+
+

ज्ञानेन्द्र शाहलाई ‘राजा’ लेख्न नपाएपछि सरकारसँग रिसाए राप्रपा सांसद

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते २१:०९

७ माघ हेटौंडा । आइतबार हेटौंडा आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ लेख्न नपाएपछि राप्रपा नेता कार्यकर्ता सरकारसँग रिसाएका छन् ।

शाहको हेटौंडा भ्रमणका बेला ठाउँठाउँमा बनाइएका स्वागत गेटमा उनलाई ‘राजा’ सम्बोधन गरेपछि स्थानीय प्रशासनले त्यसलाई संशोधन गरेर पूर्वराजा लेख्न लगाएको थियो । राप्रपा नेता तथा सांसद दीपकबहादुर सिंहले आइतबार पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रलाई ‘राजा’ लेख्दा नै गणतन्त्रवादी सरकार डराएको आरोप लगाए ।

पूर्वराजा शाहले आइतबार हेटौंडाको चुरियामाई मन्दिर, ज्याङछुपलिङ पोताला गुम्बा र भूटनदेवी मन्दिरमा पूजा गरेका थिए । उनको स्वागतका लागि हेटौंडामा सांसद सिंहको संयोजकत्वमा ११११ सदस्यीय बनाइएको थियो । उक्त समितिले हेटौंडा बजारका विभिन्न क्षेत्रमा बनाएको स्वागत गेटमा ‘राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ लेखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा प्रहरीले आइतबार स्वागत गेटमा ‘पूर्वराजा’ लेख्न लगाएको थियो । ‘बिहानै प्रशासनबाट फोन गरेर पूर्वराजा लेख्नुपर्‍यो भनेर मलाई भने । मैले जे–जे भन्छ त्यही लेख्न मिल्दैन नि भने । माथिबाट प्रेसर आयो भनियो’, सिंहले भने, ‘मैले गृहमन्त्रीज्यूलाई फोन गर्दा उहाँको फोन उठेन । गृहसचिवलाई फोन गरेर सोधेपछि उहाँले कहाँ राजा लेख्न पाइन्छ त भनेर भन्नुभयो ।’

नेता सिंहले पूर्वराजा नलेखेर राजा लेख्दैमा सरकार डराउँछ भन्ने आफूले नसोचेको बताए । आफूहरुले विवाद गर्न नचाहेर डटपेनले ब्यानरमा पूर्वराजा लेखेको उनले बताए ।

सिंहले राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले फागुनदेखि आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?