+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

चल्न छाड्यो शहीद लखनको हाटबजार

विकास मरहट्टा विकास मरहट्टा
२०८० माघ ३ गते १९:३०

३ माघ, गोरखा । आँबुखैरेनी– गोरखा सडकको रामशाह बजारमा सञ्चालित हाटबजार हिजोआज बन्दजस्तै छ ।

२०७५ असोज २७ देखि हरेक शनिबार सञ्चालन हुँदै आएको हाटबजारमा हिजोआज पहिलेजस्तो किसानले तरकारी ल्याउन छाडेका छन् भने खरिदकर्ता पनि आउन छाडेका छन् । कोरोना महामारीका बेला लामो समय बन्द गरिएको हाटबजार त्यसपछि भने पुरानो स्वरुपमा फर्किन सकेन ।

हाटबजार सञ्चालन गर्ने नयाँपुल कृषि उपज उपभोक्ता सहकारी संस्थाका अध्यक्ष चित्रबहादुर बयलकोटी पहिले हाट लागेको दिन ४ लाख रुपैयाँको ब्यापार हुनेमा हिजोआज ३०–३५ हजारको मात्र ब्यापार हुने गरेको बताउँछन् ।

कोरोना महामारीका कारण करिव डेढ बर्ष हाटबजार बन्द गरिएको थियो । अध्यक्ष बयलकोटीका अनुसार कृषि उपज लिएर किसानहरु नै आउन छाडे्का छन् । पहिले कम्तीमा २०–३० जना कृषकहरु आफ्नो कृषि उपज बिक्री गर्न आउने गरेकामा हिजोआज ५–६ जना मात्र आउने गरेका छन् ।

‘मुख्य गरेर १ देखि ३ नम्बर वडाका किसानहरु आउने हो, तर अहिले १ र ३ का किसानहरु आउनै छाड्नुभयो’, उनले भने ।

तनहुँको आँबुखैरनीमा हाटबजार सञ्चालन हुन थालेपछि आफूहरुको व्यापार घटेको अध्यक्ष बयलकोटीले बताए । ‘हाम्रो मुख्य ग्राहक भनेको तनहुँको आँबुखैरेनी र गोरखाका हुन् तर आँबुखैरेनीमै हाट बजार सुरु भएपछि हाम्रोमा मान्छै आउनै छाडे’, उनले भने ।

गोरखाको शहीद लखन गाउँपालिकाको आर्थिक र प्राविधिक सहयोगमा २७ असोज २०७५ मा मनकामना कृषि सहकारीमार्फत २०७५ असोज २७ गतेबाट हाट बजार सुरु गरिएको थियो । त्यसपछि हाटबजारलाई पालिकास्तरीय बनाउन भन्दै नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्था खोलेर त्यसमार्फत सञ्चालन गरिएको थियो ।

गाउँपालिका कृषि शाखा प्रमुख ऋषि रोकाका अनुसार हाटबजार सञ्चालन गर्ने संरचना बनाउन संघीय सरकार, प्रदेश सरकार र पालिकाले गरी ६५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । हाट बजार सञ्चालनका लागि गाउँपालिकाले बर्षेनी एकदेखि तीन लाख रुपैयाँसम्म बजेट खर्च गर्दै आएको छ ।

हाट बजार सञ्चालन हुने ठाउँमा जस्तापाताको छाना, दश टन क्षमताको कोल्ड रुम, बिक्री कक्ष, संकलन कक्ष र शौचालय निर्माण भएका छन् । केही सटर बनाएर बिउबिजन, तरकारी, माछामासु र दुधजन्य पदार्थको पसल दैनिक सञ्चालन गर्न सके शनिबारको हाट बजार पनि राम्रो सँग चल्ने अध्यक्ष बयलकोटी बताउँछन् ।

किसानहरु भने हाटबजार सञ्चालक सहकारीले सक्रियता नदेखाएका कारण हाटबजार चल्न नसकेको बताउँछन् । शहीद लखन गाउँपालिका–३ कुसुमपानीका तिलबहादुर गुरुङ हाटबजार बन्द हुँदा तरकारी बेच्न नपाएको गुनासो गर्छन् ।

गत दशैंताका किसानहरुले काउली फलाएपछि हाटबजार खोल्न अध्यक्ष बयलकोटीलाई आग्रह गरेका थिए । ‘उहाँको पारिवारिक समस्याले गर्दा समय दिन सक्नुभएन, समितिका अरु मान्छेहरुलाई भनेको सुन्ने कान लगाएनन्, ठाउँठाउँमा बोक्दै लगेर बेच्नुप¥यो भनेजति भाउ पनि पाएनौं, गोलभेँडा त झन् बारीमै कुहिएर गयो’, उनले भने ।

गाउँपालिकाले हाट बजारसम्म तरकारी बेच्न ल्याउने किसानलाई ढुवानी खर्च दिएको दाबी गरे पनि किसानहरुले पाउन सकेका छैनन् । ‘यो वडामा अलि धेरै तरकारी उत्पादन गर्ने मै हो, यहाँबाट हाट बजारसम्म तरकारी लैजादा गाडीले एकपटकको दुइ हजार लिन्छ तर मैले अहिलेसम्म ढुवानी खर्च भनेर पाएको छैन’, गुरुङले भने ।

गाउँपालिका कृषि शाखा प्रमुख ऋषि रोकाले भने हाट बजार सञ्चालन भएदेखि किसानहरुलाई ढुवानी खर्च दिएको दाबी गरे ।

‘किसानको खेतबाट हाट बजारसम्मको ढुवानी भाडा पालिकाले तिर्दै आएको छ, हामीले स्टल पनि बनाएर उपलब्ध गराएका छौ, कोल्ड रुम पनि स्थापना भएको छ, त्यो सञ्चालनमा आएपछि बिक्री नभएको सामानहरु किसानले घर लैजानुपर्दैन’, उनले भने ।

आँबुखैरेनी बजारमा हाट सञ्चालन हुन थालेपछि शहीद लखन गाउँपालिकाको हाटबजारलाई समस्या परेको कृषि शाखा प्रमुख रोकाले बताए । ‘आँबुखैरेनीले शुक्रबार हाटबजार चलाउँछ, अब एक पटक बैठक बसेर मंगलबार हाट बजार सञ्चालन गर्ने कि भन्नेमा छौं’, उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?