+
+

राजनीतिमा सुहाङ सम्भावना

सुवास नेम्वाङका छोरा सुहाङले राजनीतिको लामै यात्रामा निस्कने तयारी गरिरहेका छन् । राजनीतिकर्मी हुँदा चाहिने योग्यताबारे उनी प्रष्ट छन् । ‘पढेर अब्बल हुनु एउटा कुरा हो, तर सँगै राजनीतिमा चाहिने इमान र सिद्धान्त हो’ उनी भन्छन्, ‘लोकतन्त्रमा अझ धेरै इमान चाहिन्छ, जनताले विश्वास गर्ने भनेकै इमानलाई हेरेर हो ।’

सइन्द्र राई सइन्द्र राई
२०८० पुष २८ गते २०:२४

२८ पुस, काठमाडौं । गएको २६ भदौमा हृदयघातबाट नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ जनप्रतिनिधिविहीन छ ।

गत वर्ष मंसिरमा सम्पन्न आमनिर्वाचनमा नेम्वाङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । नेम्वाङको निधनपछि रिक्त यो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार, आगामी वैशाखभित्रै इलाम–२ सहित रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी छ ।

‘राष्ट्रियसभा चुनावको नतिजा १५ माघमा बुझाउँछौं । त्यसपछि तीन महिनाको समय लिएर उपनिर्वाचन गर्ने तयारी छ । ढिलोमा जेठभित्र उपचुनाव हुन्छ’, थपलिया भन्छन् ।

गत ५ असारमा बझाङ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएकाले त्यहाँ पनि उपनिर्वाचन हुँदैछ । आयोगले रिक्त क्षेत्रहरुको एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

तर उपनिर्वाचन हुने क्षेत्रमध्ये इलाम–२ तुलनात्मक धेरै चासोमा देखिन्छ । यो क्षेत्रलाई चासोका साथ हेरिनुमा प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुने मात्रै नभएर राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राखेका सुवास नेम्वाङको क्षेत्र हुनु पनि हो ।

अझ एमाले वृत्तले त सुवास नेम्वाङकै कान्छा छोरा सुहाङ यही उपनिर्वाचनबाट राजनीतिमा जोडिन सक्ने संभावनालाई हेरेको देखिन्छ ।

‘सुहाङ नेम्वाङ अहिलेको जेनेरेसनले मन पाएका पात्र हुन् । एमालेले युवालाई समेट्न सकेन भन्ने आरोप लागिरहेकाले पनि उनी राजनीतिमा आउनु राम्रै हो’, एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल भन्छन् । तर पार्टीले निर्णय गर्न बाँकी रहेको उनी बताउँछन् ।

सुवासको बिम्ब

३२ वर्षीय सुहाङ यही उपनिर्वाचनबाट राजनीतिमा आउनसक्ने अनुमान गरिनुको पछाडि भने सुवास नेम्वाङको श्रद्धाञ्जलीसभामा उनले गरेको सम्बोधन हो । पशुपति आर्यघाटमा सुवासको शव अन्त्येष्टि गरेपछि इलाममा (२ असोजमा) श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो ।

परिवारका तर्फबाट बोलेका सुहाङले श्रद्धाञ्जलीका शब्दलाई राजनीतिसँग जोडे, राष्ट्रिय राजनीतिमा आफ्ना बुबा सुवासको व्यक्तित्व अरु वक्ताले भन्दा राम्रोसँग चित्रण गरे ।

‘मैले सारा देश रोएको देखें । अस्पताल, निवास, पार्टी कार्यालय र आर्यघाटमा मैले मानिसको सागर देखें । त्यही सागरमा ठेलमठेल गर्दै श्रद्धाञ्जली अर्पण गर्न आएको मानिसको भीड देखें’, सुवासकै शैलीमा सुहाङले विस्तारै भनेका थिए ।

पार्टी नेता, कार्यकर्ता, शुुभेच्छुक र सरकारले सुवास नेम्वाङलाई दिएको सम्मान कहिल्यै बिर्सन नसक्ने भनिरहँदा सुहाङले बुवाको अधुरो सपना पूरा गर्न लागिपर्ने प्रतिबद्धता पनि त्यहींबाट गरे ।

‘न्यायपालिका हेर्‍यो उस्तै छ, कार्यपालिका भद्रगोल छ, व्यवस्थापिका त्यस्तै छ । तपाईंहरुले सबै बर्वाद पार्नुभयो भनेको थिएँ, बुवालाई के लाग्यो कुन्नि, अब तिमीहरुले यसबाट सिकेर सुधार्न लाग्नुपर्‍यो, पालो त आइहाल्छ भन्नुभयो’, सुहाङले सम्झन्छन् ।

