+
+

गोरखामा निकासी करको नाममा मनपरी असुली

ठेक्का एउटाको, असुली अर्काको

विकास मरहट्टा विकास मरहट्टा
२०८० पुष २० गते १९:२३

२० पुस, गोरखा । गोरखा र पालुङटार नगरपालिकाबाट निकासी हुने बस्तुहरुमा ठेकेदारले मनपरी कर उठाउने गरेको पाइएको छ । सम्झौतामा उल्लेख निकासी करको दररेट भन्दा तेब्बर बढी रकम लिने गरेको पाइएको हो ।

सूचीमा नरहेको आल्मुनियमको प्रतिकेजी ३० रुपैयाँका दरले निकासी कर असुल गरेको गोरखा सदरमुकामका व्यापारी बिचारी थापाले गुनासो गरे । ‘पाँच सय किलो सामानमा तामाका चार वटा जति गाग्री, करिब चार किलो पित्तलका भाडा थिए, बाँकी सबै आल्मुनियम थियो,’ उनले भने, ‘तर सबै सामानको प्रतिकेजी ३० रुपैयाको दरले कर लियो ।’

यसअघि आल्मुनियमको निकासी कर प्रति केजी ५ रुपैया तिर्दै आएको जानकारी गराउँदै उनले दररेट भन्दा महँगो रकम ठेकेदारले लिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

चालु आर्थिक बर्ष निकासी कर संकलनका लागी गोरखा नगरपालिकासँग शिखर कन्स्ट्रक्सन र पालुङ्टार नगरपालिकासँग शुभम निर्माण सेवाको ठेक्का सम्झौता भएको हो । यी दुई फरक कम्पनी भएपनि संचालक भने एउटै व्यक्ति बासु पुडासैनी रहेका छन् ।

सम्झौताको दररेट अनुसार तामा र पित्तलको निकासी कर प्रतिकेजी ३० रुपैया छ । आल्मुनियमको भने सूचीकृत गरिएको छैन । तामा र पित्तल सरह आल्मुनियमको कर लिन नमिल्ने नगरपालिकाका राजश्व शाखा प्रमुखहरु बताउँछन् । ‘तामा र पित्तल सरह आल्मुनियमको कर लिन मिल्दैन, सम्झौतामा आल्मुनियम भनेर उल्लेख भएको रहेनछ, यसमा फलामको भन्दा एक/दुई रुपैया बढी लिन मिल्छ तर ३० रुपैया लिन पाइदैन,’ पानपाका राजश्व शाखा प्रमुख सरोज थापाले भने । फलामको निकासी करको दररेट प्रति केजी एक रुपैया रहेको समेत उनले जानकारी दिए ।

यता गोरखा नगरपालिकाका राजश्व शाखा प्रमुख किरण कट्टेलले पनि आल्मुनियमको दररेटको बिषयमा सोही कुरा दोहोर्‍याए । तर ठेकेदारले भने मनपरी रकम उठाउँदै आएको छ ।

सम्झौता विपरित ठेकेदारले तोकिएको स्थानभन्दा फरक ठाउँमा बसेर कर उठाउने गरेको समेत खुलासा भएको छ । गोरखा नगरपालिकामा बसेर पालुङटार नगरपालिकाको नाममा कर उठाउने गरेको खुलासा भएको हो ।

मनपरी कर लिएको भन्दै गुनासो गरेका व्यापारी थापाले गोरखा नगरपालिकाबाट निकासी भएको सामानको कर पालुङटार नगरपालिकालाई तिर्नुपरेको बताए ।’गोरखा नगरपालिकाबाट सामान निकासी भएको हो, मझुवा नजिकैको नाकामा बसेर कर उठाउनु भएको छ तर रसिद भने पालुङटार नगरपालिकाको दिनुभएको छ, मैले त कुरै बुझ्न सकिन,’ थापाले भने ।

एउटा पालिकामा बसेर अर्को पालिकाको रसिद काट्न नपाइने गोरखा नगरपालिकाका राजश्व शाखा प्रमुख कट्टेलले बताए । ‘मलाई पनि यसबारेमा खवर आएको थियो, मैले ठेकेदारलाई हाम्रो पालिकाको नाकामा बसेर पालुङटारको कर नलिन भनिसकेको छु,’ उनले भने ।

पानपाका राजश्व शाखा प्रमुख थापाले निकासी कर संकलनका लागि पालिकाभित्रै दशवटा स्थान तोकिदिएको बताए । ‘कर संकलन गर्न भनेर हामीले पालिकाभित्रैका दश स्थान तोकिदिएका छौ, त्यो स्थानभन्दा अन्यत्र बसेर कर उठाउन पाइदैन, अर्को पालिकामा बसेर त यसै नपाइने भयो,’ उनले भने । यसबारे थप बुझेर आवश्यक प्रक्रिया अघि बढाइने दुवै पालिकाले बताएका छन् ।

यता ठेकेदार बासुदेव पुडासैनीले विगतदेखि नै तामा पित्तल र आल्मुनियमको एउटै रेट लिदै आएको बताए । तर नगरपालिकाले भने आल्मुनियमको उक्त रेट लिन नमिल्ने बताउँदै आएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?