किमो चढाइरहनुपर्छ । डाक्टरले संक्रमणबाट जोगिन भनेका छन् । तर, धुलो ब्यहोर्नु उनको पनि दिनचर्या बनेको छ ।
‘बेला–बेलामा निसास्सिएजस्तो भइरहन्छ’, उनी भन्छिन्, ‘रोगको त औषधि उपचार लागिहाल्थ्यो । तर, धुलोले नै लैजाला जस्तो पो छ ।’
गैंडाडाकोट– १० थुम्सीमन सुरेश सदाशंकर सडक बन्न थालेखि खानामा पनि धुलो मिसाएर खानुपरेको गुनासो गर्छन् । जति सरसफाइ गरेपनि छिनमै धुलोको चाङ लाग्ने गरेको भन्दै उनले सरकारले जनताको जीवनमाथि खेलवाड गरिरहेको बताए ।
‘मेरै जहान २ वर्षदेखि बिरामीको बिरामी छ, अस्पतालले नाकमा एलर्जी भयो भन्छ, मासु पनि पलायो रे’ उनी भन्छन्, ‘धुलो र झिंगाले कुनै काल घर छोड्दैन, कुन चाहिं महामारी परेर मरिन्छ भन्ने डर छ ।’
१२ महिनै रुघा र खोकी
५ वर्षसम्म लगातार धुलो झेलिरहेका स्थानीयलाई सडक विस्तारको काम सकिन अझै कति वर्ष लाग्ने हो पत्तो छैन । त्यसैले धुँवाधुलोले अत्ताल्लिएकाहरु सडक फराकिलो बनाउने भन्दा पनि सफा बनाइदिए हुन्थ्यो भनिरहेका छन् ।
कावासोतीमा किराना पसल सञ्चालन गर्ने प्रकाशमान बोलखे वर्षयाममा अलपत्र छोडिएका नयाँ लेनहरुमा पानी जमेर लामखुट्टेको महामारी फैलिने जोखिम रहेको बताउँछन् । सडक विस्तार सुरु भएपछि नाला हेर्न पनि कसैले नचाहेको भन्दै उनले जहिलेसुकै रोग फैलिने जोखिम रहेको बताउँछन् ।
‘सरसफाइ नै नहुने भएपछि वर्षायाममा डेंगु र मलेरियाको डर हुन्छ’, उनी भन्छन्, ‘हिउँद लागेपछि धुलोले घाँटी समात्न कहिल्यै छाड्दैन, नाक खुल्न पाउँदैन ।’
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१५ की ७० वर्षीया च्यान्टीकुमारी श्रेष्ठको समस्या पनि उस्तै छ । ‘पहिले रुघा खोकी चिसो बेलामा मात्रै लाग्थ्यो’, उनले भनिन्, ‘अहिले त रुघा खोकी लागेन भने अनौठो मान्नुपर्छ ।’
राजमार्ग आसपासका बासिन्दाका अनुसार धुलो धुँवाले आँखा पोल्ने, आँशु आइरहने, घाँटी खसखसाउने, छाला चिलाउने जस्ता समस्याहरु धेरैजसोलाई छ । श्रेष्ठको भनाइमा घरमा मान्छे बिरामी परिरहनु सामान्य भएको छ ।
‘सडक बन्न थालेदेखि धुलोको कारण राम्रोसँग खान, बस्न र निदाउन पाएका छैनौं’, श्रेष्ठ भन्छिन्, ‘हामीलाई त सरकारले मरुन् भनेर छोडेजस्तै गर्यो ।’
चिकित्सक भन्छन् : आयु घट्दैछ
पूर्व–पश्चिम राजमार्ग छेउछाउका बासिन्दाहरुमा पछिल्लो समयमा रुघा, खोकीजस्ता स्वाप्रश्वास सम्बन्धी समस्या बढेको चिकित्सकहरु बताउँछन् । जिल्ला अस्पताल नवलपरासी पूर्वका प्रमुख डा. जितेन्द्र कँडेल पहिले–पहिले मौसम परिवर्तनका बेला मात्र स्वासप्रश्वास र रुघाखोकीमा बिरामी आउने गरेको, तर हिजोआज बाह्रै महिना यस्ता बिरामी बढेको बताउँछन् । ‘रुघा खोकीका बिरामीहरु सबै सिजनमा दिनहुँजसो भर्ना भइरहेका छन्’, उनी भन्छन् ।
श्वाप्रस्वास सम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या धेरै रहेको भन्दै कँडेलले सडक विस्तार योजनाबाट उड्ने धुलोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित देखिएको बताए ।
‘धुँलो धुवा लामो सयमसम्म हटेन, यस्तो भएपछि फोक्सोमा धुलोका कणहरु जम्मा हुँदै जान्छ’, उनले भने, ‘कालान्तरमा त्यसले एलर्जी, दम हुँदै निमोनियाको जोखिम बढाउँछ ।’
पहिले पहिले दमका रोगीहरु वर्षमा एक दुई पटक मात्रै परीक्षणको लागि आउने गरेकोमा अहिले दम बल्झिएर कतिपय त महिनैपिच्छे अस्पतालमा भर्ना भइरहेको उनको भनाइ छ । धेरैलाई तत्काल असर नदेखिए पनि कालान्तरमा स्वास्थ्य सम्बन्धी ठूलो समस्या आउने डा. कँडेल बताउँछन् ।
‘यही अवस्था लामो सयमसम्म रह्यो भने दीर्घरोगी र ज्येष्ठ नागरिकको आयु घट्छ’, उनी भन्छन्, ‘स्वस्थकर र गुणस्तरीय जीवनशैली नभएपछि रोगले सताउनु र च्याप्नु सामान्य नै हो ।’
सुनवल नगरपालिकाका सिनियर अहेब चुरामणि नेपाल पनि स्थानीय क्षेत्रमा धुलोको असरले वातावरण प्रभावित हुँदा मान्छेको स्वास्थ्यमा विभिन्न नकारात्मक प्रभावहरु देखिएको बताउँछन् । सुनवलका स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या बढ्नुमा धुलो पनि महत्वपूर्ण कारक देखिएको उनले बताए ।
‘कोभिडको महामारीपछि मान्छेहरु सरसफाइमा बढी सचेत छन्, तर पनि बिरामीलाई रुघाखोकी, दम र निमोनियाजस्ता रोग बारम्बार बल्झिरहेको छ’, उनी भन्छन्,‘यसले दीर्घरोगीहरुको संख्या बढ्ने जोखिम बढाएको छ, छिटो सडक बने जनस्वास्थ्यमा नराम्रो प्रभाव पर्ने थिएन ।’
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर
राजमार्गको दुर्दशा-१
राजमार्गको दुर्दशा-२
राजमार्गको दुर्दशा-३
राजमार्गको दुर्दशा-४
राजमार्गको दुर्दशा-५
 
                









 
                     
                                     
                                         
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4