९ माघ, काठमाडौं । नेपालमा हुने सवारी दुर्घटनामध्ये ८८.३५ प्रतिशत मानवीय कारण हुने गरेको पाइएको छ ।
तत्कालीन भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ११ माघ २०७९ मा गठन गरेको यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले सोमबार आफ्नो प्रतिवेदन यातायात व्यवस्था विभागमा बुझाएको छ ।
पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको उक्त कार्यदलको प्रतिवेदनअनुसार नेपालमा ८८.३५ प्रतिशत दुर्घटना मानवीय कारण हुने गरेका छन् ।
यसबाहेक सवारीसाधन, यात्रु, सडक अवस्था र मौसम अवस्थाले समेत दुर्घटना हुने कार्यदलको प्रतिवेदनमा औंल्याइएको छ । यसबीच नेपालमा सवारी दुर्घटनाको पछिल्लो पाँच वर्षको तथ्यांक नियालेर अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
मानवीय कारणमा चालकको ज्ञान, सीप र क्षमता, मानसिक अवस्था र पैदल यात्रुको अवस्थाले समेत दुर्घटना निम्त्याउने गरेको देखिएको छ ।
यान्त्रिक कारणमा सवारीसाधनको अवस्था, भारवहन क्षमता र सवारी गतिलाई मुख्य कारण मानिएको छ । सडक अवस्थामा भौतिक अवस्था, सडक संकेत तथा बार, सडकको अन्य प्रयोग, चौपायाका कारणसमेत दुर्घटना हुने गरेको कार्यदलको निष्कर्ष छ ।
मौसममा प्रकाश, वर्षा, कुहिरोजस्ता कारणसमेत दुर्घटना हुने कार्यदलको प्रतिवेदनमा छ । दुर्घटना न्यूनीकरणमा ट्राफिक अनुशासन कमी, नियमन अभाव आवश्यक हुने भन्दै यसमा कमी देखिएको प्रतिवेदनको निष्कर्ष छ । कार्यदलले विभागमा बुझाएको यो प्रतिवेदन मन्त्रालयमा बुझाइने छ ।
लापरवाह चालक/कमजोर नियमन
प्रतिवेदनअनुसार सवारी दुर्घटनामा चालकको अवस्थाले ठूलो भूमिका खेल्छ । चालकको शारीरिक र मानसिक अवस्था, ट्राफिक नियम पालना गर्ने प्रवृत्ति र सवारी चालकको दक्षता र सीपले दुर्घटना बढाउन वा न्यूनीकरणमा भूमिका खेल्ने गर्छ ।
थकित, कमजोर वा शारीरिक कमी/कमजोरी, मानसिक थकान, छिट्टै आवेशमा आउने प्रवृत्ति, मादक पदार्थ सेवन वा लागु औषध प्रयोगले समेत दुर्घटना निम्त्याइरहेको प्रतिवेदनमा छ ।
अर्कातर्फ, नियमन गराउने जिम्मेवार निकाय ट्राफिक प्रहरीको भूमिका र सक्रियतामा समेत कार्यदलले प्रश्न उठाएको छ । ‘सोहीकारण चालकको सडक अनुशासन सवारी दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित हुन्छ,’ प्रतिवेदनमा छ ।
सवारीसाधनको यान्त्रिक जाँच घरेलु तरिकाले
नेपालमा सवारीसाधनको यान्त्रिक जाँच घरेलु तरिकाले गर्दा सवारीसाधनको स्वास्थ्य सटिक नहुने कार्यदलको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
सार्वजनिक सवारीसाधनको बडी बनाउने काम छुट्टै र घरेलुरूपमा हुने र यसले सवारीसाधनको फ्रेमअनुसार प्राविधिक जाँच गरी सन्तुलन मिलाएर बडी निर्माण नहुँदा सवारी दुर्घटना बढ्न सक्ने प्रतिवेदनमा छ ।
सवारीसाधनको ब्रेक, हर्न, इन्जिन, बत्ती चुस्त राख्न नसक्दा सवारीसाधन चालकको नियन्त्रणमा नहुने र यसले दुर्घटना निम्त्याउने प्रतिवेदनले जनाएको छ ।
सडक निर्माण बेथितिले निम्त्याइरहेको छ दुर्घटना
सडक अवस्था र सडक निर्माणमा प्रयोग भएका प्रविधिले समेत दुर्घटना बढाउन र घटाउन भूमिका खेल्ने प्रतिवेदनको निष्कर्ष छ ।
सडकमा मोडहरूको अवस्था, चौडाइ, नियमित मर्मत नहुने प्रवृत्ति, तिखो चढाइ र भिरालो अवस्था, बढी दुर्घटनाग्रस्त क्षेत्रमा न्यूनीकरणका उपाय अवलम्बन नगर्दासमेत दुर्घटना दोहोरिएको पाइएको छ ।
पैदल यात्रु र सडक प्रयोगकर्ताका कारण बढ्दो जोखिम
पैदल यात्रुमैत्री संरचना नबन्नु र पैदल यात्रुले समेत ट्राफिक नियम परिपालनामा लापरबाही गर्दा दुर्घटना निम्तिने गर्छ । अर्कातर्फ, सडकलाई व्यक्तिगत र सामाजिक गतिविधिमा प्रयोग गर्दासमेत दुर्घटना बढेको प्रतिवेदनमा उल्लेख छ ।
सडकमा चौपाया छाड्ने, टाँगा, घोडादेखि रिक्सा, साइकल, ठेलागाडासमेत तीव्र गतिमा कुद्ने सवारीसाधनसँगै चलाउँदा त्यसले सडक अनुशासन जटिल बनाइरहेको कार्यदलको निष्कर्ष छ ।
कस्तो हुन्छ मौसमको भूमिका ?
