+
+
किताब :

एलिसलाई प्रहरीले सोधे- तिम्रो लोग्ने कहाँ छ ?

उपन्यासमा श्रीमान्को कारण आफूले जागिर गुमाउन बाध्य माइक्रोबायोलजिस्ट महिला एलिसको व्यथा छ । उपन्यासको मूख्य पात्र नै उनी हुन्, जसलाई श्रीमान् बेपत्ता भएपछि सिंगै परिवार पाल्नुपर्ने सकस छ ।

केदारभक्त माथेमा केदारभक्त माथेमा
२०८० पुष १४ गते २०:४९

आइरिस लेखक पल लिन्चले प्रोफेट सङका लागि बुकर प्राइज पाउनुअघि नै मैले यो किताब पढ्न थालिसकेको थिएँ । अरु वर्षका बुकर विजेता किताबहरु पनि मेरो पुस्तकालयमा छन् । तर पल लिन्चलाई मैले बुकरसँग जोडेर पढेको होइन ।

यो उपन्यासमा एलिस नामक एउटी वैज्ञानिक अधवैंशे महिलाको संघर्ष कथा छ । आयरल्यान्डको चिसो हिउँदलाई पल लिन्चले अँध्यारो पारामा वर्णन गरेका छन् । एक किसिमले भन्ने हो भने यो उपन्यासभरि नै अँध्यारो छ । तर लिन्चले मनलाई एकदमै छुने खालको कथा बनाएका छन् ।

माइक्रोबायोलिस्ट एलिसका श्रीमान् ट्रेड युनियन आन्दोलनमा सक्रिय हुन्छन् । लेखकको कल्पना अनुसार आयरल्यान्ड अधिनायकवादतर्फ ढल्किँदै गएको छ । एलिस घरैमा बसिरहेका बेला ढोकामा कसैले ढकढक गरेको सुनिन्छ । सरकारी पुलिहरु श्रीमानको खोजी गर्न आएको बताउँछन् । उनीहरु घरिघरि सोधिरहन्छन्- तिम्रो श्रीमान् कहाँ छ ?

उपन्यास यसरी सुरु हुन्छ ।

पछि श्रीमानको गिरफ्तारी हुन्छ । बिस्तारै उसको नाम नै सुनिन छाड्छ । सरकार अझै अधिनायकवादी हुँदै जान्छ ।

श्रीमानको कारण आफले जागिर गुमाउनुपर्ने एलिसको व्यथा छ । उपन्यासको मूख्य पात्र नै उनी हुन्, जसलाई श्रीमान् बेपत्ता भएको, परिवारमा समस्यै समस्या भएको अवस्थामा आफैंले हेर्नुपर्ने सकस छ ।

१६-१७ वर्षको छोराले बुवा अर्थात् एलिसका लोग्नेको गिरफ्तारीविरुद्ध बोल्न थाल्नुपर्छ भनेर आवाज उठाउँछन् । मान्छेहरुमा विरोध सुरु हुन्छ । बिस्तारै छोराले पनि अभियानहरु चलाउँदै जान्छन् । कथा बढ्दै जाँदा उसको पनि खोजी गर्न थाल्छ प्रहरीले ।

आमाले छोरालाई प्रशासनको तारो हुनबाट बचाउनका लागि देशको सिमानाभन्दा पारि पठाउने, उतै पढाउने योजना गर्छिन् । छोरा चाहिँ अधिनायकवादी शासनको विरोध गर्न विद्रोही फौजमा भर्ना हुन पुग्छन् । त्यसपछि उसको के हुन्छ, कसो हुन्छ थाहा हुँदैन ।

अरु तीनजना छोराछोरी छँदैछन् । टिनएज छोरी मोली छिन् । उनको दुधे बालक भाई, महिलाका बुढा बा अल्जाइमरले ग्रस्त छन् । एलिसका सामु बुवाको समेत हेरविचार गर्नुपर्ने अवस्था छ । यी सबैखाले संघर्षमा ती महिला पर्दै जान्छिन् ।

पछि ती किशोर छोराको पनि सरकारले हत्या गर्छ । यसभित्र थुप्रै उपकथा छन् । एलिसलाई डब्लिन सहरकी महिला भएर सहरमा बस्न कठिन हुँदै जान्छ । क्यानडामा रहेकी उनकी दिदीले आयरल्यान्ड नबस, यता आऊ भन्दै बोलाउँछिन् ।

मैले धेरै वर्षअघि दक्षिण अमेरिकी लेखक मारियो भर्गास ल्होसाले लेखेको उपन्यास ‘फिस्ट अफ् द गोस्ट’ पढेको थिएँ । ल्होस्साको जति राजनीतिक त यो छैन । किनभने विद्रोहीहरुलाई शासकले कसरी यातना दिन्थे, ती शासकलाई विद्रोहीले कसरी मारेर फाले भन्ने वर्णन सबै त्यो किताबमा छ । लिन्चको यो किताबमा चाहिँ त्यस्तो प्रकृतिको वर्णन छैन

एलिस आफ्नो देशमा बस्न नसकिने निष्कर्ष निकाल्दै क्यानडामा रहेकी आफ्नी दिदीको घरमा जाने प्रयास गर्छिन् । तर सिमाना पार गर्नकै लागि कठिन हुन्छ । उनले अझ दुःख पाउँदै जान्छिन् । उनी एउटा डुंगामा चढ्दै गरेको दृश्य उपन्यासमा वर्णन हुन्छ ।

