+
+

प्रधानमन्त्री कप क्रिकेट : सूर्यको सामना गर्न कोशीलाई चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ८:०३
बागमती प्रदेशको क्रिकेट टिम

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज बागमती प्रदेशले कोशी प्रदेशसँग खेल्दैछ । खेल बिहान  सवा नौ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

दुबै टोलीले सुरुवाती चार खेल खेलेका छन् । कोशी जित विहीन छ । बागमतीले दुई खेलमा जितका साथ शीर्ष चारमा रहँदै इलिट ट्रफी खेल्ने अवसरलाई कायम राखेको छ ।

कोशी मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित भएको थियो । उता बागमती पहिलो खेलमा पुलिससँग ६८ र दोस्रो खेलमा एपीएफसँग ८९ रनले पराजित भएको थियो । मधेशलाई ८६ रन र आर्मीलाई ३ विकेटले हराएको थियो ।

बागमतीको कप्तानी रित गौतम र कोशीको अंकित सुवेदीले गर्नेछन् ।

बागमतीका वायाँहाते स्पिनर सूर्य तामाङ यस प्रतियोगितामा उच्च लयमा छन् । उनले मात्रै ४ खेलमा १७ विकेट लिएका छन् । उनी बागमतीको दुवै जितका प्लेयर अफ द म्याच पनि हुन् । स्पिनर सहयोगी मूलपानीमा भरपूर फाइदा उठाउँदै उनले मधेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।

बागमतीका वायाँहाते स्पिनर सूर्य तामाङ

मूलपानीमै सिनियर टोलीबाट खेलेका ८ खेलाडी प्लेइङ ११ मा रहेको आर्मीलाई स्तब्ध पार्न पाँच विकेट लिएका थिए । त्यसअघि त्रिवि मैदानमा एपीएफ र पुलिससँग ३–३ विकेट लिएका थिए ।

त्यसैले आजको खेलमा कोशीलाई सूर्यको स्पिन चमक सामना गर्न मुख्य चुनौती देखिन्छ ।

सूर्यलाई कोशीका सुजन थपलिया भने बाधक बन्न सक्छन् । वायाँ हाते ब्याटर सुजनले नेपाल पुलिस क्लबविरुद्ध ६४–७ को दयनीय अवस्थाबाट ६ चौका र ८ छक्कासहित १ सय ५ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए ।

पावर प्लेमा दुई युवा तीव्र गतिका बलर प्रतिश जि.सी र रिजन ढकालले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सूर्यसँगै प्रतिश र रिजन पनि वायाँ हाते बलर हुन् । रणनीतिक हिसाबमा सुजन कोशीको नायक बन्न सक्ने सम्भावना छ । किनभने वायाँ हाते ब्याटरलाई खेल्न सहज हुने गर्दछ ।

उता बागमतीका आशुतोष घिरैया, रित गौतम र ईशान पाण्डे प्रमुख ब्याटर हुन् । मध्यक्रम र तल्लोक्रम तुलनात्मक रुपमा केही कमजोर छ ।

बागमतीको बलिङ नै मुख्य हतियार हो । विशेषगरी पहिला बलिङ गर्दा बिहानी समयमा रिजन र प्रतिशले पिचको भरपूर्ण फाइदा उठाउन सक्छन् ।

कोशीका सुजन थपलिया

उता कोशीमा अंकित, फिर्दोस अन्सारी र सुजन बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन सम्झनलायक छैन । कोशी सबै चार खेलमा पहिला नै ब्याटिङ गरेर हारेको छ । त्यसैले आज लक्ष्य पछ्याउन चाहन्छ । त्रिविमा मैदान कीर्तिपुरमा दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीलाई निकै फाइदा पनि हुने गर्दछ ।

पछिल्लो खेलमा कोशी आर्मीसँग ७०–२ को अवस्थाबाट ८८ रनमा नाटकीय रुपमा अलआउट भएको थियो । ठूलो अपेक्षा गरिएका सोनु अन्सारी भने चल्न सकेका छैनन् । वायाँ हाते तीव्र गतिका बलर कमल खत्रीसँगै सोनु मण्डल र अभ्यास तिमिल्सिना तीव्र गतिका हतियार हुन् । नेपालको नेट बलर कमल बागमतीलाई घातक बन्नसक्ने कोशीका हतियार हुन् । आज मूलपानी र भैरहवामा भने खेल छैन ।

प्रतियोगितामा सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा २ मा जित र १ मा हारसहित २ अंकका साथ नेट रन रेटका कारण तेस्रो स्थानमा छ ।

एपीएफ ३ खेलमा समान नतिजाका साथ ४ अंक भए पनि चौथो स्थानमा छ । १० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्न पाउनेछन् । प्रतियोगिता शीर्ष चार टोलीले क्यानले आयोजना गर्ने इलिट ट्रफी खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?