+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

रासस रासस
२०८० पुष १७ गते १४:११

१७ पुस, ढोरपाटन । निसीखोला गाउँपालिका-६ का ७४ वर्षीय वीरमान बुढामगर भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्छन् । तर हिजोआज ऊनबाट बनेका कपडा बिक्री हुन छाडेको उनको भनाइ छ ।

‘हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गर्थ्यौ, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,’ उनी भन्छन् ।

उनी अहिले पनि प्रायःजसो भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्छन् । पहिले जोडमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ऊनकै कपडा बढी प्रयोग हुन्थे तर हिजोआज गाउँघरमा पनि  सबै प्रकारका कपडा आउन थालेपछि परम्परादेखि चलनचल्तीमा आएका भेडाका रौँका कपडा कम प्रयोग हुने गरेको उनको भनाइ छ  ।

भेडापालक किसान घट्दै गएकाले तिनको भुत्लाबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुँदै आएको छ । पहिले गाउँका हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायत कपडा बुन्ने सीप थियो तर  अहिले थोरैले मात्र कपडा बुन्ने काम गर्दै आएको बुढामगर बताउँछन् ।

दिनप्रतिदिन बजारको सुविधा गाउँमा पनि पुग्न थालेसँगै गाउँका मौलिक संस्कृति ओझेलमा पर्दै गएको र युवा पुस्ताले ऊनबाट बनेका कपडा प्रयोग गर्नाको साटो विदेशी महङ्गा कपडा लगाउन खोज्ने गरेको उनको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ की बिनु पुनमगर अहिले पनि फुर्सदमा तिनै भुत्ला बाटेर कपडा बनाउने गर्छन् । घर्किंदो उमेरमा पनि उहाँ निकै आकर्षक कपडा बुन्ने गर्छन् । तर धेरै समय लगाएर तयार भएका कपडा बिक्री भने नहुने पुनमगरको गुनासो छ ।

११ वर्षको उमेरदेखि  आमा, हजुरआमा र छिमेकीहरुबाट कपडा बनाउन सिकेका उनी डेढ दशक अगाडिसम्म निकै व्यापार हुने गरे पनि अहिले एउटा पनि बिक्री गर्न नसकेको बताउँछन् ।

‘हाम्रो जमानामा अहिलेको जस्तो लुगा पाउन मुस्किल हुन्थ्यो, गाउँघरमै बनाएर लगाउने गरिन्थ्यो, जसरी भए पनि जाडो छेक्न पाए हुन्थ्यो, एकपटक बजारबाट ल्याएको कपडा वर्षौंसम्म लगाइन्थ्यो तर अहिले त गाउँगाउँमा लुगा पसल आए, जतिबेला किने पनि भयो, जस्तो किने पनि भयो’, पुनमगर भन्छन्, ‘उतिबेला अहिलेको जस्तो सुविधा थिएन, एक जोर कपडा किन्न हजारौँ खर्च गरेर बजार पुग्नु पर्थ्यो, त्यसबेला धेरै काम्लो, बख्खु र भाङ्ग्रा बिक्री हुन्थे अहिले ती कपडा कसैले पनि किन्दैन, कहिलेकाहीँ विदेश जानेले मात्र रहर गरेर लैजान्छन् ।’

पश्चिम बागलुङको माथिल्लो क्षेत्रमा यदाकदा ऊनका कपडा देखिन्छन् । यस क्षेत्रमा बस्ने अधिकांश मानिस भेडापालन गर्ने हुँदा ऊनका कपडा बढी लगाउने गर्थे । एकै परिवारले हजारौँ भेडा पाल्ने हुँदा तिनका भुत्लाबाट कपडा बनाउने गरिन्थ्यो ।

पछिल्लो समय युवा पुस्ताले सहर बजार र विदेश रोज्न थालेपछि भेडापालन नै सङ्कटमा पर्ने डर बढेको छ । वर्षौं पहिलेदेखि पुस्तान्तरण हुँदै आएको भेडापालनमा अहिले कमी आएको छ । अहिले पनि माथिल्लो खर्कहरुमा पुग्दा भेडाका बथान भेटिन्छन् ।

भेडापालन गर्ने अधिकांश बूढापाका नै हुन्छन् । भुत्लाबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडाले वर्षाबाट ओत दिनाका साथै हिउँमा जाडो छेक्ने गर्मीमा घाम छेक्ने हुँदा निकै उपयोगी मान्छिन् ।

तमानखोला गाउँपालिका-३ का भीमबहादुर रोका अहिले पनि भुत्लाबाट धेरै थरीका कपडा बनाउँछन् । सयौँको सङ्ख्यामा भेडा पालेका उनी हिउँदमा बेँसी र बर्खामा लेकमा बिताउने गर्छन् ।

लेक-बेँसीमा बस्दा रोका फुर्सद निकालेर काम्लो, हापदुला र बख्खु बने । गाउँघरमा बिक्री नहुने कपडालाई उहाँ विदेश पठाउने गर्छन् । एउटा बख्खुको रु २० हजारदेखि ४० हजारसम्म पर्छ । पहिले-पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?