+
+

टाइगर कप भलिबलः महिलातर्फको सेमिफाइनलको समीकरण पूरा, गण्डकी र हरियाणा बाहिरिए

पुरुषतर्फ समूह चरणको अन्तिम खेल भोलि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते २०:००

३ मंसिर, पोखरा । पोखरामा जारी चौथो टाइगर कपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । जारी प्रतियोगितामा विभागीय टिम एपीएफ, चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले अन्तिम ४ मा आफ्नो स्थान पक्का बनाएका हुन् ।

नेपालको महिला भलिबल टिमका कप्तान तथा गण्डकी भलिबल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकी र आमन्त्रित टोली भारतको हरियाणा अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएका हुन् ।

समूह ‘ए’मा रहेको गण्डकी र हरियाणाले लगातार २ खेलमा पराजित भएका थिए । बुधबार भएको महिलातर्फको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गण्डकी ३–० को सोझो सेटमा पराजित भएको हो । एपीएफसँग गण्डकी २५–१६, २५–९ र २५–१७ सेटले पराजित भएको हो ।

त्यस्तै अर्को खेलमा चन्द्रागिरि नगरपालिकाको न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा टिमलाई पनि ३–० कै सोझो सेटमा हराउन सफल रह्यो । एकेडेमीले आमन्त्रित क्लब हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गरेको हो ।

समूह ‘ए’मा ४ अंकसहित समूह विजेता बनेको एपीएफ समूह ‘बी’को उपविजेता बनेको त्रिभुवन आर्मीसँग पहिलो सेमिफाइनल खेल्नेछ । त्यस्तै, समूह ‘ए’मा ३ अंकसहित समूह उपविजेता बनेको न्यु डायमन्ड समूह ‘बी’को विजेता नेपाल पुलिससँग दोस्रो सेमिफाइनल खेल्ने भएको छ ।

नेपाल पुलिस क्लब पनि बाहिरियो

पुरुषतर्फ समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब एपीएफ क्लबसँग लिग चरणमा ३–० को सोझो सेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘बी’मा एपीएफको ३ अंक र समूहमा उपविजेता बनेको श्रीलंका आर्मी टिम समान ३ अंकसहित अन्तिम ४ मा प्रवेश गरेका छन् ।

पुरुषतर्फ लिग चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पाहुना टोली श्रीलंका आर्मी टिमलाई ३–१ ले पराजित गरेको छ । टाइगर कप भलिबलको इतिहासमा नै पहिलो सेटको खेल ४१–३९ मा सकिएको थियो ।

नेपाल पुलिसले पहिलो सेट ४१–३९ मा जित्न सफल भयो तर दोस्रो सेट २५–१३ ले पाहुना टोलीलाई सुम्पियो । तेस्रो सेट २५–२० र चौंथो सेट २५–१७ ले जिते पनि नेपाल पुलिस अंक अभावका कारण खेलबाट बाहिरिन पुगेको छ ।

समूह ‘ए’ अन्तर्गत नै अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गण्डकी प्रदेशले टिपटप हेल्प नेपाललाई पराजित गरेको छ । ३ जना भारतीय राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी टिमले ३ जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल ३–२ ले पराजित गरेको हो ।

खेलमा पहिलो सेट २५–१९ ले जित्दै हेल्प नेपाललाई दबावमा राखे पनि दोस्रो सेट १५–२५ ले हेल्प नेपाललाई सुम्पिन पुग्यो । तर, तेस्रो सेटमा खेलमा फर्किंदै २५–१७ ले गण्डकी खेलमा फर्कियो । चौथो सेट हेल्प नेपालले २५–२२ ले आफेनो पक्षमा पार्न सफल भयो । तर, पाँचौं सेटमा १५–१२ ले गण्डकीले खेल जित्न सफल भयो ।

जितसँगै गण्डकीले २ अंक प्राप्त गरेको छ भने हेल्प नेपालले १ अंक हात पारेको छ । हेल्प नेपालले समूह ‘ए’मा कुल ४ अंक प्राप्त गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पुरुषतर्फको घरेलु टोली गण्डकीले नेपाल आर्मीसँग बिहिबार अन्तिम लिग खेल्नेछ । उक्त खेल माघ १ गते भएको उद्घाटन खेल प्रकाश अभावका कारणअवरुद्ध बनेको थियो । उक्त खेलले नै समूह ‘ए’को सेमिफाइनल समीकरणको टुंगो लगाउनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता दुवै टिमले समान ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?