+
+

ऋण नउठ्दा वाणिज्य बैंकको पूँजीकोष ९.७९ प्रतिशतमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १९:१८

१ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उठाउन नसकेको ब्याज १ खर्ब ७४ अर्ब पुगेको छ । कात्तिकमा १ खर्ब ४७ अर्ब रहेको उठ्न नसकेको ब्याज मंसिरमा करिब पौने २ खर्ब पुगेको हो ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी ५० खर्ब ८१ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसमध्ये सावाँ ४९ खर्ब ७ अर्ब र उठ्न नसकेको ब्याज १ खर्ब ७४ अर्ब छ । ४९ खर्ब कर्जामध्ये संस्थागत ऋणीले लिएको कर्जा ३० खर्ब ९७ अर्ब र व्यक्तिगत ऋणीले लिएको कर्जा १० खर्ब १० अर्ब रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

कुल १८ लाख ५८ हजार ३ सय ५५ ऋणीले उक्त कर्जा लिएको राष्ट्र बैंकको तथ्यांक छ । मंसिरसम्म ५ करोड ३३ लाख ३ हजार ३ सय ७८ निक्षेप खाताबाट कुल निक्षेप ६० खर्ब १९ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षको अनुमानित कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निक्षेप अनुपात १११.८५ प्रतिशत र कर्जा ९२.८७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयका अनुसार गत आवको अन्त्यसम्म कुल अनुमानित जीडीपी ५३ खर्ब ८१ अर्ब ३३ करोड ५० लाख छ ।

मंसिरसम्म उठ्न नसकेको ब्याज बढे पनि पुसमा भने केही सुधार भएको बैंकर बताउँछन् । गत असोजको तुलनामा पुसमा कर्जा असुलीमा उल्लेख्य सुधार नभए पनि केही सुधार भएको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल बताउँछन् ।

असोजमा ८.२१ प्रतिशतमा झरेको बैंकको प्राथमिक पूँजीकोष अनुपात पनि सुधार भएर ८.५ प्रतिशत नजिक पुग्ने खनालले बताए । मंसिरको तुलनामा पुसमा बक्यौता ब्याजमा केही कमी हुन सक्ने उनको तर्क छ ।

बैंकर्स संघका उपाध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला भने पुसमा पुनः रिकभरीमा उल्लेख्य सुधार नदेखिएको बताउँछन् ।

केही बैंकरले भने असोजको तुलनामा पुसमा राम्रो देखिएको बताए पनि आफ्नो बैंकको भने असोजकै जस्तो वित्तीय विवरण आउने उनले बताए ।

पछिल्लो समय सेयर बजारसँगै घरजग्गा कारोबारमा समेत सुधार देखिएकाले त्यसबाट बैंकहरूको कर्जा असुली पनि आगामी दिनमा सकारात्मक हुन सक्ने बैंकर बताउँछन् ।

पूँजीकोषमा बढ्यो दबाब

बैंकहरूको ब्याज असुली प्रभावित बन्दै गएको र मंसिर मसान्तमा मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनसाथै एफपीओको प्रिमियमबाट वितरण गरेको बोनस सेयरमा कर तिर्नुपर्दा बैंकहरूको पूँजीकोषको दबाब बढ्दै गएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट राष्ट्रियस्तरका विकास बैंकका लागि ‘पूँजी पर्याप्तता फ्रेमवर्क २०१५’ लागु गरेको छ । जसअनुसार राष्ट्रियस्तरका विकास बैंकले पनि वाणिज्य बैंकले जस्तै ८.५ प्रतिशत न्यूनतम प्राथमिक पूँजीकोष र कुल पूँजीकोष ११ प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

यस्तै चालु आर्थिक वर्षबाट नै वाणिज्य बैंकका लागि पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा भएको काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । जसअनुसार बैंकले प्राथमिक पूँजीबाट नै ०.५ प्रतिशत अतिरिक्त पूँजीकोष कायम गर्नुपर्ने हुन्छ । प्राथमिक पूँजीबाट ८.५ प्रतिशतमा २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूले काउन्टर साइक्लिकल बफरबाट सहित ९ प्रतिशत प्राथमिक पूँजीकोष कायम गर्नुपर्ने हुन्छ ।

