+
+

आशुतोषको सानदार शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १३:१५

५ माघ, काठमाडौं । ओपनर आशुतोष घिरैयाको सानदार शतकमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २७४ बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भयो ।

बागमतीका ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

बायाँ हाते तीव्र गतिका बलर कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर टियु एन्डतर्फ थर्डम्यानमा चौका हान्दै उनले ९९ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए ।

आशुतोषले शतक अघि महत्वपूर्ण एक जीवनदान पाएका थिए ।

चोभार एन्डबाट आएका कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । त्यो जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ड्रिम शतक हाने ।

आशुतोष यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध ९२ रनमा आउट भएका थिए । त्यो नै यसअघि उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो ।

लेग स्पिनर हेमन्त राईलाई ३३ औं ओभरको पहिलो बलमा लङअफमा छक्का हान्ने धुनमा आशुतोष ११८ रनमा क्याच आउट भए । लङअफका फिल्डर कमल खत्रीले उत्कृष्ट ड्राइभ हान्दै एक सानदार क्याचका साथ उनको इनिङ अन्त्य गरे ।

वागमतीलाई ओपनर ईशान पाण्डे र आशुतोषले ५.१ ओभरमा २८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

ईशान ६ रनमा कमलको बलमा मिडअनमा भुपाल लुईटेलबाट क्याच आउट भएका थिए ।

त्यसपछि दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे । रित बायाँ हाते बलर अभ्यास तिमिशिनाको बलमा एज लागेर विकेटकिपर सोनु अन्सारीबाट क्याच आउट हुन पुगे । रितले ६० बलमा ३ चौकासहित ४९ रन बनाए ।

विकेटकिपर रविन जोशी ४५ बलमा ३ चौका र १ छक्कासहित ४३, प्रतीक श्रेष्ठ १९ र अशोक पौडेल ५ रनमा आउट भए । ठूलो सट खेल्ने धुनमा तल्लोक्रमका ब्याटर सस्तैमा आउट भएका थिए ।

विपिन आचार्य र सूर्य तामाङले ९(९ रन बनाए । वागमती ४० ओभरमा २३०–४ को अवस्थामा थियो । त्यसपछि बाँकी ८.३ ओभरमा ४३ रन बनाउन ६ विकेट गुमाएपछि ३ सय माथिको विशाल योगफल बनाउने अवसर गुमाएको थियो ।

कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ९.३ ओभरमा ५१ रन खर्चेर १ विकेट लिए । हेमन्त राईले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । फिर्दोस अन्सारीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?