
२९ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३१ औं वार्षिक साधारणसभाले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
आइतबार सम्पन्न बैंकको वार्षिक साधारणसभाले कुल सेयर पूँजीमा आवश्यक संस्थापक र साधारण सेयर अनुपात मिलाउन अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । एफपीओको संख्या निर्धारण गर्ने अख्तियारी भने सञ्चालक समितिलाई प्रदान गरेको छ ।
साधारणसभाले बैंक तथा यसका सहायक कम्पनीहरु सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन प्रस्तुत गरे ।
श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ती गरी एकीकृत कारोबार सुरु गरिसकेकको बताए ।
उनले सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तत गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गरिरहेको बताए ।
बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको बताए ।
बैंकले आव २०७९/८० को अन्त्यसम्म २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ । विश्वका आर्थिक, सामाजिक तथा भू—राजनीतिक घटनाहरुका कारण हाल बैंक तथा सम्पूर्ण बैकिङ क्षेत्रले नै चुनौतीको सामना गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।
साधारणसभाबाट बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिलबहादुर थापा र प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले नव नियुक्त सञ्चालकहरु मध्येबाट प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।
प्रतिक्रिया 4