
काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालको आयोजक हेरफेर भएको छ । अबदेखि नेपालमा यो पेजेन्टको आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गर्ने भएको छ ।
नेपालमा द हिडन ट्रेजरले मिस युनिभर्सको आयोजना गरेयता यो तेस्रो हेरफेर हो । आयोजकको रुपमा उमंग क्रिएसन बाहिरिएपछि ग्लोबल ग्ल्यामर भेन्चरले स्वामित्व लिएको हो ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरी आयोजक हेरफेरको जानकारी दिइयो । जसअनुसार मिस युनिभर्स नेपाल-२०२४ को राष्ट्रिय निर्देशकमा संगीता पुरी, संस्थाको अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी छन् ।
‘आयोजकको रुपमा चिनाउन पाउँदा हामी गौरवान्तित छौं । महिलाको अधिकार, पहिचान र प्रतिभालाई विश्वमाझ चिनाउने उद्देश्यले यस वर्षदेखि हामीले पेजेन्ट गर्दैछौं,’ पुरीले पत्रकार सम्मेलनमा भनिन् । पुरानै मापदण्डअनुसार प्रतियोगिता आयोजना हुने जानकारी दिंदै उनले १८ वर्ष नाघेका विश्वभरका नेपालीले प्रतिस्पर्धा गर्न पाउने बताइन् । प्रतियोगिताका लागि सम्पूर्ण संघसंस्थासँग सहकार्यका लागि आफूहरु तयार रहेको पुरीले बताइन् ।
पत्रकार सम्मेलनमा मिस युनिभर्सल वुमिन-२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज पनि सहभागी थिए । उनीहरु पनि मिस युनिभर्स नेपालको टिमको सदस्य रहने जानकारी उक्त अवसरमा गराइएको थियो ।
केही साताअघि नेपाल आइपुगेकी भ्यालेन्टिनाले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, खाना र आतिथ्यको प्रशंसा गरिन् । पहिलोपटक नेपाल आइपुग्दाको खुसी सेयर गर्दै उनले आफ्नो परिवार पनि नेपाल घुम्न आउन उत्साहित रहेको बताइन् ।
‘यदि मैले कुनै एउटा छनोट गर्नुपर्यो भने मैले अवश्य नेपाल छान्छु । किनभने यहाँको सांस्कृतिक सौन्दर्य र मिठासले मलाई लोभ्याएको छ,’ उनले भनिन्, ‘१८ वर्ष नाघेका नेपाली युवतीले मिस युनिभर्स भाग लिएर आफूलाई अझै समृद्ध तुल्याउन सक्नुहुन्छ ।’
कोच गोन्जालेजले नेपालका विभिन्न पेशामा प्रतिभावान् मानिस रहेको भन्दै प्रशंसा गरे । मिस युनिभर्स २०२४ को फिनाले चाहिं आगामी सेप्टेम्बर २८ मा मेक्सिकोमा आयोजना हुँदैछ ।
प्रतिक्रिया 4