+
+

अयोध्यामा राममन्दिर प्राण प्रतिष्ठाको किन यति धेरै चर्चा भइरहेको छ ?

तीन तले राममन्दिरको निर्माणले पूर्णता भने डिसेम्बरमा मात्रै पाउनेछ । निर्माण नसकिई नै चुनावी फाइदा हेरेर उदघाटनमा लागेको भन्दै कतिपय पुरोहितहरुले मोदीको आलोचना गरेका छन् ।

एजेन्सी एजेन्सी
२०८० माघ ८ गते १२:४९

८ माघ, काठमाडौं । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठा विशुद्ध धार्मिक-आध्यात्मिक विषय हुनुपर्ने भए पनि यसले राजनीतिक रुप पाएको छ । हिन्दूहरुका देवता रामको भन्दा ठूलो तस्बिर ‘कटआउट’ नरेन्द्र मोदीको लगाइएको भन्दै एकथरिले विरोध गरिरहेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कट्टर हिन्दुवादी भारतीय जनता पार्टीका नेता हुन् । राम मन्दिर र बाबरी मस्जिदमध्ये कसको आधिकारिक स्थल भनी विगतमा पटक-पटक विवाद भएको विषयमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)कै अग्रसरता भएका कारण पनि यसले राजनीतिक रंग पाउँदै गएको हो ।

सोमबार नै अयोध्यामा राम मन्दिरमा खडा गरिएको रामको प्रतिमालाई प्राण प्रतिष्ठा गराउने कार्यक्रम छ, जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य यजमान बनेर उपस्थित छन् । उत्तरप्रदेशभरिमात्रै नभएर भारतभरि नै यसको अवसर पारी विभिन्न कार्यक्रमहरु जारी छन् ।

प्राण प्रतिष्ठाका बेला सार्वजनिक बिदा घोषणा गरिएको छ । द वायर न्युजपोर्टलका अनुसार कतिपय अस्पतालजस्ता अत्यावश्यक क्षेत्रसमेत बिदा गराइएको छ । स्टक मार्केटदेखि अरु थुप्रै वित्तीय निकायहरु पनि बन्द भएको भारतको अर्को पोर्टल मिन्टले बताएको छ । रेलवे सेवा निःशुल्क गराइएको छ भने थुप्रै ठाउँमा बिजुली नकाट्ने, कतिपय ठाउँमा चाहिँ बिजुली काट्ने निर्णयहरु भएका छन् ।

प्राणप्रतिष्ठाका दिन सोमबार अयोध्या लगायत धेरैजसो ठाउँमा माछामासु प्रयोग वर्जित गरिएको छ । त्यहाँको सरकारी निर्णयलाई पछ्याउँदै अन्यत्रका कतिपय सरकारले समेत सार्वजनिक बिदा घोषणा गरेका छन् । यसरी बिदा घोषणा गर्नेमा नेपालका विभिन्न ठाउँका स्थानीय सरकार पनि छन् ।

सप्तरीको राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राजविराज नगरपालिकाभित्रका सबै निकायले त्यो दिन बिदा गर्नुपर्ने, माछामासु आदि प्रतिबन्ध लगाउनुपर्ने नगरपालिकाको निर्णय छ । रौतहटको गौरलगायत क्षेत्रमा पनि यस्तो निर्णय भएको छ । स्थानीय तहका नगरपालिका, वडा कार्यालय, शैक्षिक संस्था, कतिपय स्वास्थ्य संस्था -अतिआवश्यकबाहेक) समेत बन्द गराउन स्थानीय सरकारको आह्वान छ ।

यसरी बिदा दिनेमा कपिलवस्तुका शिवराज, कपिलवस्तु र कृष्णनगर नगरपालिका तथा शुद्धोदन गाउँपालिका पनि छन् । यसैगरी राजधानी काठमाडौंमा पशुपतिनाथ, जनकपुरको जानकीमा आयोजना हुने विशेष समारोहका साथै कतिपय सार्वजनिक तथा निजी संस्थाहरुले प्राण प्रतिष्ठाको कार्यक्रम आयोजना गरेका छन् ।

शंकराचार्यहरुको विरोध

भारतमा कतिपय सन्त महन्थले भने मन्दिर निर्माणको सम्पूर्ण काम नसकिँदै भारतको लोकसभा चुनावअघिको ठूलो काम भनी देखाउनका लागि मोदी तथा आदित्यनाथको टिमले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गराएको भनी आलोचना गरेका छन् । हिन्दुत्ववादी राजनीतिक एजेन्डाकै बलमा सफल हुँदै आएको भाजपा तथा उसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को राजनीतिक दिशानिर्देशका भरमा अयोध्या चल्न खोजेको भन्दै आलोचना गर्नेमा चार जना शंकराचार्य तथा महन्थहरु छन् ।

शास्त्रको उल्लंघन गर्दै आयोजना गरिएको कार्यक्रममा आफूहरु सरिक नहुने उनीहरुले बताएका छन् । हिन्दु शास्त्रले शंकराचार्यलाई हिन्दु धर्म गुरुहरुको सर्वोच्च पदमा राख्छ । धर्मप्रचार प्रसारका लागि बदि शंकराचार्यले चारवटा मठ स्थापना गरेका थिए । ती चारवटै मठका शंकराचार्यहरुको तर्फबाट प्राणप्रतिष्ठामा सहभागी नहुने विज्ञप्ति आठ जनवरीमै निकालिसकेका थिए ।

