+
+
जाजरकोट भूकम्प :

उजाड छन् बस्ती, कठिन छ त्रिपालमुनिको बसाइ (तस्वीरहरू)

यज्ञ खत्री यज्ञ खत्री
२०८० पुष १७ गते २०:४२

१७ पुस, सुर्खेत । गत कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको मंगलबार दुई महिना पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।

त्रिपाल मुनि बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना कपडाहरू छैनन् । बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई त्रिपाल मुनिको बसाइ थप कठिन छ । जाजरकोट सदरमुकाम खलंगादेखि भेरी नदी वारिपारि रुकुम पश्चिमको आठबिसकोट राडी बजारसम्म त्यस्ता दर्जनौँ बस्तीहरू छन्, जो उजाड बनेका छन् ।

भूकम्प गएको एक महिनाभित्रै पीडितका लागि अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको सरकारले दुई महिना बित्दा पनि पहिलो किस्ता बाफतको २५ हजार रुपैयाँ अहिलेसम्म पीडितको खातामा नपठाएको जाजरकोटको नलगाड नगरपालिका-१२ का स्थानीय अगुवा दानबहादुर परियार बताउँछन् । ‘हाम्रा समस्या सुनाइ नसक्नु छन् । पहिलो किस्ताको रकम हामीले अझै पाएका छैनौं,’ दानबहादुरले अनलाइनखबरसँग भने, ‘पैसा कहिले पाउँछौं, टहरा कहिले बनाउँछौं, कुनै टुंगो छैन ।’

भूकम्पले सबैभन्दा धेरै मानवीय क्षति भएको नलगाड नगरपालिका वडा नम्बर १ मा रहेको चिउरी गाउँ उजाड देखिन्छ । यो बस्तीमा केही राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले २०-२५ वटा अस्थायी टहरा बनाइदिएका छन् ।

तर राज्यको तर्फबाट अहिलेसम्म अस्थायी टहरा निर्माणमा कुनै पनि काम हुन नसकेको सोही क्षेत्रका युवा महेश चदारा बताउँछन् । ‘राजनीतिक दल र विभिन्न संघ संस्थाहरुले केही टहरा बनाइदिएका छन् । तर २ महिना बित्दा पनि सरकारको उपस्थिती यो बस्तीमा छैन,’ उनी भन्छन् ।

२०० बढी घरधुरी रहेको चिउरीमा ८० प्रतिशत घरहरू पूर्णरुपमा क्षति भएका छन् । रहेका अन्य घरहरू पनि बस्न नमिल्ने खालका छन् । सिंगो गाउँ नै त्रिपालमुनि बस्दै आएको छ ।

दुई महिनादेखि त्रिपालमुनि नागरिकहरूले कष्टकर दैनिकी गुजारीरहेका छन् । दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको भूकम्प पीडितहरु बताउँछन् । ‘बिहान उठ्दा तुसारोले त्रिपाल भिलेको हुन्छ । एकछिन पछि तपतप पानी चुहिन थाल्छ’ बारेकोट गाउँपालिका-१, सिर्पाचौरका विरेन्द्र बस्नेत भन्छन्, ‘पुस-माघमा त्रिपालमुनि बस्दा चिसोले गाउँका धेरैजनाको मृत्यु भइसकेको छ ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?