+
+
वीपी प्रतिष्ठान विवाद :

बैठक छाडेर हिँडे कामु उपकुलपति, ‘धर्ना’मा रजिस्टार

हरि अधिकारी हरि अधिकारी
२०८० माघ ९ गते २१:०८

९ माघ, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की मंगलबार कार्यकारिणी समितिको बैठक छाडेर हिँडेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आन्दोलनरत शिक्षक र कर्मचारीको माग सम्बोधनका लागि कार्यकारिणी समितिको बैठक सोमबार बसेको थियो । तर सहमति जुटेन । मंगलबार विहान ९ बजे अर्को बैठक बोलाइएको थियो ।

केही समय ढिलो गरी सुरु भएको बैठक चलिरहेको बेला उपकुलपति प्रा. डा. कार्की बाहिरिएपछि निर्णय नभएको रजिष्ट्रार डा. सूर्य संग्रौलाले जानकारी दिए । ‘उपकुलपति बैठक छाडेर जानुभयो, म बैठक कक्षमा कुरेर बसिरहेको छु’ संग्रौलाले भने, ‘म आजै यो विषय टुङ्गो लगाएर भोलिबाट अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छु, उहाँलाई बैठकमा बोलाउने प्रयास भइरहेको छ ।’

रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता सञ्चालन गर्नुपर्ने मागसहित प्रतिष्ठानका कर्मचारी र चिकित्सक एक सातादेखि काम छाडेर आन्दोलनमा छन् ।

माग सम्बोधनका लागि लोकसेवाको परामर्श अनुसार समितिले निर्णय गरेर अन्तर्वार्ता सञ्चालन गर्नुपर्ने छ । तर कामु उपकुलपति कार्की बढुवाका लागि खुलेको विज्ञापनको निर्णय सिनेट बैठकमा पेश गर्नुपर्ने अडानमा छन् ।

जबकी २० कात्तिकमा आन्दोलनरत पक्षसँग भएको सहमतिमा कार्यकारिणी समितिबाटै निर्णय गर्ने सहमति भएको थियो । तर सोमबार बेलुका र मंगलबार दिनभर चलेको बैठकमा उनले तत्काल अन्तर्वार्ताको मिति नतोक्ने र अन्तर्वार्ताका लागि खुलेको विज्ञापनका विषयमा सिनेट बैठकबाट निर्णय गर्नुपर्ने अडान राखे ।

रजिष्ट्रारसहित कार्यकारिणी समितिका सदस्यहरुले अन्तर्वार्ताको मिति तोकेर अस्पताल खुलाउनुपर्ने पक्षमा उभिए । रजिष्ट्रार संग्रौलाले समस्या सामधान गरेर मात्रै बैठक कोठाबाट बाहिरिने अडानमा छन् ।
‘म कहीँ पनि जान्न, बैठक कोठामै बस्छु, निर्णय प्रक्रिया नसकी मैले हिँड्न हुँदैन’ उनले अनलाइनखबरसँग भने, ‘राष्ट्रको ध्यानाकर्षण भएको छ, प्रधानमन्त्रीको पनि निर्देशन छ । कार्यकारिणी समितिले निकास निकाल्ने हो, त्यसैले बैठक छाडेर जान्नँ ।’

रजिष्ट्रार संग्रौलाले शिक्षक कर्मचारी र सिनेट सदस्यलाई पनि बोलाएर छलफल गरेका छन् ।

करिब एक दशकदेखि प्रतिष्ठानमा रोकिएको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै शिक्षक तथा कर्मचारीले गत असोजमा आन्दोलन गरेका थिए । २० कात्तिकमा आन्दोलनरत शिक्षक, कर्मचारीहरु र व्यवस्थापन पक्षको छुट्टाछुट्टै ४ बुँदे सहमति भयो ।

सहमतिमा आवश्यक विधि र प्रक्रिया पुरा गरेर बढुवाका लागि पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सञ्चालन गर्ने पनि उल्लेख छ । उपकुलपति प्रा. डा. कार्कीले प्रक्रिया सुरु गर्न मानेनन् । सहमति उल्लङ्घन भएपछि शिक्षक तथा कर्मचारी काम छाडेर २९ पुसदेखि आन्दोलनमा छन् ।

दुई सदस्यलाई बोलाइएनन्

सोमबार र मंगलबार बसेको कार्यकारिणी समितिको बैठकमा कार्यकारिणी सदस्य प्रा. डा. ज्ञानेन्द्रबहादुर मल्ल र प्रा. डा. स्मृति कार्कीलाई भने बोलाइएको छैन ।

दुई वर्षका लागि नियुक्त भएका दुबैको ७ महिना पदावधि बाँकी छ, तर कार्यकारिणी समिति बैठकमा नबोलाएपछि सहकुलपति स्वास्थ्यमन्त्रीसमक्ष निवेदन दिएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?