+
+

मर्दी जाने पदयात्रीसँग शुल्क उठाएको विरोधमा पालिकाको सूचना केन्द्रमा तोडफोड

निर्णय फिर्ता नलिएसम्म काम गर्न नदिने व्यवसायीको अडान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १६:५४

१५ पुस, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी पदयात्रामा जाने पदयात्रीका लागि शुल्क उठाउन बनाएको सूचना केन्द्र व्यवसायीले आइतबार तोडफोड गरेका छन् ।

पालिकाले शुल्क उठाउँदा पर्यटकको संख्या घटेको भन्दै उनीहरुले हुमाल (हुक्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै कागजात पनि लिएर गएका गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले जानकारी दिए ।

गाउँपालिकाले कात्तिक १७ गतेबाट मर्दी पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउन सुरु गरेको थियो । प्रवक्ता आचार्यका अनुसार गाउँपालिकाका तर्फबाट लोक्याम्पमा २ जना कर्मचारी शुल्क उठाउन खटाइएको थियो ।

‘बिहानै उहाँहरुले हाम्रो डेस्क तोडफोडसँगै त्यहाँ रहेको फाइल पनि लैजानुभएछ । काम गर्ने २ जना भाइले पनि काम गर्न सक्ने स्थिति रहेन’, प्रवक्ता आचार्यले अनलाइनखबरसँग भने, ‘गाउँ सभाबाटै पारित भएर लागू भएको यो निर्णयमा सुरुमा विरोध गर्नुभएको थिएन । अहिले किन त्यसरी उत्रिन थाल्नुभयो, थाहा भएन ।’

गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठाउन गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको थियो । उक्त ऐन अनुसार पालिकाले गत कात्तिकदेखि स्वदेशी पर्यटकसँग १०० रुपैयाँ र विदेशी पर्यटकसँग ५०० रुपैयाँ उठाउँदै आएको थियो ।

माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमालमा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा गाउँपालिकाले शुल्क उठाउँदै आएको छ । पालिकाले शुल्क उठाउन सुरु गरेको पहिलो महिनामै १२ लाख रुपैयाँ संकलन गरेको थियो ।

‘व्यवसायीले पर्यटकहरु तेहोरो मारमा परेको तर्क गर्नुभएको छ । तर, उहाँहरुले टान (ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल) र एक्याप (अन्नपूर्ण संरक्षण आयोजना)ले चर्को शुल्क उठाउँदा त्यसको त विरोध गर्नुभएको छैन नि ?’ आचार्यले भने, ‘पालिकाले उठाएको रकम व्यक्तिगत खातामा जाने होइन, राज्यकै खातामा जाने हो ।’

आचार्यले पालिकाले कानुनअनुसार स्थानीय स्रोत र साधनको उपभोग गर्न पाउने नीति टेकेर नै उक्त नियम लागू गरेको दाबी गरे ।

व्यवसायी आन्दोलनमा

पर्यटकसँग शुल्क नउठाउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले आफूहरुले नै बन्द गरिदिनुपरेको मर्दीका पर्यटन व्यवसायीले तर्क गरेका छन् । पालिकाले प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी तथा मर्दी क्षेत्रका पर्यटकसँग सरोकार भएका सबै गतिविधिमा नकारात्मक असर परेको व्यवसायीको जिकिर छ ।

पर्यटकसँग प्रवेश शुल्क उठाउने पालिकाको कदमविरुद्ध मर्दीका पर्यटन व्यवसायी रुमबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति बनाएका छन् । पालिकाले आफ्नो निर्णय फिर्ता नलिँदासम्म शुल्क उठाउन नदिने समितिको अडान छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथ व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङले पालिकालाई औपचारिक तथा अनौपचारिक रुपमा सुरुदेखि नै पटकपटक ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको बताए ।

‘हामी पनि छलफलबाट, वार्ताबाट सहमति गरेरै जाने पक्षमा थियौं । तर, पालिका आफैंले अटेरी गर्‍यो । पालिकाको निर्णयका कारण उल्लेख्य पर्यटक घटेका छन्’, संघर्ष समितिका सदस्यसमेत रहेका तामाङले भने, ‘पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर बन्द गरेका हौं ।’

तामाङले पालिकाको निर्णयविरुद्ध शुल्क उठाउन रोक बन्द गरिदिए पनि तोडफोड तथा सामान जफत नगरेको दाबी गरे ।

पालिकाले शुल्क उठाउन सुरु गरेपछि मर्दीका पर्यटन व्यवसायीले मंसिर दोस्रो साता ध्यानाकर्षण पत्र बुझाएका थिए । उक्त पत्रमा पदयात्रीले विभिन्न शीर्षकमा कर तिर्नुपर्दा पर्यटक घटेको उल्लेख गरिएको थियो ।

तोडफोडबारे माछापुछ्रे गाउँपालिकाको विज्ञप्ति हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?