काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा योग सिकाउने भएको छ । महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए ।
नवौं राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै महर्जनले भने, ‘विद्यालयहरुमा अक्षर मात्र सिकाउँदैनौं । योगबाट सुखी हुने सीप पनि सिकाउँछौं ।’ उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको भन्दै उनले ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
योगलाई जातीय, धार्मिक र साम्प्रदायिक सम्पत्तिका रुपमा नभई स्वास्थ्य मानव जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।
सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । आयुर्वेदिक र वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गर्न महानगर स्वर्णिम योजनाअन्तर्गत आरोग्य जीवन कार्यक्रम सञ्चालन भएको उनको भनाइ थियो ।
आरोग्य जीवन कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार वडास्तरीय योग कक्षा सञ्चालनका लागि प्रशिक्षकहरुबाट आवेदन माग गरिसकिएको छ । यसमा करिब ३०० जनाको आवेदन परेको छ । ‘योग प्रशिक्षण दिने करिब ३०० वटा केन्द्रको लगत तयार पारिएको छ । जनस्वास्थ्यको अवस्था र स्वास्थ्य बिग्रिनुका कारण खोज्न त्रिभुवन विश्वविदालय चिकित्सा अध्ययन संस्था, स्वास्थ्य विभागसँग सम्झौता गरेर अध्ययनको काम थालिएको छ । आयुर्वेदिक र वैकल्पिक उपचारका लागि नरदेवी आयुर्वेद अस्पतालसँगको सहकार्य थालनी गरिंदैछ,’ ओलीले भने ।
योगका आठ अंग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) हुन्छन् । यीमध्ये कुनै अंग छुट्यो भने पूर्ण योग हुँदैन । हिजोआज योग व्यायामका रुपमा लिने गरिएको छ । योगलाई व्यायामका रुपमा मात्र बुझ्नु हुँदैन । कार्यक्रममा जीवन विज्ञानका संस्थापक रमेश नेपालले भने, ‘योगले शरीर, मन, धारणा, आध्यात्म, आत्मिकता सबैलाई सन्तुलन गर्छ । यसबाट मात्र स्वस्थ्य जीवन प्राप्त हुन्छ । शरीर स्वस्थ भएर मात्र पुग्दैन । शरीरसँगै मन, धारणा पनि स्वस्थ हुनुपर्छ ।’
ओम आदि फाउन्डेसनका प्रवक्ता डा. राजु अधिकारीले पूर्खाहरुले सन्तानको निरोगिताका लागि कुनै प्रतिफलको अपेक्षा नगरी प्रदान गरेको सिर्जना नै योग भएको उल्लेख गरे । राज योग, वैदिक योग र हठ योगको समुचित प्रवर्द्धनबाट मात्र योगको सार्थक प्रवर्द्धन हुने बताउँदै अधिकारीले भने, ‘योग गर्ने मस्त हुने, योग नगर्ने ध्वस्त हुने धारणा राखे ।’
कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश प्रभारी अशोककुमार आलेले सरकारले जारी गरेको बसेकै ठाउँमा गर्न सकिने, उभिएका ठाउँमा गर्न सकिने योग प्रोटोकलको अभ्यास गराए ।
त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका योग विषयका सहप्राध्यापक डा. विनोद घिमिरे, ओशो तपोवनका कञ्चन रावलले विद्यालयस्तरबाट योग सिकाउनुपर्नेमा जोड दिए । योगले शारीरिक तन्दुरुस्ती, सोचमा शून्यता र दृष्टिमा समानता ल्याउने विश्वास गरिन्छ । योग प्रवर्द्धन गर्दा शुद्धतामा ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया 4