+
+

भूकम्पसँगै जिउन कसरी सिक्यो जापानले ? यस्तो छ सफलताको कथा

रूपर्ट विंगफ़ील्ड-हेस रूपर्ट विंगफ़ील्ड-हेस
२०८० पुष १८ गते ११:११
सन २०२४ को पहिलो दिन गएको भूकम्पछिले क्षति गरेको मध्य जापानको एक घर

करिब १३ वर्षअघि जापानमा भयानक भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीसँगै फुकुशिमा परमाणु संयन्त्र दुर्घटना भएको थियो ।

यो घटना जापानीहरुको मानसपटलमा अझै पनि ताजा छ र सोमबारको भूकम्पले उक्त घटनाको पुनः सम्झना गराएको छ । सोमबार शक्तिशाली भूकम्पको झट्काले जापानको इशिकावा हल्लियो र जापानमा सुनामीको अलार्म बज्न थाल्यो ।

यद्यपि यी अलार्म चेतावनीहरु जापानमा नितान्त असामान्य होइनन् । जापानमा छिटोछिटो आउने भूकम्पका झट्काहरु त्यहाँको जनजीवनको हिस्साजस्तै हुन् । अर्थात् भूकम्पसँग त्यहाँका बासिन्दा अभ्यस्त भएका छन् ।

विश्वमा सबैभन्दा धेरै भूकम्प जानेमध्येको एक देश जापानमा बस्नेहरुको मनमा एउटा कुरा सधै खेलिरहेको हुन्छ-अब अर्को ठूलो भूकम्प कहिले आउँला ? के म बसेको घर त्यस्तो भूकम्पका लागि सुरक्षित छ ?

सन् २०११ मा जब २ मिनेटसम्म धर्ती हल्लियो

वर्तमान जापानी पुस्ताले सन् २०११ को मार्च ११ मा गएको भूकम्पलाई नै आफ्नो जीवनको सर्वाधिक भयानक भूकम्प मान्दछ । त्यसबेला दुई मिनेटका लागि जमीन यसरी हल्लिएको थियो कि आफ्ना पूरै जीवनमा कसैले पनि यस्तो खालको अनुभव गरेको थिएन । भूकम्पको कम्पन चलिरह्यो, चलिरह्यो ।

यो घटनाबाट गुज्रिएको जो कोहीले पनि त्यो समय आफू कहाँ थिएँ र कस्तो डर महसुस गरेको थिएँ भन्ने कुरा विस्तारमा बताउन सक्दछ । तर त्यसभन्दा पनि खराब हालत त त्यसपछि आउनेवाला थियो ।

४० मिनेटभित्रै पहिलो सुनामी तटतर्फ आयो । जापानको उत्तरपूर्वी तटमा सयौं किलोमिटरभित्र समुद्रको आसपासका पर्खालहरु तोड्दै सहर र गाउँहरुमा सामुद्रिक छालहरु घुसे । सेन्डाइ सहर माथिको आकाशमा उडिरहेको हेलिकप्टरले उक्त घटनाको प्रत्यक्ष रुपमा टेलिभिजनमा देखाएको थियो ।

त्यहीबेला त्यसभन्दा पनि अर्को डरलाग्दो खबर आयो कि परमाणु ऊर्जा भट्टी समेत खतरामा छ ।

अन्ततः फुकुशिमास्थित आणविक ऊर्जा संयन्त्रमा सुनामीले क्षति पुर्‍यायो । लाखौं मानिसलाई आफ्नो घर छाड्न आदेश दिइयो । यहाँसम्म कि टोक्योसमेत असुरक्षित ठानिएको थियो ।

त्यसदिनको घटनाले मानिसहरुलाई गहिरो आघात पार्‍यो ।

केही महिनापछि मैले टोक्योमा बस्नका लागि ठाउँ खोज्न सुरु गरें । मेरी पत्नीले भूवैज्ञानिक नक्शाहरुको अध्ययन गरिन् ताकि कुनकुन ठाउँको तल चट्टान छ र कुन ठाउँ नदिउकासको जग्गा हो भन्ने कुरा थाहा पाइयोस् । उनले भवनहरुको उमेरका बारेमा पनि निकै गहन ढंगले जाँच गरिरहेकी थिइन् । सन् १९८१ भन्दा अअगाडि बनेका घर हेर्दै नहेर्ने भन्ने कुरामा उनी दृढ थिइन् ।

जापानको सफलताको कथा

कतिपय फुटकर घटनाका बाबजुत वास्तवमा जापानले भूकम्प प्रतिरोधी क्षमतामा महारथ हासिल गरेको छ । तथापि दुनियाँमा यस्तो खालका ठूला भूकम्पका झट्का सहँदा कुनै पनि क्षति नबेहोर्ने देश कुनै अरु होला भनेर कल्पना गर्न पनि गाह्रो पर्छ

जब हामी आफ्नो सन् १९८५ मा निर्मित भवनमा बस्न आयौं तब खाना तथा पानी जम्मा गर्न सुरु गर्यौं । बाथरुमको सिंकमुनि पहिलेदेखि नै प्याक गरिएका डब्बाहरु राख्यौं, जसभित्र राखिएका सामानलाई ५ वर्षसम्म उपयोग गर्न सकिन्थ्यो ।

