+
+

चौथो टाइगर कप भलिबल भोलिदेखि, भारत र श्रीलंकाका टिम पनि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:२७

२९ पुस, पोखरा । टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुँदै आएको टाइगर कप भलिबल प्रतियोगिताको चौंथो संस्करणमा २ विदेशी टिम सहभागी हुने भएका छन् ।

भोलिदेखि पोखरा रंगशालामा हुने प्रतियोगितामा पुरुषतर्फ श्रीलंकाको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा क्लब सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

टाइगर ग्रुप अफ पोखराले ४ वर्षदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल गर्दै आएको हो । महिला तथा पुरुष दुवै विधामा हुने प्रतियोगिता माघ ६ गतेसम्म चल्ने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकोे हो ।

‘प्रतियोगितामा विदेशी टिमहरुले पनि भाग लिनु नेपाली भलिबलप्रेमीका लागि सुखद खबर हो’, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले, ‘यो संस्करणमा २ वटा विदेशी टिम सहभागी गराउन पाउँदा गौरवान्वित छौं ।’

प्रतियोगितामा २ विदेशी टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टिम सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ ।

प्रतियोगितामा आयोजकका तर्फबाट खेल्ने गण्डकी प्रदेशको महिला तथा पुरुष दुवै टोलीमा ३/३ जना भारतीय खेलाडी पनि सहभागी हुनेछन् । गण्डकीको टोली भारतीय राष्ट्रिय भलिबल टिमका कप्तान विनितकुमार चौधरीसमेत सहभागी हुने शर्माले जानकारी दिए ।

शर्माका अनुसार टाइगर कपमा सहभागी हुने अन्य क्लबले पनि विदेशी खेलाडी ल्याउँदैछन् । ‘हेल्प नेपाल स्पोर्टस् क्लबको टिममा पनि विदेशी खेलाडी हुनुहुनेछ’, शर्माले भने, ‘त्यसमा पाकिस्तानी राष्ट्रिय टिमका उपकप्तान मोहम्मद कासिबसहित ३ जना खेलाडी छन् ।’

प्रतियोगिता खेल्न भारतबाट आउने टोलीको नेतृत्व भारतको राष्ट्रिय महिला भलिबल टोली क्याप्टेन मिनीमोल अब्राहमले गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा महिलातर्फ भारतको हरियाणा क्लबसहित चन्द्रागिरि नगरपालिका, न्यू डायमन्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश तथा ३ विभागीय टोली नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने अध्यक्ष शर्माले जानकारी दिए ।

पुरुषतर्फ श्रीलंकन टोलीसँगै ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब तथा आयोजक टोली प्रतिस्पर्धामा उत्रिँदैछन् ।

महिला, पुरुष दुवैलाई समान पुरस्कार राशी

आयोजकले प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीलाई समान पुरस्कार राशीकोसमेत व्यवस्था गरेको छ । दुवैतर्फ विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकले यो वर्षदेखि विजेता पुरस्कार राशीमा पनि वृद्धि गरेको हो । अघिल्लो संस्करणभन्दा यो वर्ष ५० हजार रुपैयाँले पुरस्कार राशी वृद्धि गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यस्तै, प्रतियोगितामा द्वितीय हुने टोलीलाई २ लाख ५५ हजार ५५५ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख २५ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्र्ेनिङ सेन्टरमा करिब १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ भने सहभागी सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन् । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी ४ खेल हुने आयोजकले जनाएको छ ।

तेस्रो संस्करणको टाइगर कपमा पुरुषतर्फ गण्डकी र महिलातर्फ विभागीय टिम एपीएफले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?