+
+

रक्षात्मक रवि

लिलु डुम्रे लिलु डुम्रे
२०८० माघ ८ गते २२:३५

९ माघ, काठमाडौं । जीबी राई समूहले गरेको सहकारी ठगीमा निरन्तर आफ्नो नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिएका छन् ।

पत्रकार सम्मेलनमा १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न चेक क्रेडिट गरिएको उनले स्वीकार गरेका छन् । तर चेक क्लिरियङमा पठाउँदा रकम अपर्याप्त भएकाले आफ्नो खातामा त्यो रकम नै नआएको उनले दाबी गरेका छन् ।

सोमबार कान्तिपुर दैनिकले जीबी राई समूहले चलाएको सहकारीको एक करोड ८० लाख रुपैयाँ रविको बैंक खातामा जम्मा भएको समाचार प्रकाशित गरेको थियो । रकम जम्मा गर्दा सहकारीका कर्मचारीले भरेको भौचर, अनि उनको निजी बैंक खातामा रकम जम्मा भएको देखिने बैंक स्टेटमेन्ट समेत बाहिर आएको छ । त्यसैले रविले यो विषयमा विगतमा जस्तो थाहा छैन भनेनन् ।

रक्षात्मक रुपमा प्रस्तुत भएका रविले रकम जम्मा गर्न चेक बैंकमा जम्मा गरिएको, तर आफ्नो खातामा भने त्यो पैसा नआएको मात्र दाबी गरेका छन् । त्यसका लागि उनले ग्लोबल आईएमई बैंकले भौचरमा उल्लेख भएको मितिमा खातामा रकम जम्मा नभएको भनी लेखेर दिएको पत्र पढेर सुनाए ।

रविको उडान

७ भदौ २०७९ मा दल घोषणा गर्नुपूर्व रवि लामिछाने ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक थिए । देशका प्रमुख सहरहरुमा सहकारी खोलेका जीबी राईले ११ फागुन २०७७ मा टेलिभिजन खोलेका थिए । टीभी छाडेर राजनीतिमा आएका रविको दल रास्वपाले मंसिर २०७९ को चुनावमा प्रत्यक्षतर्फ ८ सिट जित जित्यो भने समानुपातिकतर्फ माओवादी केन्द्रकै हाराहारी मत पायो ।

११ पुसमा प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका रवि माघ १३ मै पदमुक्त भए । अमेरिकाको नागरिकता त्यागेपछि उनीमाथि नेपालको नागरिकता नलिएको र दुबै देशको पासपोर्ट बोकेको आरोप लाग्यो । त्यही मुद्दामा सर्वोच्च अदालतले १३ माघमा उनको सांसद पद खारेज गरेको थियो ।

लगत्तै नेपाली नागरिकता लिएका उनले फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा सरकारमा जान चाहेका थिए । गृहमन्त्री नपाउने भएपछि उनले आफ्नो दलका अरु मन्त्रीलाई पनि सरकारबाट फिर्ता बोलाए ।

सरकार छाडेको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनी सञ्चारमाध्यममाथि खनिएका थिए । आफ्नाविरुद्ध लागेको भन्दै उनले ‘१२ भाइ’ मात्र भनेनन्, सञ्चारकर्मी तथा उद्यामीहरुको नाम किटेर आरोपित गरे ।

त्यसयता उनले निरन्तर सञ्चारमाध्यममाथि असन्तुष्टि पोखिरहे, आरोपित गरिरहे । १० वैशाखमा भएको उपचुनावमा चितवन २ मा भारी मतका साथ आफू र तनुहँ १ मा स्वर्णिम वाग्ले विजयी भएपछि रविको उडानले अझ गति लियो । आफूमाथि प्रश्न उठाएर समाचार आए प्रतिवादमा उत्रिने चेतावनी गरे ।

पोखराको त्यो घटना

पछिल्लो समय सहकारीहरुको समस्या चर्को रुपमा आएको छ । शहरी क्षेत्रका धेरै सहकारी सञ्चालकले वचत रकम आफूखुसी चलाएका कारण सर्वसाधारणले बचतकर्ता फिर्ता पाउन सकेका छैनन् । जीबी राई र उनको समूहले सञ्चालन गरेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा चितवन बचत तथा ऋण सहकारीले सयौं सर्वधारणको बचत अपचलन गरेको पाइएको छ ।

सहकारी पीडितहरुको मुद्दा चर्किरहेका बेला ७ पुसमा पोखरामा भाषण गरिरहेका रविमाथि खोयो प्रहार भएको थियो । कतिपयले यसलाई सूर्यदर्शन सहकारीको समस्यासँग जोडे । किनकी पोखरा महानगरपालिकाले गरेको अध्ययन प्रतिवेदनमा ‘रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरी खाता नं. ४९–००७७० मार्फत पेश्की फर्स्योट गरिएको’ उल्लेख थियो ।

