+
+

फिन एलेनको कीर्तिमानी १६ छक्का, न्युजिल्याण्डले जित्यो सिरिज

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १२:०८

३ माघ, काठमाडौं । न्युजिल्याण्डका ओपनर फिन एलेनले टी-२० आई क्रिकेटमा एकै खेलमा कीर्तिमानी १६ छक्का प्रहार गरेका छन् ।

उनकै विष्फोटक शतकको मद्दतमा न्युजिल्याण्डले बुधबार दुनेदिनमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा न्युजिल्याण्डले ३-० को अग्रता लिएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले एलेनको १३७ रनको मद्दतमा ७ विकेट गुमाएर २२४ रन बनाएको थियो । एलेनले ६२ बल खेल्दै ५ चौका  र १६ छक्का मद्दतमा १३७ रन बनाए । टिम साइफर्टले ३१ र ग्लेन फिलिप्सले १९ रन जोडे ।

एलेन टी-२० आईको एकै खेलम सर्वाधिक १६ छक्का प्रहार गर्दे कीर्तिमान बराबरी गरेका हुन् । यसअघि अफगानिस्तानका ओपनर हज्रतुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध १६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । एलेनले त्यसको बराबरी गरे ।

यस्तै एलेनले न्युजिल्याण्डका लागि टी-२० आईमा एकै खेलमा धेरै स्कोर बनाउने कीर्तिमान पनि बनाए । यस्तै सन् २०१२ मा पूर्वकप्तान ब्रेण्डन म्याकुलमले बंगलादेशविरुद्ध १२३ रन बनाएका थिए ।

प्लेअर अफ दि म्याच बनेका एलेनले आफूले व्यक्तिगत कीर्तिमानभन्दा पनि टिमका लागि स्कोर गर्ने र सिरिज जित्नु महत्वपूर्ण भएको बताए ।

न्युजिल्याण्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । बाबर अजामले सर्वाधिक ५८ रन बनाए । मोहमद नवाजले २८ र मोहमद रिज्वानले २४ रन जोडे ।

न्युजिल्याण्डका टिम साउदीले २ तथा म्याट हेनरी, लकी फर्गुसन, मिचेल सान्टनर र इश सोधीले समान एक/एक विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?