+
+

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : नेपालका दुर्गा प्रसादले गराउने छन् मोदीलाई पूजा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते ११:५८

८ माघ, काठमाडौं । भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । दिउँसो १२ः२० बजेदेखि सुरु हुने भव्य अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी छन् ।

प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ ।

राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन् । अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेष रुपमा सजाइएको छ । प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आज हाफ छुट्टीसमेत दिइएको छ ।

नवभारत टाइम्सका अनुसार नेपालका पुजारी आचार्य दुर्गा प्रसाद गौतमले विशेष धार्मिक समारोहको नेतृत्व गर्ने छन् । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले गौतमलाई पठाएको पत्र अनुसार उनले प्रधानमन्त्री मोदीसहित हजारौं हिन्दु भक्तहरुको सामु वैदिक मन्त्रोच्चारण गर्ने छन् ।

आचार्य दुर्गा प्रसाद गौतम झापाको मेचीनगर निवासी हुन् । अयोध्याको राम मन्दिरको शिलान्यास गर्ने बेलामा पनि उनैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पूजा गराएका थिए ।

दुर्गा प्रसाद गौतम झापाको मेचीनगर निवासी हुन् । उनलाई प्राण प्रतिष्ठामा सहभागी हुन श्रीराम तीर्थ निर्माण ट्रस्टले निम्तो दिएको थियो । सन् २०२० को अगस्ट ५ मा मन्दिरको शिलान्यास गर्ने बेलामा पनि उनैले पूजा गराएका थिए । त्यतिबेला देखि नै उनी अयोध्याको राम मन्दिरसँग जोडिँदै आएको नवभारत टाइम्सले लेखेको छ ।

अयोध्यामा जनकपुरको जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उनका उत्तराधिकारी राम रोशन दास र पशुपति मन्दिरका पुजारी गणेश भट्ट लगायतलाई पनि निम्तो गरिएको छ ।

मस्जिद हटाएर बनाइएको थियो राम मन्दिर

अहिले राम मन्दिर रहेको स्थानमा १६ औं शताब्दीमा बनेको बाबरी मस्जिद थियो । त्यहाँको जमिनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच वर्षौंदेखि विवाद थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतको हिन्दुको पक्षमा फैसला सुनाएपछि मस्जिद हटाएर राम मन्दिर बनाइएको हो ।

अयोध्यामा बनाइएको राम मन्दिर

हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ ।

हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन् । तर मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन् ।

यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो । त्यसपछि भडि्कएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान गयो ।

हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले । त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो ।

तर भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय बेञ्चले अयोध्याको विवादित जग्गामा हिन्दूहरुकै हक लाग्ने फैसला गरेको थियो । साथै ट्रष्टमार्फत मन्दिर बनाउन र मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार राम जन्मभूमि ट्रष्टमार्फत् अयोध्यामा भव्य राम मन्दिर बनाइएको हो । राम मन्दिर ७.२ एकड जग्गामा बनेको छ । मन्दिरको पूरै जग्गा भने ७० एकड छ । तीन तले राम मन्दिर बनाउन झन्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको अनुमान छ । मन्दिरको गर्भगृहमा सवा चार फिट अग्लो रामको मूर्ति राखिएको छ ।

ट्रष्टका अनुसार मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन राजनीतिक दलका नेता, प्रमुख सन्त, धर्म गुरु, नेता, कलाकार, खेलाडी, उद्योगी लगायतलाई निम्तो गरिएको छ । उनीहरु अयोध्या पुगिसकेका छन् ।

आजको समारोहलाई मध्यनजर गरी सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । सुरक्षा प्रबन्धमा प्रविधि प्रयोग धेरै गरिएको छ ।

केही हिन्दू सन्त नेता र विपक्षीहरुले भने राम मन्दिरको प्राण प्रतिष्ठाको कार्यक्रम बहिस्कार गरेका छन् । प्राण प्रतिष्ठालाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् ।

नेपालमा पनि उल्लास

सिंगारिएको मधेशको एक राम मन्दिर ।

अयोध्यामा प्राण प्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । कपिलवस्तुको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाले आज सार्वजनिक विदा दिएका छन् । सप्तरीको राजविराज नगरपालिकाले पनि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसैगरी रौतहटका विभिन्न पालिकाका राम मन्दिरहरुमा पूजापाठ, सरसफाइ तथा माछामासु र मदिरा बिक्री वितरण बन्द गरिएको छ ।

जनकपुरस्थित जानकी मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । त्यहाँ आज सवा लाख दीप प्रज्ज्वलन गरिँदै छ ।

रामको ससुराली भनेर चिनिने जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपालका पवित्र जलासयबाट संकलन गरिएको जल र उपहारहरु अयोध्या पठाइएको थियो ।

रामको मन्दिरमा प्रयोग गर्न भनेर नेपालको कालीगण्डकीबाट शालिग्राम समेत अयोध्या लगिएको थियो । तर त्यसको प्रयोग नगरी मन्दिर परिसरमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?