अब यसबाहेक धेरै कथाहरु खुलाउनु उचित नहोला । उपन्यासको आनन्द उठाउनका लागि किताबमै पस्नुपर्छ ।

पल लिन्चले हामीलाई कुनै पाठ सिकाउनलाई किताब लेखेका त होइनन्, तर हामीलाई यसबाट स्वतः केही शिक्षाहरु मिल्छ । उनले आफ्नो साहित्यिक किताबमार्फत् असाध्यै शक्तिशाली ढंगले भनेका छन् । सरकार निरंकुश हुँदै गयो भने नागरिकले कसरी दुःख पाउँछन् भन्नेबारे देखाएका छन् । महिलाहरुले घरभित्र भोग्ने कुरा त छँदैछ । सरकारसमेत अनुदार भयो भने उनीहरुलाई कति धेरै दुःखहरु आइपर्छ भनेर उपन्यासकारले लेखेका हुन् । कहिले जासुस लगाएर, कहिले प्रहरी लगाएर नागरिकलाई अत्याचार गर्ने आयरल्यान्डको प्रहरीबारे किताबले असाध्यै शक्तिशाली ढंगले भन्छ ।

किताब लेख्ने लिन्चको शैलीसँग सबै पाठक घुलमिल नहुन सक्छन् । कतिपय ठाउँमा कथा बग्नलाई असहज भएजस्तो पनि हुन्छ । उद्धरण, अर्धविराम, वाक्यगठन, अनच्छेद निर्माण गर्ने लिन्चको आफ्नै शैली छ । प्रोटागोनिस्ट महिला आफैं वैज्ञानिक छिन्, जबकि उनको जागिर नै गुम्छ । त्यसमाथि घरका सबै सदस्यको आफैंले हेरचाह गर्नुपर्ने छ ।

बुढा बा अल्जाइमरग्रस्त छन्, जसको बिर्सने, रिसाउने, झर्किने बानी छ । ‘मेरो घरमा तँ किन आइस्’ भनेर आफ्नै सन्तानहरुलाई कराउने खालको बिमारी छ । टिएजमै अर्की छोरीको घरायसी जिम्मेवारी कति धेरै बढेको छ । यी सबै कुराहरु एउटै उपन्यासमा असाध्यै मर्मस्पर्शी ढंगले अँटाएका छन् ।

केही ठाउँमा बाहेक सरर्र बढेको कथा छ ।

राजनीतिक प्रसंग आए पनि यो राजनीतिक उपन्यास भने होइन । मैले धेरै वर्षअघि दक्षिण अमेरिकी लेखक मारियो भर्गास ल्होसाले लेखेको उपन्यास ‘फिस्ट अफ् द गोस्ट’ पढेको थिएँ । ल्होस्साको जति राजनीतिक त यो छैन । किनभने विद्रोहीहरुलाई शासकले कसरी यातना दिन्थे, ती शासकलाई विद्रोहीले कसरी मारेर फाले भन्ने वर्णन सबै त्यो किताबमा छ । लिन्चको यो किताबमा चाहिँ त्यस्तो प्रकृतिको वर्णन छैन ।

उपन्यास अँध्यारो किसिमले सुरु हुन्छ, आइरिस हिउँदजस्तै । उपन्यास अँध्यारो किसिमले नै सकिन्छ, आइरिस हिउँदजस्तै ।

प्रोफेट सङलाई मैले आनन्दकै लागि पढें । तर यसले मानवता नै फराकिलो पारिदिन्छ । त्यो किताबमा वणिर्त देश र समयको अनुभूतिलाई एसियाको पाठकले पनि पात्रहरुमार्फत् महसुस गर्न सक्छ । उपन्यासको शक्ति नै त्यही हो । हामी पाठकहरु पात्रमा छिर्छौं । आफूले अनुभव गर्न नपाएका कुरा पनि पात्रकै मार्फत् अनुभव गर्न पाउँछौं । उपन्यासमा हुने भाषाका खेलहरुमा रमाउँदै पेन्सिलले चिनो लगाउँदै पढ्छौं ।

म फिक्सन र ननफिक्सन् दुवै पढ्ने गर्छु । संसारमा यस्ता घटनाहरु र वर्णनहरु छन्, जसलाई योजना आयोगका रिपोर्टहरुले भन्दा धेरै राम्रोसँग उपन्यासहरुले बताउँछन् । म हारुकी मुराकानी जोन स्टेइनबेक लगायत धेरै लेखकहरु पढ्ने गर्छु । अरुन्धती रोय, हान काङजस्तै मैले रुचाएर पढ्ने सूचीमा पल लिन्च पनि परेका छन् ।

(पूर्वउपकुलपति माथेमाले त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी साहित्य पढाए । विश्वसाहित्यका विभिन्न विधाहरु अहिले पनि पढिरहने माथेमासँग अनलाइनखबरले यस वर्षको बुकर प्राइज विजेता पल लिन्चको उपन्यास ‘प्रफेट सङ’ बारे भिडियो प्रस्तुति दिन अनुरोध गर्‍यो । यो सम्पादित सामग्रीको पूरा भिडियो अनलाइनखबरको युट्युब तथा फेसबुकमा हेर्न सकिन्छ ।)

भिडियो तथा तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?