+
+

नेपाल-भारत संयुक्त आयोगको बैठक आज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ६:३१
Photo Credit : Reuters

१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् ।

कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो ।

त्यसयता रोकिएको बैठक सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो । बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

जयशंकरको भ्रमणका क्रममा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् ।

नेपालमा रहँदा जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने छन् ।

जयशंकर नेतृत्वको भारतीय टोली परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछ ।

संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?