कर्जा रिकभरीमा समस्या भएर बैंकहरू सञ्चित नोक्सानीमा जाँदा प्राथमिक पूँजीमा दबाब बढ्दै गएको छ । मंसिरमा एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनबाट बोनस सेयर दिएका बैंकले कर भुक्तानी गरेको र रिकभरीमा समेत दबाब हुँदा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष नै १० प्रतिशतबाट तल झरेको छ ।

कात्तिक मसान्तमा वाणिज्य बैंकको औसत प्राथमिक पूँजीकोष १०.११ प्रतिशत रहेकोमा मंसिर मसान्तमा आउँदा ९.७९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । असोजमा १०.१४ प्रतिशत रहेको प्राथमिक पूँजीको कात्तिक र मंसिरमा खासै कर्जा विस्तार नहुँदासमेत असोजको तुलनामा मंसिर मसान्तमा आउँदा वाणिज्य बैंकको औसत पूँजीकोष ०.३५ बिन्दुले घटेको छ ।

असोजपछि केही बैंकले नगद लाभांशका रूपमा क्यासआउट गर्दा पनि प्राथमिक पूँजीकोषमा दबाब परेको हो । कात्तिक र मंसिरमा नगद लाभांशका रूपमा बैंकहरूको पूँजीकोषबाट ठूलो रकम क्यासआउट नभएको हुँदा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको प्रिमियमबाट बोनस सेयर जारी गरेको कर भुक्तानीले नै बैंकहरूको प्राथमिक पूँजीकोषमा दबाब बढ्दै गएको एक बैंकरले बताए । राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष कायम गर्न नसक्ने बैंकलाई लाभांश वितरणमा रोक लगाउँदै आएको छ ।

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल पूँजीकोष ७ खर्ब ५० अर्ब रहेकोमा मंसिर मसान्तमा आउँदा ७ खर्ब ४१ अर्ब ५२ करोडमा झरेको छ ।

पाँच महिनाको नाफा करिब ३१ अर्ब

चालु आर्थिक वर्ष मंरिसम्म बैंक तथा वित्तीय संस्थाको कुल नाफा ३० अर्ब ९२ करोड पुगेको छ । कात्तिक मसान्तमा २२ अर्ब ६२ करोड नाफा कमाएकोमा मंसिरमा बढेको छ । नाफा वृद्धि हुँदा पनि बैंक तथा पूँजीकोषमा गिरावट भएको छ । असोजमा बैंक तथा वित्तीय संस्थाको कुल नाफा १४ अर्ब ८६ करोड रहेकोमा पुसमा बढेको छ । नाफा बढेसँगै बैंकहरूको कुल पूँजीकोषमा वृद्धि हुनुपर्नेमा घटेको देखिन्छ ।

मंसिरसम्म वाणिज्य बैंकहरूको मात्रै नाफा करिब २८ अर्ब ३७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ९६ करोड नाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले २ अर्ब ७४ करोड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ६१ करोड नाफा आर्जन गरेको छ ।

मंसिरसम्म कुन बैंकले कर्जा नाफा आर्जन गरे ?

  • नबिल बैंक : २ अर्ब ९७ करोड
  • ग्लोबल आईएमई बैंक : २ अर्ब ७४ करोड
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक : २ अर्ब ६१ करोड
  • प्राइम कमर्सियल बैंक : १ अर्ब ९३ करोड
  • एनआईसी एसिया बैंक : १ अर्ब ८५ करोड
  • हिमालयन बैंक : १ अर्ब ८० करोड
  • प्रभु बैंक : १ अर्ब ४९ करोड
  • एनएमबि बैंक : १ अर्ब ४५ करोड
  • राष्ट्रिय वाणिज्य बैंक : १ अर्ब ४१ करोड
  • एभरेट बैंक : १ अर्ब ४० करोड
  • कुमारी बैैंक : १ अर्ब ३० करोड
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक : १ अर्ब २६ करोड
  • नेपाल बैंक : १ अर्ब २१ करोड
  • सानिमा बैंक : १ अर्ब ८ करोड
  • लक्ष्मी सन्राइज बैंक : ९० करोड
  • माछापुच्छ्रे बैंक : ७६ करोड
  • सिटिजन्स बैंक : ७४ करोड
  • नेपाल एसबिआई बैंक : ७१ करोड
  • सिद्धार्थ बैंक : ६२ करोड
  • कृषि विकास बैंक : १३ करोड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?