+
+

इमेज सहकारीमा नयाँ समिति गठन, संस्थापक अध्यक्षको सम्पत्तिबाट बचत फिर्ता गराउने योजना

अमृत सुवेदी अमृत सुवेदी
२०८० माघ ६ गते २१:०८

६ माघ, पोखरा । फरार संस्थापक अध्यक्ष देवकुमार नेपालीको सम्पत्ति सहकारीको नाममा ल्याउने योजनासहित सेयर सदस्य र बचतकर्ताले इमेज बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारणसभा गरेका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका संस्थापक अध्यक्ष नेपालीको चाहनाअनुसार सहकारीलाई ब्यूँताउने, सम्पत्ति लिलाम हुनबाट बचाएर सहकारीकै नाममा ल्याएर पीडितको हिसाब मिलान गर्ने योजनासहित शनिबार बागलुङमा विशेष साधारण सभा गरिएको हो ।

गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । तर, नेपालीको सम्पत्ति लिलाम गर्न बैंकहरुले प्रक्रिया अगाडि बढाएपछि बचतकर्ता र अन्य शेयरधनीले सो सम्पत्ति सहकारीको नाममा ल्याउन विशेष साधारण सभा बोलाएर ८ महिनादेखि बन्द सहकारीको कारोबार सञ्चालन गर्न खोजेका हुन् ।

विशेष साधारण सभाले कृष्णबहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । उपाध्यक्षमा बालकुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कंडेल तथा सदस्यहरुमा गुप्तबहादुर खत्री, कृष्णा कार्की र अजिजउल मिया चयन भएका छन् ।

यसैगरी हरिबहादुर कार्कीको अध्यक्षतामा लेखा सुपरीवेक्षण समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा कुलबहादुर राना र गोमा विश्वकर्मा छन् ।

बागलुङ बजारमा मुख्य कार्यालय र गलकोट तथा बुर्तिबाङमा सेवा केन्द्रका नाममा चलेको शाखाका सेयर सदस्य र बचतकर्ताले नयाँ सञ्चालक समिति गठन गरेको इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए ।

‘गण्डकीको सहकारी रजिस्ट्रार कार्यालयको अनुमति लिएरै विशेष साधारण सभा गरिएको हो । रजिस्ट्रारसँगै राखेर सम्बन्धित विभागीय मन्त्रीसँग पनि छलफल भएकै हो,’ संयोजक कार्कीले भने, ‘अब विशेष साधारण सभाको निर्णय, नयाँ सञ्चालक समितिसहित सहकारीलाई वैधानिकता दिन फेरि आवश्यक कागजातसहित रजिस्ट्रारको कार्यालयमा जान्छौं ।’

गत पुस १३ गते प्रदेशभित्रको सहकारी हेर्ने गण्डकीको कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, रजिस्ट्रारसहित पीडितहरुको बैठक भएको थियो । मन्त्रीलेसमेत अगाडि बढ्न भनेपछि गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकलाई प्रमुख अतिथि बनाएर शनिबार विशेष साधारण सभा गरिएको कार्कीले जानकारी दिए ।

विशेष साधारण सभाले सञ्चालक समिति गठनसँगै सहकारीलाई वैधानिक रुपमा ब्यूँताएर पीडितको रकम फिर्ता गर्न समन्वय गर्ने निर्णय भएको अध्यक्ष कृष्णबहादुर सार्कीले जानकारी दिए ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ४ मा संस्थाको सञ्चालक वा व्यवस्थापकबाट आफ्नो जिम्मेवारी पूरा नगरी संस्था सञ्चालनमा समस्या उन्पन्न भएको अवस्थामा दर्ता अधिकारीलाई जानकारी दिई साधारण सदस्यहरु मध्येबाट बहुमत सदस्य उपस्थित भई विशेष साधारणसभा गर्न सकिने व्यवस्था छ ।

गत मंसिर ४ गते इमेज सहकारी बागलुङका बचतकर्ता र शेयरधनीले विशेष साधारण सभा बोलाएर नयाँ कार्यसमिति गठन गर्ने र सहकारीको कारोबार सुरु गर्ने निर्णय गरेका थिए । त्यसैको भोलिपल्ट मंसिर ५ गते मेयर नेपालीले फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।

फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर मेयर नेपाली र श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए ।

बागलुङमा तयारी भएपछि पोखरामा पनि पुस २२ गते बचतकर्ता तथा शेयरधनीको बैठक बसेर माघ १० गते पोखरामा पनि विशेष साधारण सभा गर्ने निर्णयसहित हस्ताक्षरसहित कार्यक्रम स्वीकृत गरिदिन पोखरा महानगरको सहकारी शाखामा निवेदन दिएका छन् ।

बागलुङ र पोखरामा रहेको इमेज सहकारीमा सवा २ अर्ब डुबेपछि लामो समयदेखि आन्दोलनरत बचतकर्ता तथा शेयरधनीले सहकारी ब्युँताएर हिसाब मिलान गर्ने योजना अगाडि बढेका हुन् ।

सहकारीले लिएको ऋण उठाउन राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आइएमई बैंकले सम्पति लिलामीको प्रक्रिया अगाडि बढाएपछि बचतकर्ताहरु संगठित भएका हुन् ।

इमेज सहकारीले राष्ट्रिय सहकारी बैंकबाट २५ करोड, गरिमा र ग्लोबल आईएमई बैंकबाट १० करोड गरी ३५ करोड रुपैयाँ ऋण लिएर नतिरेपछि बैंकहरुले सम्पत्ति लिलामीको प्रक्रिया अगाडि बढाएपछि बचतकर्ता संगठित भएर विशेष साधारण सभामार्फत संस्था पुनः सञ्चालन गर्न लागेका हुन् ।

बैंकहरुले ३५ करोड ऋण उठाउन २ अर्बको सम्पत्ति लिलामीमा राख्न खोजेपछि संस्थापक अध्यक्ष नेपालीका तर्फबाट वकिलले बचतकर्तालाई भेटेका थिए । त्यहीअनुसार ६ महिनाभित्र सबै सहकारीको हिसाब मिलाउने भन्दै बैंकहरुलाई पत्र नै लेखेर आग्रह गरिएको इमेज सहकारी पीडित मूल समितिका संयोजक कार्कीले बताए ।

बागलुङको इमेज सहकारी गण्डकी प्रदेश मातहत छ भने पोखराको सहकारी महानगर मातहत छ । मंसिर ४ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेलगत्तै देवकुमारको तर्फबाट अधिवक्ता नानीबाबु बुढाथोकी बचतकर्तासँग सम्पर्क गरी छलफल गर्न पुगेका थिए ।

अधिवक्ता बुढाथोकीले नेपालीले आफ्नो सम्पत्तिबाट सबै हिसाब मिलान गर्न सहजीकरण गरिदिन आग्रह गरेको कार्कीले जानकारी दिए ।

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?