+
+

कोटा बढ्दा पनि किन ह्वात्तै घट्यो सुन आयात ?

सहकारी तथा लघुवित्तमा जनताको पैसा फसेका कारण समेत सुनमा आउने लगानी अपेक्षित आउन नसकेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८० माघ ८ गते १९:२४

८ माघ, काठमाडौं । मुलुकमा सुन आयात कोटा बढ्दा पनि भित्रिने परिमाणमा ठूलो गिरावट आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिना (साउन–पुस) मा २९ अर्ब २० करोड रुपैयाँबराबरको सुन आयात भएको थियो ।

तर, चालु आव २०८०/८१ को पहिलो ६ महिना (साउन–पुस) मा भने आयात घटेर ११ अर्ब ८९ अर्बमा सीमित भएको छ । यसले सुन आयात झन्डै तीन गुणा कम भएको देखिन्छ ।

सरकारले कोभिड महामारीका बेला सुन आयात कोटा दैनिक १० किलोमात्र हुने गरी घटाएको थियो । त्यसलाई नेपाल राष्ट्र बैंकले गत असोजमा दैनिक परिमाण २० किलोमा पु¥याएको थियो । तर, परिमाण बढाउँदा पनि सुन आयात भने बढ्न सकेन ।

आखिर किन बढ्न सकेन त सुन आयात ?

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्य उपभोग घट्दा आयातमा गिरावट आएको बताउँछन् ।

‘कोभिडपछि सुनमा हुने लगानीमा कमी देखिएको छ,’ शाक्य भन्छन्, ‘यो माघ महिना हो नि, तर पनि व्यापारमा उत्साह छैन ।’

यसबीच सहकारी तथा लघुवित्तमा जनताको पैसा फसेका कारण समेत सुनमा आउने लगानी अपेक्षित आउन नसकेको उनको भनाइ छ ।

कोभिड महामारीलगत्तै विदेशी मुद्रा सञ्चिति घट्न थालेसँगै सरकारले आयात कडाइ गर्न भन्दै सुनको कोटा घटाएको थियो । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले दैनिक आयात कोटा १० बाट २० किलो बनाएको थियो ।

महँगो मूल्य

सोमबार सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघ कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यका अनुसार मध्यपूर्वमा चर्किएको द्वन्द्वसँगै अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको क्षेत्रका रूपमा लिँदै लगानी बढाइरहेका छन् ।

यसले सुनको भाउमा निरन्तर चाप देखिएको छ । नेपाली बजारमा चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुनको भाउ अकासिएको छ । उपभोक्ताको क्रयशक्ति घट्नु र बजार मूल्य अकासिनुले सुन आयात घटाउन मुख्य भूमिका खेलिरहेको महासंघ अध्यक्ष शाक्य बताउँछन् ।

तस्करी सुनको हात कति ?

नेपाल प्रहरीले स्थलदेखि हवाई मार्गबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरिरहेको छ । सुनको वैधानिक आयात घट्नुमा चोरीको सुन बजारमा सहजै उपलब्ध हुनुलाई समेत एक कारण मानिएको छ ।

सरकारले केही समयअघि झिटीगुन्टामा मात्र कडाइ गरी दैनिक २१ किलोसम्म सुन बरामद गरेको थियो । विदेशबाट आउने नागरिकबाट समेत स–सानो परिमाणमा सुन भित्रिँदा त्यसले वैधानिक आयात निरुत्साहित बन्ने गरेको छ ।

कर वृद्धि प्रभाव छ ?

सरकारले चालु आर्थिक वर्षबाट लागु हुने गरी सुनमा विलासिता कर लगाएको छ । खासगरी १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहना किन्दा २ प्रतिशत विलासिता कर तिर्नुपर्छ ।

यसले सुनको भाउ थप महँगो बनेको छ । यसका कारण पनि सुन महँगो बनेको गुनासो व्यवसायीको छ । सरकारले सुनसँगै पाँचतारे होटलका कोठा, मदिरामा समेत यस्तो कर लगाएको छ ।

भविष्यको लगानी सुनबाट सेयर र घरजग्गामा कति डाइभर्ट ?

सुनलाई नेपालीले परम्परागतरूपमा भविष्यको लगानी मानेर खरिद गर्ने गर्छन् । तर, पछिल्लो पुस्ता भने यसबाट अलग छ ।

नयाँ पुस्ताले सुनमा लगानी गर्नुको सट्टा सेयर बजार, घरजग्गा वा स–साना व्यवसाय सुरुवातमा रकम लगाउन थालेका छन् । यसले परम्परागतरूपमा हुने सुनको लगानी अब घट्दो क्रममा रहेको हुन सक्ने व्यवसायीको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?