शंकराचार्य अविमुक्तेश्वरानन्दले भनेका छन्, ‘शास्त्रको पालना गरेर प्राणप्रतिष्ठालाई पूर्णता दिने हाम्रो जिम्मेवारी हो । मन्दिर अपुरो रहेको अवस्थामा अचानक प्रतिष्ठा गर्नुपर्ने कारण देखिँदैन । हामी आशक्ति वा घृणाका कारणले नभएर शास्त्रको पालना नभएका कारण त्यहाँ नजाने भएका हौँ ।’

हिन्दुत्ववादी स्वयंसेवकहरुले अयोध्यामा बाबरी मस्जिद भत्काएर राममन्दिर खडा गरेपछि चुलिएको तनावको तीन दशकपछि अयोध्यामा प्राणप्रतिष्ठा चलेको हो । यसरी काम नै नसकिएको परियोजनामा बीचैमा आफ्नो फाइदाका लागि प्राणप्रतिष्ठा गराउँदा धर्मको अपमान हुने भन्दै पुरी र जोशी मठका शंकराचार्यहरुले मोदी सरकारबाट मूर्ख प्रयास भएको आलोचना गरेका छन् ।

प्राण प्रतिष्ठा २२ जनवरीमै किन ?

आलोचनाहरुकै बीच भारतीय समय अनुसार मध्याह्न १२ः१५ देखि १२ः४५ सम्म प्राणप्रतिष्ठा पूजा आयोजना गराइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका पण्डित दुर्गा प्रसाद गौतमले विशेष पूजा गराए । कार्यक्रममा सरिक हुनका लागि ७ हजार जनालाई श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले आमन्त्रण गरेको थियो ।

हिन्दु पौराणिक कथा अनुसार श्री रामको जन्म अभिजित मुहूर्त, मृगशीर्ष नक्षत्र तथा अमृत सिद्धी योग र सर्वार्थ सिद्धी योग मिलनको समयमा भएको मानिन्छ । २२ जनवरी २०२४ मा यसको मुहूर्त परेको हुनाले अयोध्यामा श्री रामको मूर्तिको प्राणप्रतिष्ठा गर्ने तय भएको हो ।

प्राण प्रतिष्ठा कार्यक्रमअघि भारतीय प्रधानमन्त्री मोदी हनुमानगढी पुगे । त्यहाँ पुगेर उनले रामको मूर्ति प्राणप्रतिष्ठाका निम्ति हनुमानको अनुमति लिने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले लेखेको छ ।

श्री रामपछि अष्टचिरञ्जिबी मध्येका एक हनुमानले अयोध्यामा राज गरेको हुनाले उनको अनुमति लिनुपर्ने विश्वास रहेको छ । हनुमानको अनुमति लिएर अयोध्या पुगेसँगै १२१ वैदिक ब्राह्मणहरुले मन्त्रोचारण गरेर मोदीलाई पूजा गराए ।

राममन्दिर निर्माणको थालनी सन् २०२० देखि भएको हो । २०२० को अगस्ट ५ मा भारतीय प्रधानमन्त्री मोदीले शिलान्यास गरेका थिए । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न भन्दै बाबरी मस्जिद निर्माणका लागि अन्यत्र जमिन दिन आदेश दिएपछि मोदीले मन्दिर शिलान्यास गरेका थिए ।

प्राणप्रतिष्ठा गरिएको राम मन्दिर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको रेखदेखमा निर्माण हुँदै आएको छ । तीन तले राममन्दिरको निर्माणले पूर्णता भने यस वर्षको डिसेम्बरमा अन्त्यतिर मात्रै पाउनेछ । यसरी निर्माण नसकिई नै उदघाटन गरेको भन्दै कतिपय पुरोहितहरुले आलोचना गरेका हुन् ।

मन्दिरको खर्च कति ? कसले बनायो रामको मूर्ति ?

मन्दिरको निर्माणको लागत १८ सय करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । निर्माण सामग्री, यान्त्रिक सामग्री, श्रमिक तथा अन्य प्रशासनिक गरी १८ सय करोड भारु खर्च हुने प्रक्षेपण छ ।

अहमदावादका चन्द्रकान्त सोमपुराले तीन तले राममन्दिरको स्वरुप बनाएका हुन् । पुरातात्विक सम्पदाको स्वरुप निर्माणमा चन्द्रकान्तका पुस्ता पनि सक्रिय थिए ।

सम्पदाको स्वरुप निर्माणमा क्रियाशील चन्द्रकान्त १५ औँ पुस्ता हुन् । हालसम्म सोमपुराको पुस्ताले विश्वभर १०० वटा मन्दिरको स्वरुप बनाएको छ । सोमनाथ मन्दिरको स्वरुप पनि उनकै पुस्ताले तयार गरेको थियो ।