‘म बुवासँग हुर्किएको हुँ । राजनीतिक परिवेशमा हुर्किएको हुँ । राजनीतिक परिवेशमा हुर्कियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने ठान्दिनँ’, सावधानीपूर्वक सुहाङले भनेका थिए, ‘तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुवाको अधुरो कामहरु पूरा गर्न कानुनी, सामाजिक वा राजनीतिक कुन हिसाबले अगाडि बढ्न सकिन्छ । हजुरहरुसँग मिलेर अगाडि बढौं भनेर हातेमालो गर्न चाहन्छु ।’

उनको त्यो सम्बोधनले सामाजिक सञ्जालमा निकै चर्चा पायो । विशेष गरी संविधान निर्माणमा सुवास नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका सम्झनेहरूले सुहाङको सम्बोधन शेयर गरे ।

‘अहिले पनि युवा पुस्तामा सुहाङ खुब रुचाइएको छ । अस्ति पाँचथरको एमाले सभामा त केन्द्रीय नेतृत्वलाई नै ओझेलमा पार्ने गरी सुहाङको आकर्षण देखियो’, स्थायी कमिटी सदस्य खरेल भन्छन् । खरेलका अनुसार, मध्यपहाडी संकल्प यात्रामा क्रममा ३० मंसिरमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले टोली पाँचथर पुग्दा सुहाङको विशेष आकर्षण नै देखिएको थियो ।

एमालेको मध्यपहाडी लोकमार्ग अभियानका क्रममा पाँचथरमा आयोजित कार्यक्रममा एमाले नेताहरुसँग सुहाङ । तस्वीर सौजन्य : राजेश राई ।

बुवा सुवासको निधनपछि सुहाङको गतिविधि पनि बढेको छ । उनले इलाम सहित विभिन्न ठाउँमा भएका सामाजिक–सांस्कृतिक, राजनीतिक र खेलकुद क्षेत्रका फोरमहरुमा सम्बोधन गरिरहेका छन् । ती सम्बोधनहरुमा बुवा सुवास, गृह जिल्ला इलाम, युवा पुस्ता र राष्ट्रिय राजनीतिलाई जोड दिने गरेका छन् ।

‘बुवाले हजुरहरुसँग देखेको सपना जीवित छ, त्यो सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ । यसमा म हजुरहरुको शीर कहिल्यै पनि निहुरिन दिने छैन’, १३ पुसमा इलाममै आयोजित एक कार्यक्रममा सुहाङले भनेका थिए । त्यो कार्यक्रम फुटबल प्रतियोगिता समापनको भएकाले उनले बुबा सुवासको फुटबल क्रेजबारे पनि सुनाए, ‘बुवाले राति–रातिसम्म बसेर फुटबल हेर्नुहुन्थ्यो, उहाँ मेसीको ठूलो फ्यान ।’

यद्यपि उपनिर्वाचन उम्मेदवारमा उनले सार्वजनिक दावी गरेका छैनन् । ‘त्यो निर्णय लिने निकाय पार्टी नेतृत्वको हो, म आफ्नो भूमिकामा रहने हो’, सुहाङ भन्छन् । अर्थात् सुवास नेम्वाङकै जस्तो ‘ब्ल्याक एण्ड ह्वाइट’ मा नबोलेर ‘ग्रे जोन’ शैलीमा बोल्छन् सुहाङ ।

बुवा सुवासको राजनीतिक चेतनाको प्रभाव आफूमा परेको उनी लुकाउँदैनन् पनि । ‘घरमा अरुले भन्दा धेरै प्रश्न म नै गर्थें, राजनीतिका कुरा पनि थुप्रै हुन्थ्यो’ सुहाङ सम्झन्छन्, ‘म वकिल भएकाले कानुनबारे धेरै प्रश्न गर्थें । झञ्झट नमानी सम्झाउनुहुन्थ्यो ।’

बुवा सुवाससँग भएका राजनीतिक सम्वाद, कानुनी अनुभव र सामाजिक समस्याहरुको श्रृङ्खला आफ्नो उमेर जत्तिकै लामो रहेको उनी बताउँछन् । सार्वजनिक सम्बोधनमा पनि सुहाङले भन्ने गरेका छन्, ‘मेरो असल मित्र, मेरो बुवा र मिल्ने साथी ।’

समकालीन घटनाक्रमकै विषयमा संवाद हुँदा केही समय अगाडि सुहाङले सुवासँग विरक्ति पोखेका थिए । ‘न्यायपालिका हेर्‍यो उस्तै छ, कार्यपालिका भद्रगोल छ, व्यवस्थापिका त्यस्तै छ । तपाईंहरुले सबै बर्वाद पार्नुभयो भनेको थिएँ’ सुहाङले सम्झन्छन्, ‘बुवालाई के लाग्यो कुन्नि, अब तिमीहरुले यसबाट सिकेर सुधार्न लाग्नुपर्‍यो, पालो त आइहाल्छ भन्नुभयो ।’

तर त्यसपछि धेरै सम्वाद हुन नपाएको उनी बताउँछन् । ‘मलाई यति छिट्टै बुवाले छोडेर जानुहुन्छ भन्ने लागेको थिएन, तर यस्तै भयो’, उनी भन्छन् ।

