+
+

विराटनगरमा क्यासिनोभित्र विवाद, बाहिर निस्केपछि खुकुरी हानाहान 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १७:४२

२८ पुस, विराटनगर । विराटनगर महानगरपालिका – ११ को बिग होटलमा रहेको क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाबीच खुकुरी हानाहान भएको छ ।

बिग होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका विराटनगरका युवाहरुबीच शुक्रबार राति साढे १ बजे खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् ।

उनको टाउको र देब्रे कानमा चोट लागेको छ । अहिले उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न झापाको घैलाडुब्बा घर भई विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलिया पक्राउ परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन् । क्यासिनो भित्र विवाद गर्न थालेपछि युवाहरुको समूहलाई बाउन्सरले बाहिर निकालेका थिए । बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको थियो ।

दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथी हुन् । दुवै जना अपराधिक पृष्ठभूमिका हुन् । सट्टेबाजीमा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

थपलियामाथि मिटरब्याजीको आरोप छ । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका अभिषेक गिरी निकट हुन् । गिरीको नाम जोडेर थपलियाले व्यापारीहरुसँग फिरौती माग्ने गरेको आरोप पनि छ ।

तर पीडितले जाहेरी नदिएका कारण प्रहरीले पक्राउ गरेको थिएन । डीएसपी दाहालले घटनामा संलग्न र घाइते भएका युवाहरुको विगतको अपराधिक पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए । जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर साथी–साथीबीच नै विवाद भएको थियो ।

प्रहरी स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्न सँगै गएका किरण लिम्बूमाथि थपलियाले खुकुरी प्रहार गरेका थिए । तर उनी छलिएर जोगिए ।

क्यासिनोमा खुलेआम नेपाली 

विराटनगरमा रहेको क्यासिनोमा नेपाली नागरिकले खुलेआम प्रवेश पाउने गरेका छन् । विराटनगरको रत्ना होटल र बिग होटलमा  क्यासिनो सञ्चालनमा छन् । नेपालीलाई कानुनी रुपमा प्रवेश निषेध भएपनि स्थानीय प्रशासनले चासो नदिँदा खुलेआम नेपालीले प्रवेश पाउने गरेका हुन् ।

डीएसपी दाहालले क्यासिनोमा जुवा खेल्नका लागि नेपालीलाई प्रवेश दिएको हो कि हैन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएको बताउँदै उनले थप अनुसन्धान भइरहेको बताए ।

सम्राट क्यासिनोका मेनेजर लक्ष्मीप्रसाद सेडाईं भने क्यासिनोमा नेपालीलाई प्रवेश नदिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?