+
+

अयोध्या पुग्दै भारतीय सेलिब्रेटी, प्राण प्रतिष्ठामा रजनीकान्तदेखि अमिताभसम्मलाई निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १७:११

काठमाडौं । सोमबार भारतको अयोध्यामा हुन लागेको श्रीराम मन्दिरको प्राण प्रतिष्ठामा फिल्म, टेलिभिजन र संगीतका सेलिब्रेटीको पनि सहभागिता हुने भएको छ । सरकारले विभिन्न कलाकारलाई अयोध्या आउन निम्तो दिएको छ ।

जसअनुसार दुई दर्जनभन्दा चर्चित सेलिब्रेटी आइतबार बेलुकासम्म अयोध्या पुगिसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साउथका सुपरस्टार रजनीकान्त, प्रभास, अल्लु अर्जुन, जुनियर एनटीआर, चिरञ्जीवि, मोहनलाल, धनुष अयोध्या पुगेका छन् ।

बलिउड कलाकार अक्षय कुमार, अजय अजय देवगण, कंगना रनौत, माधुरी दीक्षित र उनका पति श्रीराम नेने, हेमा मालिन र सन्नी देओल, अनुपम खेर, मधुर भण्डारकर, सञ्जयलीला भन्साली, श्रेया घोषाल, कैलाश खेर, शंकर माधवन, अनुप जलोटा, सोनु निगम, रणवीर कपुर, आलिया भट्ट लगायतलाई पनि निम्तो दिइएको छ ।

साथै, अनुष्का शर्मा र क्रिकेटर पति विरोट कोहली, रिसव सेट्टी, सुवास घई पनि अयोध्या पुग्ने भएका छन् । टेलिभिजन सिरिज ‘रामायण’का सबै कास्ट अयोध्या पुगिसकेका छन् । श्रीराम बनेका अरुण गोविल, सीता बनेकी दीपिका चिखिला, निर्देशक चन्द्रप्रसाद द्विवेदी, लता मंगेशकरका परिवार सदस्यहरुसहित केही टेलिभिजन कलाकार निम्तो दिइएको छ । केही क्षेत्रीय कलाकारलाई पनि निम्तो दिइएको छ ।

अभिनेता अमिताभ बच्चनले त अयोध्या राम मन्दिर नजिकै नयाँ घर किनेको खबर आएको थियो । बलिउड अभिनेता रणदीप हुड्डा र उनकी पत्नी पनि आइतबार बेलुका नै अयोध्या पुगिसकेका छन् ।

शनिबार नै अयोध्या पुगेकी कंगनाले त्यहाँको हनुमानगढी मन्दिरमा कुचो लगाएको फोटो भाइरल बनेको छ । अयोध्या पुग्निबित्तकै उनले यज्ञ गरेकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २२ लाई राष्ट्रिय दिवसको रुपमा मनाउन आग्रह गरिसकेका छन् । भारतका कतिपय राज्यले सोमबार बिदा समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?