तर सुहाङमा राजनीतिक अभ्यास निकै पहिलेदेखि नै भएको देखिन्छ । श्रद्धाञ्जलीसभा यताका सम्बोधनहरुमा देखिएको राजनीतिक चेतले त्यही पुष्टि गर्छ ।

यद्यपि सुहाङ पार्टीको कुनै पद वा कुनै सार्वजनिक जिम्मेवारीमा थिएनन् । यसबारे पनि उनी प्रष्ट छन् । ‘नेताको छोराछोरी किन बदनाम छन् भन्ने हेर्नुभयो भने मैले किन बुवाको शक्ति प्रयोग गरेर कुनै पद लिइनँ भन्ने प्रश्नको जवाफ मिल्छ’, सुहाङ भन्छन् ।

बुवा पार्टीको शक्तिमा हुँदा सरकारी निकायमा रहने अथवा शक्तिको दुरुपयोग हुने जिम्मेवारी लिन नहुने मान्यताकै कारण आफूले सधैं किनाराबाट नियालिरहेको उनको जवाफ छ ।

राजनीतिक जिम्मेवारीमा नरहेका सुहाङसँग काम गर्नलाई आफ्नै ल फर्म ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर नेपाल’ छ । ३ असोज २०७२ मा संविधान जारी भएपछि सुवास नेम्वाङले समेत छोरा सुहाङको यही फर्मबाट वकालत गर्ने सार्वजनिक अभिव्यक्ति दिन्थे ।

तर जीवित रहेसम्म सुवासले राजनीति छोडेर वकालतमा फर्कनु परेन । सुहाङ चाहिं यही फर्मबाट वकालत, इलाममा क्लब बनाएर खेलकुद क्षेत्र अनि बुवा सुवासको सहयोगी भएर राजनीतिक गतिविधिमा थिए ।

उनी अध्यक्ष रहेको फुटबल क्लब ‘स्पोर्टिङ इलाम दी मेची’ ले यस पटकबाट नेपाल सुपर लिग खेल्यो । ‘हाम्रो नतिजा राम्रो हुन सकेन, तर नेपाल सुपर लिगमा इलाम जोडियौं, आगामी दिनमा राम्रो गर्ने प्रयास गर्छौं’, सुहाङ भन्छन् ।

यसको अर्थ राजनीतिको लामै यात्रामा निस्कने तयारी सुहाङले गरिरहेकै छन् । राजनीतिकर्मी हुँदा चाहिने योग्यताबारे पनि उनी प्रष्ट छन् । ‘पढेर अब्बल हुनु एउटा कुरा हो, तर सँगै राजनीतिमा चाहिने इमान र सिद्धान्त हो’ उनी भन्छन्, ‘लोकतन्त्रमा अझ धेरै इमान चाहिन्छ, जनताले विश्वास गर्ने भनेकै इमानलाई हेरेर हो ।’ सिद्धान्तले चाहिं अगाडि बढ्ने उद्देश्य प्रष्ट पार्ने उनको बुझाइ छ ।

सँगै, पारिवारिक शक्तिका आधारमा मात्रै राजनीतिमा आउन नहुने तथ्य पनि नबिर्सिएको सुहाङ बताउँछन् । ‘बुवा भन्नुहुन्थ्यो, तान्ने र ठेल्ने भएर राजनीतिमा आएको मान्छे धेरै टिक्दैन । आफ्नै खुट्टामा नउभिइकन राजनीतिमा आउनुहुँदैन’, उनी सम्झन्छन् ।

अर्थात् उपनिर्वाचनमा एमालेले अरुलाई नै टिकट दिए पनि सुहाङ राजनीतिक मैदानमा होमिने संकेत भने यी घटनाक्रम र सम्झनाहरुमा पाउन सकिन्छ ।

एमालेका एक नेता यही उपनिर्वाचनमै सुहाङले टिकट पाउने संभावना धेरै रहेको बताउँछन् । ‘त्यहाँ चुनाव जित्न त्यति सजिलो छैन । त्यसो हुँदा बलियो उम्मेदवार खोज्नुपर्नेछ, त्यो भनेको सुहाङ हुन सक्छन्’, ती नेता भन्छन् । उनका अनुसार युवा, जनजाति र सुवासकै छोरा भएकाले पनि सुहाङ बलियो उम्मेदवार हुन् ।

इलाम–२ मा २०५६ सालयता सधैं सहज जित निकालेका सुवास नेम्वाङले गत वर्ष ११४ मतको झिनो अन्तरले मात्रै प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराएका थिए ।

सत्ता गठबन्धनमा रहेका अरु दलको समेत समर्थन पाएका खड्काले २९ हजार ९०६ मत ल्याउँदा सुवासले ३० हजार २० मत पाएका थिए । अहिले पनि सत्ता गठबन्धन कायमै रहेको र संभवतः खड्का नै उम्मेदवार बन्ने भएकाले पनि एमालेलाई उपनिर्वाचन सजिलो छैन ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?