यद्यपि खोयो हान्ने व्यक्ति सहकारी पीडित थिएनन् । रविले पनि आफूले रकम नलिएको बताए । तर जीबी राईले सञ्चालन गरेको सहकारीले गरेको अपचलनमा उनको नाम बारम्बार आयो । सरकारी तथ्यांकअनुसार देशभर ३१ हजार भन्दा बढी सहकारी छन्, जसमा ७३ लाख भन्दा बढी बचतकर्ता छन् । पछिल्लो समय ५०० भन्दा बढी सहकारी समस्यामा छन् । सहकारी ठगीमा जीबी राईसँगै नाम जोडिएपछि रवि रक्षात्मक बनेका छन् ।

पछिल्लो पटक बुटवलको सुप्रिम सहकारीका कर्मचारीले सहकारीको रकम रविको निजी बैंक खातामा जम्मा गरेको सार्वजनिक भएपछि रविले सोमबार पत्रकार सम्मेलन गरे । पार्टी कार्यालय, चमतीमा आयोजित पत्रकार सम्मेलनमा रवि आफ्नो दलका उपाध्यक्ष स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री सुमना श्रेष्ठ, पूर्वबैंकर समेत रहेका प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहसहित उपस्थित भए ।

कुनै दल प्रश्नभन्दा बाहिर नरहेको भन्दै सम्बोधन सुरु गरेका उनले आफूमाथि प्रश्न उठाउने सञ्चार माध्यमलाई धन्यवाद दिए ।

त्यसपछि ग्यालेक्सी टीभी छाड्दा १५ प्रतिशत शेयर बराबरको १ करोड ८० लाख रुपैयाँ सहकारीको बचतबाट आफ्नो खातामा जम्मा भएको विषयमा प्रवेश गरे ।

आफू १५ प्रतिशत गुडविल शेयर पाउने गरी ग्यालेक्सीमा जोडिएको, तर गुडविल शेयरलाई कन्भर्ट गर्ने कानुनी व्यवस्था नभएकाले रकम लेनदेन नभएको दाबी गरे ।

१ करोड ८० लाख रुपैयाँ आफ्नो निजी बैंक खातामा जम्मा गरिदिन सुप्रिम सहकारीका कर्मचारीले चेक दिएपछि बैंकले भौचर दिएको, तर त्यो खातामा पैसा नभएका कारण आफ्नो एकाउन्टमा पैसा नआएको उनले दाबी गरे । त्यसलाई पुष्टि गर्न उनले ग्लोबल आईएमई बैंकले दिएको जवाफी पत्र सार्वजनिक गरे ।

रकम जम्मा नभएपछि आफूले थाहा नपाएको भन्दै उनले माइक दायाँतिर रहेका नेता अनिल शाहलाई दिए । पूर्व बैंकर शाहले भने, ‘एक करोड ८० लाखको चेक डिपोजिट भएको होइन भन्दैनौं हामी । सभापतिजीले भन्नुभएको छ, डिपोजिट भएको हो । तर सभापतिले पैसा चाहिँ पाउनु भएन ।’ जुन खाताबाट चेक काटिएको थियो, त्यसमा पैसा नपुगेकाले डिपोजिट नभएको उनले बताए ।

त्यसपछि रविले १ करोड ८० लाख आफ्नो खातामा आएको भए लैजान आग्रह गरे । ‘कुनै पनि निकायले मेरो खाता हेरोस्, यो पैसा मेरो खातामा आएको रहेछ भने जुनसुकै सजाय भोग्न तयार छु’ भनेका उनले सहकारीको १ करोड ८० लाख उनको खातामा कुन प्रयोजनका लागि जम्मा गर्न खोजियो भनेर प्रष्ट जवाफ दिएनन् ।

गुडविल शेयरवापत पैसा नलिएको बताएका उनले आफ्नो नाममा रहेको शेयर कसरी हस्तान्तरण गरियो भन्ने खुलाएका छैनन् । उनले दाबी गरेजस्तो रकम लेनदेन नगरी शेयर टेलिभिजन सञ्चालकलाई नै फिर्ता गरेको पाइएमा कानुनी प्रश्न उठ्नेछ । त्यसैले यस विषयमा गोलमटोल कुरा गरिरहेका छन् ।

बरु पोहोर २२ माघको पत्रकार सम्मेलनमा सञ्चारकर्मीबारे जे जस्तो टिप्पणी गरे, त्यसमा गल्ती भएको स्वीकार गर्दै माफी मागे ।

अनि भोलिका दिनमा त्यस्तो गल्ती नगर्ने समेत बताए । आफूले काम गरेर आएको आमसञ्चार क्षेत्रले अपनत्व महसुस गरोस् भन्ने आग्रह गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको मान्छे त देशको उपप्रधानमन्त्रीसम्म भयो भनेर पत्रकार साथीहरुले अलिकति गर्व गर्नसक्ने मान्छे बन्ने लडाईमा छु । तपाईहरुसँगको लडाईँमा छैन ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?