सन् २०११ को डर यो सोमबार पुनः फर्किएर आयो । तर पछिल्लो भूकम्पले जापानको सफलताको एक उल्लेखनीय कथालाई पनि प्रस्तुत गर्दछ ।

जापानले देशमा जाने भूकम्पलाई यसको तीव्रताको आधारमा मापन गर्दैन । त्यहाँ भूकम्पबाट जमिन कति पटक कम्पन भयो भन्ने हेरिन्छ । त्यसक्रममा भूकम्पको तीव्रता १ देखि ७ सम्म पुग्छ र सोमबार इशिकावामा गएको भूकम्प अधिकतम ७ पटक आएको थियो।

भूकम्पका कारण ठूलो परिमाणमा सडक तथा पुलहरु ध्वस्त भएका छन् । त्यसभन्दा ठूलो परिमाणमा भूस्खलन भएका छन् । तथापि अधिकांश भवनहरु भत्किएनन् ।

टोयामा तथा कानाजावा जस्ता ठूलो सहरमा जनजीवन पुनः सामान्य अवस्थामा फर्किएको छ । काशिवाजाकी नजिक बस्ने एक मित्रका अनुसार भूकम्प वास्तवमा निकै डरलाग्दो थियो ।

उनले भनेका छन्, ‘अहिलेसम्म मैले यसभन्दा ठूलो भूइँचालो महसुस गरेको थिइनँ । हामी सामुद्रिक तट छाडेर टाढा जानुपर्यो । तर अहिले हामी घर फर्किएका छौं र सबै कुरा ठीकठाक छ ।’

इन्जिनियरिंगको सफलता

यो इन्जिनियरिंगको सफलताको एक असाधारण कहानी हो जुन एक शताब्दीअघि सन् १९२३ मा सुरु भएको थियो जतिबेला टोक्योमा भयानक भूकम्प आएको थियो ।

गे्रेट कान्तो भूकम्पको नामले प्रसिद्ध उक्त भूकम्पका कारण सहरको एउटा ठूलो हिस्सा ध्वस्त भएको थियो । युरोपेली शैलीमा निर्मित आधुनिक इँटाका भवनहरु ढलेका थिए ।

उक्त दुर्घटनापछि जापानले पहिलो भूकम्प प्रतिरोधी भवन संहिता तर्जूमा गरी लागू गर्‍यो । त्यसपछि बन्ने सबै नयाँ भवनका लागि स्टिल तथा कंक्रिटको प्रयोग अनिवार्य भयो । त्यस्तै काठका भवनका लागि मोटा बिमहरु हृुनुपर्ने नियम लागू भयो ।

हरेक पटक जब जापानले ठूलो भूकम्पको सामना गर्दछ तब क्षतिको आँकलन गरिन्छ र त्यसलाई नियममा परिणत गरिन्छ । सबैभन्दा ठूलो परिवर्तन सन् १९८१ मा भयो जब नयाँ भवनका लागि भूकम्प प्रतिरोधी नयाँ नियमहरु लागू गरियो ।

त्यस्तै सन् १९९५ मा कोबे भूकम्पपछि अझै थप नियमहरु त्यसमा जोडियो ।

सन् २०११ मा ९ रेक्टर स्केलको भयानक भूकम्पपछि उल्लेखित उपायहरुको सफलता देखियो । सन् २०११ को भूकम्प जापानको राजधानीले सन् १९२३ मा महसुस गरेको जत्तिकै भयानक भूकम्प थियो ।

सन् १९२३ मा टोक्यो सहर समतल बनेको थियो र १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यस्तै सन् २०११ मा भूकम्पपछिको सुनामीमा गगनचुम्बी भवनहरु बगेका थिए । तर त्यसबाहेक भूकम्पको कम्पनका कारणले कुनैपनि ठूला भवन ढलेका थिएनन् ।

त्यसबेला भूकम्पका कारण नभई सुनामीका कारण हजारौं मानिसको मृत्यु भएको थियो । जबकि जमीन हल्लिएर कुनै संरचना भत्किएका कारण कसैको पनि ज्यान गएको थिएन।

इशिकावाबाट भने यस्ता तस्वीर आएका छन् जसमा काठका भवनहरु भूकम्पका कारण ढलेका छन् र एउटा आधुनिक भवन समेत ढलेको छ । तर सञ्चारमाध्यमहरुका अनुसार भूकम्पका कारण ढलेको सो आधुनिक भवन सन् १९७१ मा निर्माण भएको हो ।

उक्त दुर्घटनामा केही मानिसको मृत्यु हुनुका साथै केही घाइते समेत भएका छन् ।

कतिपय फुटकर घटनाका बाबजुत वास्तवमा जापानले भूकम्प प्रतिरोधी क्षमतामा महारथ हासिल गरेको छ । तथापि दुनियाँमा यस्तो खालका ठूला भूकम्पका झट्का सहँदा कुनै पनि क्षति नबेहोर्ने देश कुनै अरु होला भनेर कल्पना गर्न पनि गाह्रो पर्छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?