सानो इलाकाभित्र भौगोलिक विषमता नेपालको विशेषता हो । यही विशेषता सडक प्रयोगकर्ताका दृष्टिकोणबाट भने चूनौतीपूर्ण देखिएको छ । कुहिरो, बादल, पानी, बाढी–पहिरोजस्ता प्राकृतिक कारणसमेत सडकमा दुर्घटना निम्त्याएको पाइएको छ ।
खासगरी पहाडी भेगको कच्ची सडकमा पानी, बाढी, पहिरोले सवारीसाधनको गति र सन्तुलनलाई असर गर्दा दुर्घटना निम्तिने गरेको छ ।
कमजोर नियमले दुर्घटना गराउने प्रोत्साहित भए ?
चालकको क्षमता, सवारीसाधन अवस्था र ट्राफिक नियम परिपालना नहुँदा दुर्घटना बढिरहेको निष्कर्ष अध्ययनको छ ।
सवारी चालक इजाजत प्रणालीमा देखिएको अनियमितता र स्तरीयता अभावले सक्षम तथा दक्ष चालक उत्पादन हुन नसक्नु र दुर्घटनाका लागि सवारी चालकलाई जिम्मेवार बनाउन नसक्दा दुर्घटना दोहोरिरहने प्रवृत्ति देखिएको छ ।
जति ट्राफिक नियम उल्लंघन गरेर दुर्घटना गराए पनि सवारी चलाउन पाइने अधिकार नखोसिने व्यवस्थाले चालकलाई उत्तरदायी गराउन नसकिएको प्रतिवेदनमा छ ।
अर्कातर्फ, पाँच वर्षमा गरिने सवारी चालक अनुमतिपत्र नवीकरणको स्वास्थ्य परीक्षण औपचारिकतामा मात्र सीमित हुँदा त्यसले मनोवैज्ञानिक अवस्था र लागु औषध प्रयोग–गर्ने नगर्ने अध्ययन हुन सकेको छैन ।
ठूला सवारीसाधन इजाजत लिन सवारीसाधनमा सहायकका रूपमा काम गर्ने अवस्थाले रोजगारीका ठूला अवसर हुँदा पनि शिक्षित जमात सवारी चालकका रूपमा आकर्षित हुन नसक्नुलाई समेत चुनौतीका रूपमा लिइएको छ ।
बाटो इजाजत दिने प्रणाली, सडक पूर्वाधार बनाउँदा बस्ती निषेध नगर्ने परिपाटीसमेत दुर्घटना न्यूनीकरणको चुनौती मानिएको छ । स्थानीयस्तरमा बिनाइन्जिनियरिङ ज्ञान डोजरका भरमा बाटो बनाउने र सवारीसाधन चलाउने प्रवृत्तिले समेत दुर्घटनाको जोखिम निम्तिएको पाइएको छ ।
लोकमार्गहरूमा सडक पूर्वाधार हिस्साका रूपमा विश्रामस्थल नबनाइनु, इन्धन डिपो र व्यवस्थित रेस्टुरेन्ट अभावमा सवारीसाधन जथाभावी रोक्ने र यसले समेत दुर्घटना निम्तिने गरेको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया 4