यता, राम मन्दिरमा राखिएको मूर्ति भने कर्नाटकका अरुण योगीराजले कुदेका हुन् । उनले ३ सय वर्ष पुरानो चट्टानबाट मूर्ति बनाएको दाबी गरिएको छ । द हिन्दुले भारतीय भूगर्भविद् सी श्रीकान्तप्पाको हवाला दिँदै लेखेको छ, ‘राममूर्ति बनाउने चर्चा भएसँगै तीन दशकदेखि मइसुर विश्वद्यालयले उपयुक्त चट्टानबारे अनुसन्धान गरिरहेको थियो । त्यसै क्रममा दक्षिण भारतमा फेला परेको यो चट्टान मूर्ति निर्माणका लागि उपयुक्त पाइयो ।’

दर्शनार्थीहरुका निम्ति तेजिलो प्रभाव छोड्न कमलको फूलको पत्ताझैँ आँखा, चन्द्रमाझैँ चम्किलो अनुहारका साथै घुँडासम्म फैलिएको हात सहितको मूर्ति निर्माण गरिएको छ ।

यस मूर्ति निर्माणका क्रममा मूर्तिकारले रामचरित्रमानस र बाल्मिकी रामायणमा रामबारे उल्लेख गरिएका वर्णनलाई आधार मानेका थिए । यो मूर्ति एक हजार वर्षसम्म पनि केही नहुने दाबी गरिएको छ ।

भाजपाको राजनीतिक मुद्दा

राममन्दिरको एजेण्डाबाट उदाएको भाजपाको यसपटकको चुनावमा फेरि यसै मुद्दालाई उछालेर बलियो हुने रणनीति बनाएको देखिन्छ । सन १९९० ताका निकै सानो दल रहेको भाजपाले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर स्थापना गरेरै छाड्ने बाचा गरेको थियो ।

त्यसका निम्ति उसले अभियान पनि सञ्चालन गर्यो । त्यसकै जगमा वृहत भएको भाजपाले अहिले नरेन्द्र मोदीको सत्ता नेतृत्वमा हिन्दुत्वको राजनीति गरिरहेको छ । अहिले लोकसभाको चुनावअघि श्री रामको मूर्ति प्राणप्रतिष्ठा गर्दै बहुमत ल्याउने दाउ उसको रहेको छ ।

सन् १९९० मा हजारौं हिन्दु स्वयंसेवकहरु अयोध्यामा उपस्थित भएका थिए । त्यसबेला झडप हुँदा प्रहरीले गोली चलाउनुपरेको थियो । प्रहरीको दमनका बाबजुद स्वयंसेवकहरु विचलित भएनन् । उनीहरुले दोस्रो प्रयासमा मस्जिद कब्जा गरे ।

‘पहिलोपटक हामीमाथि दमन भयो । त्यसको दोस्रो वर्षमा हामीले दमनको सामना गर्दै अघि बढ्यौँ । प्रशासन हतियार सहित उत्रिएपछि हामी पनि तरबारसँग उत्रियौँ । अन्ततः हामीले मस्जिद भत्कायौं,’ त्यस प्रकरणमा जेल बसेर आएका सन्तोष दुबेले बीबीसीसँग भनेका छन् ।

सन् १९९२ मा यही कारण विभिन्न सहरमा भएको दंगामा २ हजारको ज्यान गएको थियो । यसपटक पनि ती मानिसमा त्रास कायमै छ । ६५ वषर्ीया शयबले आफ्ना ३० वर्षीय छोरालाई उदघाटनको दिन सहर छोड्न भनेकी छिन् । बीबीसीसँग उनले भनेकी छन्, ‘यहाँ के हुन्छ भन्न सकिँदैन त्यसैले छोरालाई मैले अयोध्या छोड्न भनेकी हुँ ।’

लोकसभाको सम्मुखमा श्री रामको मूर्तिको प्राणप्रतिष्ठा गरेर बहुमत ल्याउने दाउ अनुसार भाजपाले संविधानको उल्लंघन गर्दै धार्मिक कार्यक्रमलाई राज्यको उत्सव बनाएको कतिपयको आरोप छ । यद्यपि भाजपाका नेता लल्लु सिंह भन्छन्, ‘बहुसंख्यक हिन्दु रहेको राज्यका प्रधानमन्त्री र हिन्दु धर्म मान्ने प्रधानमन्त्रीले रामको मूर्ति प्राणप्रतिष्ठा गरेर कुनै गलत गरेका छैनन् ।’

तर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले मन्दिरको निर्माण सम्पन्न अघि नै गर्न लागिएको प्राणप्रतिष्ठालाई चुनावी फाइदा लिने तरिकाको रुपमा हेरेको छ । उसले विज्ञप्ति नै जारी गरेर भनेको छ, ‘करोडौं मानिसहरुले पूजा गर्ने श्रीरामलाई भाजपाले राजनीतिक परियोजना बनाएको छ । निर्माण पूरा नभएको अवस्थामा गरिने प्राणप्रतिष्ठा चुनावी फाइदा उठाउने तरिका मात्रै हो ।’

– विभिन्न एजेन्सीहरुको सहयोगमा

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?